अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०१-२६
- A
- A-
- A+
सर्लाही, चन्द्रनगर गाउँपालिका-२ बबरगंज बस्ने ४८ वर्षीय पवित्र साहलाई अवैध लागूऔषध गाँजा ८ सय ७५ ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित उनको किराना पसलमा गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम २ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईनरूवा नगरपालिका-३ बस्ने ४० वर्षीय आशिष राई र २२ वर्षीय शेवनन्द राजबंशी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ८९४९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-७ अभियान चोकबाट प्रतिबन्धित औषध रामानिल ६ सय ६४ पिस र अनारगन ५ सय ९८ पिससहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका-७ अभियान चोक बस्ने २१ वर्षीय राजेश तामाङ र सोही नगरपालिका-८ थ्री ग्रुप बस्ने २४ वर्षीय संजय परियार रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।