प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने

२०८१-०३-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३२ जेठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । 

 काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारी समेत लिनुभयो । 

निरीक्षण पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका वावजूद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको बताउनुभयो । युनिफर्म लगाएको प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसको लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’ 

ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै  गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस् ।’ फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतिकूल अवस्थाका वावजूद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले ट्राफिकले भोग्नुपरेको समास्या निराकरणको लागि मन्त्रालय सदैव कटिवद्ध रहेको बताउँदै ट्राफिक प्रहरीले सडकमा खटिँदा घाम पानी नभनि विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकोमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने बताउनुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्यूनिकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । ट्राफिक व्यवस्थापनमा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमहरू, दुर्घटनाको अवस्था, दुर्घटना न्यूनिकरणको लागि चालिएका कदमहरू, सेवा प्रवाहका क्रममा भोग्नुपरेका समस्याहरू र सुधार गर्नुपर्ने पक्षहरूको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण प्रसाद भट्टराई, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित ट्राफिक प्रहरी युनिटका कार्यालय प्रमुखहरू लगायत प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०१-३०

मोरङ, ३१ वैशाख गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रम बीच कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था तथा आर्थिक अवस्था मजबुद बनाउन भन्सार चोरी निकासी, कालोबजारी, गुण्डागर्दी, भ्रष्टाचार, लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण तथा निरूत्साहित गर्न सबै सरोकारवाला निकायहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । संविधानको विरूद्धमा हुने कुनै पनि गतिविधि मान्य नहुने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुद बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले विधिको शासनलाई अझ सशक्त बनाउन, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्न एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको   थियो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०१-०५

कास्की, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रम बीच गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले वर्तमान संविधान ठूलो संघर्षबाट प्राप्त भएको तथा यसको रक्षाका लागि प्रत्येक निकायहरू सदैव तयार हुनुपर्ने उल्लेख गर्दै संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताउनुभयो । गृहमन्त्री लेखकले लागूऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध र प्राकृतिक विपद् चुनौतिका रूपमा देखा परेको उल्लेख गर्दै त्यस्ता चुनौतिको समाधान गर्ने तर्फ सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । प्रभावकारी सेवा प्रवाह अपरिहार्य भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तह बीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउन थप क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले न्यूनतम जनशक्ति एवम् साधनस्रोतका वावजुद प्रहरीले उच्च कार्यसम्पादन गरिरहेको बताउनुभयो । सुरक्षा र विकास योजना सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको पहिल्याउँदै बदलिँदो समयमा हुने गरेका प्रविधियुक्त अपराधको अनुसन्धान गर्न प्रहरीमा पनि समयानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको बिदाइ
२०८१-१२-०४

काठमाडौं, गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई शुभकामना सहित बिदाइ गर्नुभयो । साथै उहाँले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त गर्नुहुनेछ भन्ने शुभकामना समेत  दिनुभयो ।कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्‍चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढि प्रगतिको लागि शुभकामना समेत दिनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामोयात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताउनुभयो । आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी संगठनको श्रीवृद्धि एवम् प्रहरी कर्मचारीहरूको हित र उत्प्रेणाको लागि निरन्तर मार्गदर्शन र सकारात्मक पहलकदमी भइरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ
२०८१-११-१७

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो ।   समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्वपूर्ण व्यक्तित्वहरू, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । लागूऔषध समाजमा घातक चुनौतिको रूपमा देखा परेको र लागूऔषध दुर्व्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौन जन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता अपराधहरूमा समेत वृद्धि भइरहेकोले यसको न्यूनिकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासको साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानको रूपमा लागूऔषध विरूद्ध लड्न जरूरी रहेको उहाँले बताउनुभयो ।  सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको प्रमुख समस्याको रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । लागूऔषध दुर्व्यवसनले सामाजिक अपराधलाई समेत बढावा दिने हुँदा यसको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको सक्रिय सहभागीता, समन्वय, साझेदारी र सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गईरहेकोले यसको न्यूनिकरण र रोकथाम समेत संवेदनशील विषयको रूपमा देखापर्दै आएको बताउनुभयो । व्यक्ति, परिवार र समाज मात्र नभई समग्र राष्ट्रलाई नै असर पर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन नसकेको खण्डमा उत्पादनशील तथा सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि वृद्धि हुन जाने हुँदा यसको विरूद्ध सामुहिक प्रतिवद्धता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । सुरक्षित, स्वच्छ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा समेत यसको निरन्तरता हुने उहाँले प्रतिवद्धता व्यक्त   गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध विरूद्ध जनचेतना फैलाउँदै यसको न्यूनिकरण तथा नियन्त्रणका लागि सामाजका सबै तह र तप्कालाई सम्मिलित गराई विशेष प्रकृतिको परिणाममुखी अभियान संचालनको आवश्यकता रहेको बताउँदै समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समुहहरू एवम् सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मीहरू समेतको सहभागीताले यस महाअभियानको प्रभावकारीता र गुणस्तरीयता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताउनुभयो । लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसको लागि सरोकारवाला सबै पक्षहरूको संयुक्त सहकार्य, साथ, सहयोग र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले लागूऔषध कारोबार तथा दुर्व्यवसनीका घटना न्यूनिकरण र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्दै नेपाल प्रहरीबाट चालिनुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल तथा ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पाबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., वरिष्ठ कलाकार सरोज खनाल, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल, पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित लगायतले आ-आफ्नो प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट गिती नाटक सम्बन्धी भिडियो प्रस्तुत गरिएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त महाअभियान कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला न्यायाधिवक्ताहरू, गृहमन्त्रालयका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल स्काउटका प्रमुख आयुक्त, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, कलाकारहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल पुलिस क्लबको नवनिर्मित भवन उद्‍घाटन
२०८१-१०-२६

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब ‘The Blue Pavilion’ भवनको शनिबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभएको छ ।  सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको विकासक्रमसँग सम्बद्ध विभिन्न ऐतिहासिक तथ्य, दस्तावेज एवम् घटनाक्रमहरूको संकलन, अध्ययन एवम् विश्लेषण गरी तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको विमोचन गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पुर्‍याउनुहुने प्रा.डा. द्वय शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा योगदान पुर्‍याउनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानिसक हिसाबले स्वस्थ्य र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरी सबल र सक्षम हुनुपर्ने बताउँदै नेपाल प्रहरीले जनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवम् कानून बमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसंगत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । समारोहमा गृहमन्त्री रमेश लेखकले प्रहरी संगठन केवल कानून कार्यान्वयन गर्ने निकाय मात्र नभई मुलुकको स्थायित्व र शान्ति, सुरक्षा कायम राख्ने महत्वपूर्ण संगठन भएको चर्चा गर्दै प्रहरी कर्मचारीको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक क्रियाकलापहरू अभिवृद्धिका लागि नेपाल पुलिस क्लबले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । क्लबले प्रहरी संगठनका सदस्यहरूका लागि मात्र नभई आम नागरिकहरूलाई समेत खेलकुद र स्वास्थ्य सेवाका माध्यमबाट लाभान्वित गर्दै आएको बताउँदै नयाँ भवनबाट प्रहरी परिवार तथा सर्वसाधारणहरूलाई अझ स्तरीय सुविधा उपलब्ध हुने र प्रहरी संगठनभित्र सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री लेखकले लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध मुख्य चुनौतिको रूपमा देखिएको बताउँदै यसको न्यूनिकरण एवम् नियन्त्रणमा प्रहरी कर्मचारीहरू थप उर्जाशील, व्यवसायिक, मेहनती र परिश्रमी भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।   सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको आन्तरिक सुरक्षा एवम् कानूनको परिपालना र शान्ति सुव्यवस्था कायम गर्ने राज्यको प्रमुख जिम्मेवारी वहन गर्ने नेपाल प्रहरी नागरिकको सुरक्षा, सेवा र भरोसाको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरी संगठनले आफ्नो स्थापनाकाल देखिनै कानूनी राज्यको अवधारणालाई सर्वपरी रूपमा अंगिकार गर्दै समायानुकूल रूपमा आफूलाई परिस्कृत र परिमार्जन समेत गर्दै शान्ति सुव्यवस्था र सामाजिक सदभाव कायम राख्ने एवम् अपराध नियन्त्रण, रोकथाम तथा अनुसन्धान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । प्रहरीबाट प्रवाह हुने सेवाको प्रभावकारिता तथा कार्यसम्पादनको स्तरलाई प्रत्यक्ष रूपमा साधन स्रोत, सुविधा र संरचनाहरूले प्रभाव पर्ने भएकोले नेपाल प्रहरीको समग्र विकासको लागि संगठन आफैमा व्यवस्थित र पूर्वाधारले सुसज्जित हुनु अपरिहार्य रहेको र यसका लागि गृहमन्त्रालय सदैव चिन्तनशील र संवेदनशील रहेको उहाँले बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरीले आफ्नो स्थापनकालदेखि नै राज्यले सुम्पेको जिम्मेवारीका साथै मुलुकको आन्तरिक सुरक्षा व्यवस्था कायम राख्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, शान्ति सुव्यवस्था कायम राखी सामाजिक सद्भाव र एकता कायम राख्दै अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने महत्वपूर्ण जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको उल्लेख गर्नुभयो । हालको विश्वव्यापी परिवेश, प्रविधिको उच्चतम विकास र प्रयोगसँगै हुने गरेको दुरूपयोग, बहिर्क्षेत्रीय सुरक्षा चुनौतिहरू साम्प्रदायिक अतिवाद लगायतका गतिविधिहरूलाई सम्बोधन गर्न नेपाल प्रहरी दृढतापूर्वक कटिवद्ध रहेको उहाँले बताउनुभयो । साथै नवनिर्मित भवनले अत्यन्त चुनौतिपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने प्रहरी कर्मचारीहरूलाई शारीरिक तन्दुरूस्ती एवम् मानसिक स्वास्थ्य कायम राख्न सहयोग पुग्ने समेत उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ७५ करोड ८७ लाख २९ हजार ८ सय ३० रूपैयाँ ४५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । समारोहमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक/ विकास सल्लाहकार युवराज खतिवडा, प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, नेपाल सरकारका सचिवहरू, नायव महान्यायाधिवक्ता, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुख, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिश, जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८१-०९-०२

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्नुपर्ने बताउनुभयो । राजश्व चुहावट, तस्करी नियन्त्रण एवम् सीमा नाकामा हुने अपराधजन्य गतिविधि नियन्त्रणमा परिणाममुखी ढंगले देखिने गरी कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो । साथै प्रदेशमा चुनौतीको रूपमा देखिएका आर्थिक अपराध, साइबर अपराध, ठगी, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा नै लोकतन्त्रको पूर्व सर्त भएको उल्लेख गर्दै शान्ति सुरक्षा मार्फत देशमा आर्थिक विकास एवम् विकास निर्माणका काम अगाडि बढ्ने बताउनुभयो । शान्ति सुरक्षा नागरिकले प्राप्त गर्नुपर्ने पहिलो आधारभूत अधिकार भएको र संविधानको रक्षाको सर्त पनि भएको बताउँदै शान्ति सुरक्षाको सुनिश्चितताले नागरिकले आफ्नो हक अधिकारहरू निर्वाद रूपले उपभोग गर्न पाउने समेत भएकोले यसलाई गम्भीरतापूर्वक बुझ्न जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश कुमार अग्रवाल र लुम्बिनी प्रदेशका प्रमुख सचिव माहादेव पन्थले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशमा देखिएका सुरक्षा र अपराध सम्बन्धी समस्या तथा चुनौतीहरूको पहिचान तथा विश्लेषण गर्न एकिकृत र समन्वयात्मक रूपमा आयोजना गरिएको यस गोष्ठी निकै महत्वपूर्ण र उपलब्धिमूलक भएको बताउनुभयो । सुरक्षा सम्बन्धी मुद्दाहरूमा छलफल, सबै आवश्यक सुरक्षा उपायहरू र जोखिम मूल्याङ्कन, विभिन्न अपराध, घटना प्रतिक्रिया र प्रतिकार्य योजनाहरूको समीक्षा र सो वस्तुस्थितलाई अद्यावधिक गर्दै परिमार्जित रणनीतिको रूपरेखा निर्माण गरी प्रदेशको सुरक्षा व्यवस्थापन गर्ने संवेदनशील विषयमा राज्यका सबै अंगहरूबीच समन्वय र सहकार्य अपरिहार्य हुने हुँदा यस गोष्ठीद्वारा एकिकृत कार्यप्रणालीको सुदृढिकरणमा नयाँ आयाम थप हुनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।  सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव ऋषिराम तिवारी र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेलले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।