प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिँदै नेपाल प्रहरी

२०८१-०१-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, ओमनमा हाल संचालन भइरहेको ACC Men’s Premier Cup प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सहभागी नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूमध्ये कतार विरुद्धको खेलमा प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह ऐरीले अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गर्दै एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालको पहिलो क्रिकेटर बन्न सफल भए । T20I मा समेत दिपेन्द्र सिंह एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो एवं समग्रमा अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौ खेलाडी बनी कीर्तिमान कायम गर्न सफल भए । यसैगरी उनी ICC को अलराउण्डर वरीयताक्रममा Men’s ICC T20I तर्फ विश्वको ११ औं स्थान र एसोसियट राष्ट्रको नम्बर १ अलराउण्डर बन्न समेत सफल भए ।  

यस्तै १४औं जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता,२०८० को उपाधि नेपाल पुलिस क्लबले जित्यो । उक्त प्रतियोगिताको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै उक्त उपाधि जित्न सफल भएको हो । 

उल्लेखित जित र उपाधि हासिल प्रतिनिधि सफलता मात्र हुन् । यसरी फुटबल, क्रिकेट मात्र होइन भलिबल, महिला तथा पुरूष कबड्डी, पुरूष हक्की, एथ्लेटिक्स, भारोत्तोलन, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन, टेबल टेनिस, कुस्ती लगायतका खेलहरूमा पनि नेपाल प्रहरीका खेलाडीहरूले उल्लेख्य सफलता हात पारेका छन् । 

समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने, अपराधको रोकथाम तथा अनुसन्धान गर्ने मुख्य जिम्मेवारी बहनका अतिरिक्त नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई विशेष महत्वका साथ आत्मसाथ गर्दै आएको छ । विसं २००८ सालमा नेपाल प्रहरी फुटबल टिमको गठन भएसँगै नेपाल प्रहरीमा विधिवत रूपमा खेलकुद क्षेत्रले प्रवेश पाएको हो । विसं २०२३ सालमा श्री ५ महेन्द्र पुलिस क्लबको स्थापना भए पश्चात खेलकुद गतिविधिले थप सक्रियता प्राप्त गरेको थियो । नेपाल प्रहरी संगठनभित्र खेलकुद गतिविधिलाई गतिशिलता प्रदान गर्ने उद्देश्यले विसं २०२५ सालदेखि आईजिपी शिल्ड फुटबल प्रतियोगिताको प्रारम्भ गरिएको थियो । विसं २०३७ सालमा नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको स्थापना भए पछि नेपाल प्रहरीले फुटबल खेल लगायत अन्य खेलहरूलाई समेत क्रमिक रूपमा विकास र व्यवस्थित गर्दै लगेको छ । समितिमा प्रहरी महानिरीक्षक अध्यक्ष रहने प्रावधान रहेको छ ।

नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको सुदृढिकरण एवम् खेलकुदलाई थप विकास गर्दै लैजाने सम्बन्धमा नेपाल प्रहरी खेलकुद समितिले आवश्यक नीति निर्माणको साथै विशेष पहल गर्दै आएको छ । समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी भन्नुहुन्छ, “खेलकुदमा नेपाल प्रहरीको क्षमता थप सुदृढ बनाउने उद्देश्यले प्रतिष्ठानले काम गरिरहेको छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाल प्रहरीका खेलाडीहरूले उल्लेख्य उपलब्धी हासिल गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा समेत नेपाल प्रहरीका खेलाडीहरूले दुर्लभ कीर्तिमान् कायम गर्न सफल भएका छन् । जसबाट राष्ट्रिय खेलकुदमा समेत टेवा पुग्ने र नेपाल प्रहरीको साख तथा प्रहरी कर्मचारीमा मनोबल वृद्धि हुने अपेक्षा गरिएको छ ।”

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म नेपाल पुलिस क्लबले फुटबलतर्फ २ उपाधि, भलिबलतर्फ ४ उपाधि, क्रिकेटतर्फ २ उपाधि, हक्कीतर्फ १ उपाधि र महिला कबड्डीतर्फ १ उपाधि प्राप्त गरेको छ । सो अवधिमा विभिन्न समयमा विभिन्न स्थानमा भएका प्रतियोगितामध्ये नेपाल प्रहरीका खेलाडीहरूले एथ्लेटिक्सतर्फ ४ स्वर्ण, भारोत्तोलन पुरूषतर्फ २१ स्वर्ण, महिलातर्फ २४ स्वर्ण, बक्सिङतर्फ ५ स्वर्ण, करातेतर्फ २१ स्वर्ण, तेक्वान्दोतर्फ ३३ स्वर्ण, कुस्तीतर्फ २१ स्वर्ण, टेबल टेनिसतर्फ १ स्वर्ण पदक प्राप्त गरेका छन् । यसैगरी उक्त अवधिमा नेपाल पुलिस क्लबले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगतामध्ये ६ वटामा द्वितीय स्थान र ७ वटामा तृतीय स्थान हासिल गरेको छ । यसैगरी ती प्रतियोगितामा ४७ वटा रजत पदक र ५७ वटा कास्य पदक समेत प्राप्त गर्न सफल भएको छ । 

 

नेपाल प्रहरीका बाबुराम पुनले सन् १९७३ मा इरानको तेहरानमा ‘थर्ड फिफा कोचिङ स्कुल’ बाट कोचिङ लाईसेन्स प्राप्त गरेका थिए । स्व. रूपकराज शर्मा फिफाको रेफ्रि हुनुहुन्थ्यो । तत्कालिन अवस्थामा खेलकुदको शुरूवात भएपछि प्रहरी र नागरिकको सम्बन्ध सुमधुर भएको देखिन्छ । जसको कारण प्रहरी नागरिक सम्मिलित गराई राष्ट्रिय टिम खडा गरिएको थियो । त्यसैको विकास गर्दै  हाल नेपाल पुलिस क्लब खेलकुदमा क्रियाशील छ । 

नेपाल प्रहरीले नेपाल प्रहरी कार्ययोजना,२०८० मा दिगो खेलकुद विकासको लागि विशेष खेलहरूलाई निर्धारित लक्ष्यसहितको कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने उद्देश्य लिएको छ । नेपाल प्रहरी खेलकुद समितिका सहसचिव एवम् नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “खेलकुदको माध्यमबाट प्रहरी र जनताबिच सम्बन्ध सुमधुर बन्ने गरेको छ । नेपाल प्रहरीका खेलाडीहरूले विभिन्न प्रतोयोगितामा उल्लेख्य सफलता हासिल गरेका छन् । यसबाट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको विशिष्ट योगदानको साथै समाजमा सकारात्मक परिणाम देखिने गरेको छ । नेपाल प्रहरीले नेपाल पुलिस क्लबको खेलकुद क्रियाकलापलाई स्तरोन्नति गर्ने विशेष योजना बनाई कार्यान्वयन गर्ने नीति लिएको छ ।”

विभिन्न प्रतियोगितामध्ये केही प्रतियोगिताहरूमा नेपाल प्रहरीका खेलाडीहरूले सर्वोत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट सेटर, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट सर्भर, बेष्ट बल्कर, उत्कृष्ट लिब्रो, उत्कृष्ट डिफेन्डर, बेष्ट स्पाईकरको साथै म्यान अफ दि म्याच घोषित भएका छन् । यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान् राख्न सफल भएका छन् ।  नेपाल प्रहरीका खेलाडीहरूले व्यवस्थापक, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक लगायतका भूमिका समेत निर्वाह गर्दै आएका छन् । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “ नेपाल प्रहरीका खेलाडीहरूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट र अब्बल बनाउन समयसापेक्ष प्रशिक्षण प्रदान, खेलकुद वातावरण निर्माण र मनोबल उच्च राख्न प्रहरी संगठन क्रियाशील छ ।”  


सम्बन्धित समाचार
इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान
२०८२-०८-०६

काठमाडौं, इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ । 

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले
२०८२-०७-१८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८२-०७-०३

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।  यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०५ जनाको मृत्यु
२०८१-०६-१४

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८१-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूमा तालिमले क्षमता तथा दक्षता अभिवृद्धि गरेको चर्चा गर्दै प्राप्त ज्ञान, सीपको उपयोग गरी आ-आफ्नो कार्यक्षेत्रमा संगठनको नीति बमोजिम श्रव्यदृश्य सामग्री निर्माणमा व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामाग्रीले दुर्घटना लगायत अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न देखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा सहयोगी हुने उल्लेख गर्दै प्रशिक्षणको क्रममा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षककोतर्फबाट प्रशिक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत छैटौं समूहद्वारा तयार पारिएको जन्मभूमी सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
२०८१-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो १५:०० बजे सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ४३ जना, कोशी प्रदेशमा १६ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ८६ जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १८ जना, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ६८ जना गरी जम्मा १०१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३ सय ८४  जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी ५५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।