शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१-१०-०५
- A
- A-
- A+
काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका-४ टुँडालदेवी मन्दिर परिसरको प्राङ्गणमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रम संचालन गर्नु पर्नेमा विशेष जोड दिनुभयो । साथै समाजमा शान्ति सुरक्षा थप मजबुत बनाउनको लागि प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनालीले अन्तरक्रियाको महत्व बारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले अन्तरक्रिया कार्यक्रममा प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो भने काठमाडौं महानगरपालिका-४ का वडा अध्यक्ष दिनेश महर्जनले स्थानीय तहको कार्य सम्बन्धी उठेका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षाको वर्तमान अवस्था, प्रहरी कार्यमा सुधारका क्षेत्रहरू र सुझाव लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा पूर्व संविधान सभा सदस्य रमा गुरागाई, पूर्व महालेखा परीक्षक तथा नेपाल सरकारका पूर्व सचिव मधु सुदन ढकाल, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरू, स्थानीय भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।