प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आठ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०८१-०८-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

 प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।” संगठनलाई समायानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न श्रृजनशील प्रयासबाट संगठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र सांगठनिक सुदृढीकरण र संगठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिवद्ध रहन उहाँले निर्देशन समेत दिनुभयो । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रबराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा Police Leadership and Staff Course समुद्‍घाटन
२०८३-०१-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 02) को समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक कार्कीले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्‍घाटन गर्नुभएको हो ।समारोहमा प्रहरी महानिरीक्षक कार्कीले Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course प्रहरी संगठनको संस्थागत विकास तथा आधुनिकीकरण एवम् नेपाल प्रहरीको व्यावसायिक रूपान्तरणमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । समाजमा देखापरेका विभिन्न नवीनतम् चुनौतीहरूको सम्बोधनको लागि सक्षम नेतृत्व तयार गर्न समेत यो कोर्स महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ यस कोर्स ग्रहण गर्न उहाँले आग्रह समेत गर्नुभयो ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसेले शुभकामना मन्तव्य तथा प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य एवम् Police Leadership and Staff Course सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, MPS का सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा सम्मान
२०८३-०१-२४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नैना एण्ड ईशान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरू विरूद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाडौं महानगरपालिका-२२ वटु बस्ने सञ्जिता शाक्यलाई सम्मान गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उहाँलाई कदर पत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।  काठमाडौं महानगरपालिका-२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उदेश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको पर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्‍वास तथा निर्वाह गर्नुभएको नागरिक दायित्वको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम् परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाउनु भएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गर्नुभयो । सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।   उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाको बारेमा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारूकताले कुनै पनि अपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ भनेर आम नागरिकहरूलाई सुसुचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको छ । साथै उहाँले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराध विरूद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्‍वास लिएको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-१९

नवलपरासी पूर्व, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन नागरिक र प्रहरीको साझा सम्पत्ति भएकोले यसको संरक्षण पनि नागरिक र प्रहरी दुबैको दायित्व भएको उल्लेख गर्दै शिष्ट बोलीबचन, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखि ट्राफिक व्यवस्थापन सम्बन्धी जनचेतामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिँदै नागरिकहरूलाई ट्राफिक नियमको पूर्णरूपमा पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्ण प्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारको विनियोजित बजेटबाट कुल ३ करोड २ लाख १२ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।  उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-११

सुर्खेत, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको शैक्षिक तथा प्रशासनिक भवन एवम् कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवनको शुक्रबार आयोजित कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै प्रदेश प्रहरी कार्यालय तथा नेपाल पुलिस स्कुल परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरू, शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्नुभयो । आफ्नो घरपरिवार छोडी नागरिकको जीउधनको सुरक्षार्थ अहोरात्र खटिने प्रहरी कर्मचारीका सन्ततिहरू तथा सो क्षेत्रमा बसोबास गर्ने महानुभावहरूका सन्ततिहरूलाई सहज, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले यस विद्यालयको निर्माण गरिएको उहाँले बताउनुभयो ।     प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित विद्यालय भवन केबल भौतिक संरचना मात्र नभई स-साना बालबालिकाहरूले सुनौलो भविष्य नियाल्ने ढोकाको साथै आदर्श चरित्र निर्माण, सकारात्मक सोच र असल जीवनको मार्ग निर्देशन गर्ने थलो समेत भएको बताउनुभयो । प्रहरी कर्मचारीका सन्ततिहरूले विद्यालयबाट प्राप्त गर्ने सहज तथा गुणस्तरीय शिक्षाको माध्यमबाट प्रहरी कर्मचारीहरूको उत्प्रेरणा तथा समग्र कार्यक्षमतामा समेत बढोत्तरी हुने उल्लेख गर्दै निकट भविष्यमा विद्यालयको निरन्तर उन्नति तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक राजिव बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य सुनिल देवकोटाले विद्यालयको शैक्षिक गतिविधि सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो भने प्राविधिक प्रहरी नायव उपरीक्षक शम्भु प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट साँस्कृतिक प्रस्तुती समेत गरिएको थियो ।नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको आन्तरिक स्रोतबाट कुल ११ करोड २४ लाख ८४ हजार ५ सय ८८ रूपैयाँ ४८ पैसाको लागतमा नेपाल पुलिस स्कुलको भवन तथा नेपाल सरकारको नियमित बजेटबाट कुल ५ करोड ४४ लाख ८३ हजार ६ सय ८९ रूपैयाँ १३ पैसाको लागतमा सिनियर प्रहरी अधिकृत निवास भवनको निर्माण कार्य सम्पन्न भएको हो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न विद्यालयका प्राचार्य तथा प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुन:निर्मित कार्यालय भवन उद्‌घाटन
२०८३-०१-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुन:निर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सभ्य र सुरक्षित समाज निर्माणमा प्रहरीको आवश्यकता महसुस गरेर पुन:निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै  पुन:निर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी र नागरिकबीचको सुसम्बन्धले मात्र सुरक्षित समाज निर्माणको लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै पुन:निर्माण मार्फत नागरिकको तहबाट प्राप्त मायाले प्रहरीलाई थप हौसला प्राप्त भएको र यसको निरन्तरताको समेत अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूले सेवा प्रदान गर्ने शैलीमा सकारात्मक परिवर्तन गर्दै बोली वचन र व्यवहारलाई सम्मानजनक बनाउनुपर्ने बताउँदै प्रहरी पेशा होइन प्रहरी सेवा हो भन्ने भावका साथ नागरिकको कानुन सम्मत अपेक्षा पूरा गर्न पुन:निर्मित भवनबाट थप प्रेरणा मिल्ने र नागरिक केन्द्रीत सेवा प्रवाहमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गर्नुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेम राज तिवारीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुन:निर्माण समितिका अध्यक्ष राकेश सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो । 

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०१-०९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली वचन एवम् व्यवहारलाई आत्मसात् गरी  नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कुनै पनि कमी कमजोरी नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले सरकारद्वारा लागु गरिएका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी  आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि सोही अनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । लागूऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्ताहरूलाई लक्षित गरी सुधारात्मक कार्यक्रमहरू गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न उहाँले निर्देशन दिनुभयो । गुण्डागर्दी विरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुनपर्नेमा जोड दिँदै फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउलाई तदारूकताका साथ दायित्वबोध गरी अझ सक्रिय रूपमा कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोही अनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तर सम्म प्रहरीको छवि वृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गरी कार्य गर्न सबै प्रहरी कर्मचारीहरू कटिवद्ध हुनुपर्ने बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखि नागरिक सुनुवाई कार्यक्रमहरू मार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकहरूले महसुस गर्न सक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उहाँले बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तीको लागि सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।