कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सम्पन्न
२०८१-०२-२८
- A
- A-
- A+
मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच दुई दिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी,२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ ।
नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा उक्त गोष्ठी आइतबारबाट शुरू भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न सबै जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उहाँले नागरिकलाई समस्या परेको बेला सबै भन्दा पहिला प्रहरी समक्ष पुग्ने र उनीहरूको गुनासो सुनुवाई प्रहरीले गर्नुपर्ने बताउनुभयो । लागू पदार्थ दुर्व्यसन तथा कारोबार नियन्त्रणमा विशेष अभियान, सचेतानमूलक कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह भएको उल्लेख गर्नुभयो । प्रदेशमा देखिएका सुरक्षा चुनौतिको निराकरण र समाधान गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले आफ्नो अधिकारको प्रयोग गर्न कुनै बाधा व्यावधान नपर्ने उहाँले बताउनुभयो । मानब बेचबिखन, लागूऔषध ओसारपसार जस्ता गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न समेत उहाँले निर्देशन दिनुभयो ।
उक्त अवसरमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले कानूनी राज्यको सुनिश्चितता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकूल परिमार्जन गर्दै लैजान र प्रहरीलाई कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताउनुभयो । विधिको शासनलाई अझ सशक्त बनाउने, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
सो अवसरमा नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, डा. भीष्म कुमार भूसाल र थानेश्वर गौतम तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।