दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०१-२८
- A
- A-
- A+
प्युठान, मल्लरानी गाउँपालिका-२ कुडारास्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिका प्युठानले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लिंग र लैंगिकको भिन्नता, लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, हिंसा भएमा उजुरी गर्ने तरिकाको बारेमा प्रस्तुतीकरण गर्दै हिंसा र अपराधबाट बच्न अपनाउनु पर्ने सचेतना सम्बन्धी विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले प्युठान जिल्लामा रहेका दलितहरूको तथ्याङ्क, जातिय छुवाछुत तथा भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा लागूऔषध र जातिय विभेद सम्बन्धी जनचेतनामुलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।
मल्लरानी गाउँपालिकाका कार्यवाहक वडाअध्यक्ष गणेश बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्मीको सहभागिता रहेको थियो ।