प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै साइबर ब्यूरो

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, अश्‍लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी पक्राउ परे । वित्तिय संस्थाको अनधिकृत रूपमा पहुँच पुर्‍याउन प्रयास गरेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछाने पनि पक्राउ   परे । यसैगरी शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाईन ठगी गर्ने बाँकेका २२ वर्षीय तिरूपती पाण्डे, २० वर्षीय दोमन केसी र बागलुङका २० वर्षीय सुवास कंडेललाई पनि साइबर ब्यूरोले पक्राउ गर्‍यो । 

कमल प्रसाद, नवराज लगायत यी अभियुक्तहरूले बन्द कोठाभित्र बसेर गरेको अनाधिकृत कामबारे कसैले थाहा पाउलान् भन्ने सोचेकै थिएनन् । उनीहरू त्यति बेला झसङ्ग भए जति बेला साइबर ब्यूरोले अनुसन्धानको लागि बोलायो । पक्राउ परेपछि थाहा भयो, जतिसुकै लुकेर अपराध गरे पनि प्रहरीले नछोड्ने रहेछ । 

उनीहरू त प्रतिनिधि पात्र मात्रै हुन् । यसरी लुकिछिपि प्रविधिको प्रयोग गरेर अपराध गर्ने धेरै जसो अभियुक्तलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । देशभर प्राप्त निवेदन तथा उजुरी उपर प्रविधिको प्रयोग गर्दै सुक्ष्म तरिकाले अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने गरिएको छ । चालु आर्थक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा साइबर अपराध सम्बन्धि १५ हजार ६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ७३ जना साइबर ब्यूरोबाट पक्राउ गरिएको छ ।

आधुनिक प्रविधिले दैनिक जीवनमा सहजता ल्याए पनि यसको दुरूपयोगले चुनौति थपेको छ । यस्ता चुनौतिको सामना गर्न र प्रविधिको प्रयोग गरी हुने अपराध अनुसन्धान तथा रोकथामको लागि नेपाल प्रहरी सक्रिय छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न साइबर ब्यूरोको स्थापना गरिएको हो । नयाँ प्रविधि र पूर्वाधारउपर हुने साइबर अपराधको समेत अनुसन्धान हुने गरी ब्यूरोलाई थप प्रभावकारी बनाउँदै लैजाने नेपाल प्रहरीको अभिप्राय छ ।” 

सो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक/म्यासेन्जरको दुरूपयोगका १२ हजार २९६ वटा, भाइबरका १८ वटा, इमोका ९ वटा, युट्यूवका ५१ वटा, ह्याट्सएपका ७ सय २४ वटा, ट्वीटरका १० वटा, इन्स्ट्राग्रामका ६ सय ८६ वटा, वेभसाइट ह्‍याकिङका १० वटा, टिकटकका ६ सय ७८ वटा, इमेलका ९३ वटा, इसेवाका २ सय ६६ वटा र वित्तिय संस्थातर्फ १ सय ६५ वटा रहेका छन् । आर्थिक वर्ष २०७९/०८० मा ९ हजार १३ वटा  र आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६८६ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए । प्राप्त निवेदनमध्ये चालु आर्थिक वर्षमा ७४ वटा, आर्थिक वर्ष २०७९/०८० मा १ सय २७ र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ३२ वटा मुद्दा दर्ता भएका थिए । 

प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृतिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई घट्न सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयले साइबर ब्यूरो स्थापना भएको हो । 

कानूनद्वारा निर्दिष्ट राष्ट्रिय तथा वर्हिक्षेत्रीय अधिकार भएका साइबर कसूरको अनुसन्धान लगायतका काम साइबर ब्यूरोले गर्दछ । साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थी भन्नुहुन्छ, “साइबर अपराध सम्बन्धि निवेदन दर्ताको चाप बढ्दो छ । यस अवस्थामा अभियुक्तलाई कानूनी दायरामा ल्याउन अनुसन्धानलाई प्रभावकारी बनाउने, अनुसन्धान छिटो टुङ्ग्याएर मुद्दा दर्ता गर्ने हाम्रो अविरल प्रयास छ । कानूनी कारवाही आफ्नो ठाउँमा छ भने अनजानमा हुने र लापरवाहीको कारण हुन जाने अपराधबारे जनचेतना जगाउन बेला बखत छुट्टाछुट्टै र आवश्यक विषयमा विज्ञप्ति मार्फत अनुरोध गर्दै आएका छौं ।”   

विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने जस्ता अपराध हुने गरेको पाइन्छ । अश्‍लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने अपराधीहरू पनि सक्रिय छन् । अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख हैरानी दिने घटना पनि देखा परेका छन् । सरकारी तथा अन्य संघ संस्थाहरूको वेवसाइट ह्‍याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृति पनि हाल साइबर अपराधमा देखिएको पाइएको छ ।

यस्ता प्रवृति देशको आर्थिक, सामाजिक र नैतिक हिसाबले हानिकारक छन् । यस्ता अपराधलाई निरूत्साहित गर्न र भईहालेमा अपराधीलाई कानूनको दायरामा ल्याउन आवश्यक छ । हाल साइबर सम्बन्धि अपराध अनुसन्धानको लागि जिल्ला अदालतलाई समेत अधिकार प्रत्यायोजन भएपछि साइबर अपराधका मुद्दा हेर्न सजिलो भएको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा साइबर अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही हुने गरेको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “यस्ता प्रवृतिलाई निरूत्साहित गर्न नेपाल प्रहरी सक्रिय छ । साइबर अपराधको रोकथाम र सफल अनुसन्धान गर्ने सम्पूर्ण संयन्त्रहरूलाई परिमार्जन गर्न र सुदृढ बनाउन नेपाल प्रहरी कटिबद्ध छ ।”



सम्बन्धित समाचार
लागूऔषध दुर्व्यसन तथा बालविवाह सम्बन्धी सचेतामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-२५

प्युठान, लागूऔषध दुर्व्यसन तथा बाल विबाह न्युनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्युठान नगरपालिका-१ खैरास्थित भुनेश्वरी माविमा शुक्रबार सम्पन्न भएको छ । प्युठान नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वयमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । भुनेश्वरी माविका प्रधानाध्यापक मुक्ति प्रसाद पोख्रेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कायालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले समाजमा घट्ने विभिन्न घटनाहरुको बारेमा सचेत गराउदै लागूऔषध, साईबर क्राईम, बालविवाह, सडक सुरक्षा लगायतको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा प्युठान नगरपालिकाका महिला विकास निरीक्षक मञ्जु धिताल, नगरपालिकाका कर्मचारी, शिक्षक, तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । 

अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०२-१३

प्युठान, जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वय, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य एवम् सरूमारानी गाउँपालिकाको आयोजनामा "लागूऔषध दुर्व्यसन, अपराध, सामाजिक विकृति र विसंगतिका विरुद्ध अभिमूखीकरण कार्यक्रम" शनिबार सम्पन्न भएको छ । लागूऔषध नियन्त्रण कार्ययोजना, २०८१ बमोजिम आयोजित उक्त कार्यक्रम सरूमारानी गाउँपालिका-१ स्थित सरस्वती माध्यामिक विद्यालय र सोही गाउँपालिका-२ स्थित खङ्गेश्‍वरी माध्यामिक विद्यालयमा छुट्टाछुट्टै सम्पन्न भएको हो ।  प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न दुवै कार्यक्रममा नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुन र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले सम्बन्धित विषय विज्ञको रूपमा सचेतनामूलक प्रस्तुतीकरण गर्नुभएको थियो । दुवै कार्यक्रममा सरूमारानी गाउँपालिकाका पदाधिकारीहरू, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, नागरिक समाज, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । 

घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न
२०८१-०२-१०

प्युठान, सरूमारानी गाउँपालिका-६ बुढिचौरस्थित श्रमरानी माध्यामिक विद्यालयमा घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम, २०८१ बुधबार सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय प्युठान तथा सरूमारानी गाउँपालिका ६ नम्बर वडा कार्यालयको प्राविधिक सहयोग एवम् सरूमारानी गाउँपालिकाको आर्थिक सहयोगमा तिनकुने दह टोल विकास संस्था प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनीकरण गर्न अपनाउनु पर्ने उपायहरूबारे उल्लेख गर्दै यसका नकारात्मक पक्ष र कानूनी व्यवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।सो अवसरमा सरूमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले हरेक अपराधको श्रृङ्‍खला सानो कुराबाट शुरू भई बिकाराल रूप लिने हुँदा साना-साना कुरामा ध्यान पुर्‍याउन सकेमा अपराध क्रमश: घटदै जाने बताउनुभयो ।श्रमरानी माध्यामिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरू एवम् अभिभावकहरूको उपस्थिति रहेको थियो । 

प्रारम्भिक बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
२०८१-०२-१०

प्युठान, ऐरावती गाउँपालिका-२ बरौलास्थित सोही गाउँपालिकाको सभाहलमा संचालित ३ दिने प्रारम्भिक बाल विकासका शिक्षकहरूको लागि क्षमता अभिवृद्धि तालिम बुधबार सम्पन्न भएको छ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा नेपाल जेसुईट सामाजिक संस्था ललितपुरको प्राविधिक सहयोगमा ऐरावती गाउँपालिकाले उक्त तालिम संचालन गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले तालिम मार्फत शिक्षकहरूको क्षमता अभिवृद्धिमा थप मद्दत पुगेको चर्चा गर्नुभयो । सो अवसरमा शिक्षा शाखा सहायक तुल बहादुर थापा, शिक्षिका माया आचार्य र प्रशिक्षक कमल श्रेष्ठले तालिम सम्बन्धी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्‍वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठान जिल्ला कार्य समितिका सदस्य बिमल पौडेल, एनजेएसआइका प्रतिनिधि, प्रशिक्षक, शिक्षक/शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०७

प्युठान, मल्लरानी गाउँपालिका-४ खलङ्गास्थित उद्योग वाणिज्य संघको सभाहलमा लागूऔषध दुर्व्यसन र यसले पार्ने नकारात्मक प्रभावका बारेमा सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा उद्योग वाणिज्य संघ प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले लागूऔषधबाट हुने नकारात्मक असरहरूको बारेमा जानकारी दिँदै लागूऔषध दुर्व्यसनीबाट व्यक्तिगत जीवन मात्रै नभई पारिवारिक, आर्थिक तथा सामाजिक जीवनमा समेत ठुलो असर पर्ने बताउनुभयो । कार्यक्रमका प्रशिक्षक वसन्त पुन, सुन्दर गौतम र जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी सहायक निरीक्षक आकाश खड्काले लागूऔषध सम्बन्धी परिचय र यसले पार्ने नकारात्मक प्रभाव तथा कानूनी सजाय सम्बन्धी व्यवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष पशुपतिनारायण नकर्मिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियन्ता, सञ्चारकर्मी, महेन्द्र माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०६

प्युठान,  नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विबाह नियन्त्रण" सम्बन्धी सचेतनामूलक कार्यक्रम प्युठान नगरपालिका-९ मरन्ठाना मजुवास्थित बाल विद्या माविमा शनिबार सम्पन्न भएको   छ । प्युठान नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघकी अध्यक्ष कुँवरले लागूऔषध, लैंगिक हिंसा र बालविवाह जस्ता चुनौतीको सामना गर्न सबै सचेत हुन जरूरी रहेको बताउँदै प्रहरीद्वारा संचालित हुने यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाजमा चेतनाको अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले समाजमा शान्ति शुरक्षा स्थापना गर्न समाज र प्रहरीको हातेमालो हुन जरुरी रहेको बताउँदै अपराध न्यूनीकरण तथा रोकथाम गर्न स्थानीय स्तरबाटै जागरूक हुनुपर्नेमा जोड दिनुभयो । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सबै किसिमका हिंसा र अपराधको बारेमा सबै जागरूक हुनुका साथै कुनै पनि अपराधिक घटना भएको देखेमा सम्बन्धित निकायमा तत्कालै उजुरी दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख देबेन्द्र वर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुशिल पोख्रेल, सोही नगरपालिका-९ का वडाध्यक्ष विकास केसीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीको अध्यक्षतामा सम्पन्न उक्त ‍कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोलिद्वारा सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको थियो ।