जनचेतनामूलक साँस्कृतिक अभियान सम्पन्न
२०८१-०१-२५
- A
- A-
- A+
प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा गन्दर्भ समाज नेपाल प्युठानको आयोजनामा ‘लागूऔषध दुर्व्यसन, बाल विवाह तथा वन डढेलोको न्यूनीकरण सम्बन्धी’ जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम, २०८१ ऐरावती गाउँपालिका सराङवेशीस्थित महेन्द्र माध्यामिक विद्यालयमा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका उप-प्रमुख दुर्गा रेग्मीले डढेलो नियन्त्रणका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने चर्चा गर्दै बालबालिका भविष्यका कर्णधारहरू भएकाले लागूऔषध दुर्व्यसनीमा नफसी उज्ज्वल भविष्यको बाटो तय गर्नुपर्ने बताउनुभयो । साथै बालविवाहतर्फ अभिभावकहरू पनि सदैव सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले लागूऔषध दुर्व्यसनमा फस्दा बढ्ने अपराधले समाजमा नकारात्मक असर गर्ने हुनाले अभिभावक, जनप्रतिनिधि सचेत हुनु पर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लागूऔषध दुर्व्यसनको कारण हुने अपराध न्यूनीकरण तथा रोकथाम गर्ने जिम्मेवारी सबै सरोकारवाला निकायहरूको रहेको बताउनुभयो ।
ऐरावती गाउँपालिका-५ का वडाअध्यक्ष चन्द्र बहादुर रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थीहरू र स्थानीय भद्रभलाद्मीको सहभागिता रहेको थियो । कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोली, विद्यार्थी लगायतले लागूऔषध दुर्व्यसन, बालविवाहले व्यक्ति तथा समाजमा पुर्याउने असरको बारेमा सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरी उक्त जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम ऐरावती गाउँपालिका-४ धुवाङ्गस्थित पद्मोदय माध्यामिक विद्यालयमा सोही विद्यालयका प्रधानाध्यापक देवेन्द्र पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्युठानका उप-प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको छ ।