प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रभावकारी बन्दै लागूऔषध विरूद्ध लालटिन अभियान

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, जुम्लाका १८ वर्षीय किशोरलाई स्कुल जान पटक्कै मन लाग्ने थिएन । साथीहरूसँग बरालिएर लागूऔषध सेवन गरी घर फर्किँदा उनलाई हिनता बोध हुन थालेको थियो । परिवारका अगाडि निराश देखिन्थे । बोल्न र घुलमिल हुन मन पराउँदैनथे । पढाई पनि बिग्रदै गएको थियो । उनको यो अवस्था देखेर घर परिवार चिन्तित भए । उनीहरूको आग्रहमा किशोर लालटिन समूहको सम्पर्कमा आए । अहिले उनी खुसी छन् । घर र स्कुलमा रमाउन थालेका छन् । पढाई पनि राम्रो हुँदै गईरहेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘कर्णालीमा लागूऔषध विरूद्ध लालटिन अभियान’ अन्तर्गत गठित लालटिन समन्वय डेस्कको सम्पर्कमा आएपछि ती किशोर लागूऔषध दुर्व्यसनबाट मुक्त भएका हुन् । अहिले उनी जस्ता धेरै युवाहरू अभियान अन्तर्गत संचालित कार्यक्रमहरूको प्रभावले दुर्व्यसन मुक्त भएका छन् । सो क्षेत्रमा लागूऔषधको अवैध कारोवार पनि घटेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विशेष अभियान,२०८० अन्तर्गत लालटिन अभियान संचालन गरिरहेको छ । लागू पदार्थ उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवन विरूद्ध प्रहरी परिचालन गरी कानूनी दायरामा ल्याउने लगायतका उद्देश्यले २०८० असोज २५ गतेदेखि अभियान संचालन गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “तत्कालिन अवस्थामा म आफै प्रदेश प्रहरी कार्यालय कर्णालीको प्रमुख थिएँ । लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू जोगाउन र लागूऔषधको अवैध कारोवार नियन्त्रण गर्न अभियान संचालन गरिएको हो । अभियान कर्णालीका १० जिल्लामा एकैपटक शुरू गरिएको थियो । प्रहरीको सक्रियताले सबै जिल्लाका गाउँ गाउँसम्म अभियान पुग्न सफल भएको छ । अहिले १ वर्ष पछि आएर समीक्षा गर्दा लागूऔषध कारोवार र प्रयोग घट्दो अवस्थामा रहेको पाइएको छ । यस अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजानु आवश्यक छ ।” 

अभियान अन्तर्गत विभिन्न लालटिन समूह गठन गरी काम भइरहेको छ । शुरूदेखि हालसम्म ७ महिनाको अवधिमा जम्मा १ हजार २०० वटा लालटिन समूह गठन भएका छन् । तीमध्ये जिल्ला लालटिन समन्वय डेस्क ९ वटा, नगरपालिका स्तरीय लालटिन समूह २२ वटा, गाउँपालिका स्तरीय लालटिन समूह ४३ वटा, वडा स्तरीय लालटिन समूह ५४१ वटा, गाउँ/टोल लालटिन समूह २५६ वटा, कलेज लालटिन समूह १४ वटा र विद्यालय लालटिन समूह ३१५ वटा रहेका छन् । 

लागूऔषध दुर्व्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गरी अभियान संचालन गर्ने गरिएको छ । बढि प्रभाव परेका क्षेत्र र वर्ग लक्षित नियन्त्रणका उपायहरू अवलम्बन गरी सक्रिय रूपमा काम गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्नुहुन्छ, “अभियान अन्तर्गत जिल्लादेखि पालिका, वडा, वस्तीस्तर हुँदै स्कुल कलेजसम्म लालटिन समूह गठन गरी काम गरिएको छ । समुदायसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।” 

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कर्णाली प्रदेशमा १ सय २९ जना लागूऔषध कारोवारी पक्राउ परेका छन् । सो अवधिमा ८२ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा २ सय १५ जना पक्राउ परेका थिए । उक्त आर्थिक वर्षमा ११४ मुद्दा दर्ता भएका थिए । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १ सय ७२ जना मानिस पक्राउ परेका थिए भने ९५ मुद्दा दर्ता भएका थिए । अभियान अन्तर्गत चालु आर्थिक वर्षमा २५ रोपनी जग्गामा लगाएको गाँजा खेती र ६ सय १८ रोपनी जग्गामा लगाएको अफिम खेती फडानी गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ५ सय ३७ रोपनी जग्गामा लगाएको गाँजा खेती र ४ सय ७१ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ५ सय ८ रोपनी जग्गामा लगाएको गाँजा खेती र ५९ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको थियो ।

अभियान अन्तर्गत विभिन्न लक्षित वर्गहरूको लागि निरन्तर रूपमा प्रभावकारी तवरले लागूऔषध विरूद्धको सचेतना अभिवृद्धि कार्यक्रमहरू संचालन गरिएको छ । यसबाट समाजमा विकरल रोगको रूपमा फैलिएको लागूऔषध दुर्व्यसनी रोक्न अभियान सफल भएको छ । शान्ति सुरक्षा र सुरक्षित कर्णाली कार्यक्रम गाउँ गाउँसम्म पुगेको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “आम नागरिकहरूलाई सचेत बनाई सक्रिय सहभागिता गराउने अभियानको लक्ष्यले सार्थकता पाएको छ । लागूऔषध दुर्व्यसन र कारोवारको कारण सुक्ष्म रूपमा अध्ययन गरी त्यसको समाधन गर्न सहज भएको छ । यसबाट लागूऔषध सेवन, कारोवारबाट हुने अपराधलाई निरूत्साहित पार्न सहज भएको छ । यसले समाज र नागरिकहरूमा सुरक्षाको अनुभूति बढाएको महसुस भएको छ । ”


सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।