अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०२-०७
- A
- A-
- A+
कैलाली, जानकी गाउँपालिका-६ स्वर्णपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने २७ अमृत थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिभुवनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १७ वर्षीय र १८ वर्षीय २ जना किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, विर्तामोड नगरपालिका-३ स्थित लक्की रेष्टुरेण्ट एण्ड फास्ट फुड होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गणपती बेकरी छेउ बस्ने २६ वर्षीय कुन्दन कुमार शर्मा र भारत दार्जेलिङ घर बताउने २३ वर्षीय रोहित मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-४ डेरा गरी बस्ने तीनपाटन गाउँपालिका-९ घर भएका २६ वर्षीय बिनोद परियार र गोलन्जोर गाउँपालिका-६ बस्ने २२ वर्षीय रबिन मैनाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
सुनसरी, हरिनगर गाउँपालिका-७ स्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो करिब ३२ पिस, गाँजासहितको चिलिम १ थान, स्रोत नखुलेको १ लाख ९ हजार २ सय ६० नेपाली रूपैयाँ र १ सय ३० भारतीय रूपैयाँसहित देवानगञ्ज गाउँपालिका-२ बस्ने २५ वर्षीय रहमान मिहाँ समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतिटप्पुबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही महानगरपालिका-११ बस्ने ३२ वर्षीया कल्पना राजभण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।