अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०१-२७
- A
- A-
- A+
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-९ बस्ने २६ वर्षीय नरेश बिश्वकर्मा र भोजपुर हतुवागढी गाउँपालिका-९ घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय सामुएल राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६८ प ८६९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय उमेश राना र १९ वर्षीय रूस्तम राना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तु, बाणगंगा नगरपालिका-२ पिपरास्थित हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-३ गंगोलीया बस्ने २३ वर्षीया जानकी चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।