प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UN Police Commissioner बीच शिष्टाचार भेटघाट

२०८१-११-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahkar तथा Selection and Recruitment Section Chief Ata Yenigun बीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । 

भेटघाटको क्रममा उहाँहरूबीच आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । 

सो अवसरमा युएन प्रतिनिधि मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   

कार्यक्रममा United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahakar तथा Selection and Recruitment Section Chief Ata Yenigun ले सहभागीहरूबाट उठेका जिज्ञासाहरूको निरूपण गर्दै संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

युएन प्रतिनिधि मण्डलको टोली ४ दिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आउनु भएको हो । उहाँहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभएको थियो ।

भ्रमणको क्रममा युएन प्रतिनिधि मण्डलको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विशेषत उहाँहरू नेपाल प्रहरीको तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनुहुनेछ ।


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन सम्पन्न
२०८३-०३-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोह बिच प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३ सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू एवम् निचोडहरू प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण हुने बताउनुभयो । नेपाल सरकारको प्राथमिकताका विषयहरूलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप संविधान तथा प्रचलित कानुनले निर्दिष्ट गरेको जिम्मेवारी प्रति निष्पक्ष रही उच्च व्यावसायिकताका साथ कार्यसम्पादन गर्न प्रहरी कर्मचारी सदैव प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूले राखेको जिज्ञासाहरूको निरूपण गर्दै अपराधको स्वरूप एवम् प्रवृत्तिको परिवर्तनले थप चुनौतीहरू देखा परेको उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध, सामाजिक संजालको दुरूपयोग गरी गलत सूचना/मिथ्या सूचना प्रवाह गर्ने लगायतका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुने अपराध प्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ सम्बोधन गर्नुपर्ने बताउँदै अपराध नियन्त्रण एवम् अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखी समुदायसँग समन्वय गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड  दिनुभयो । साथै यस सम्मेलन मार्फत विगतको अनुभव, सूचना संकलन, असल अभ्यासहरू, स्रोतसाधन तथा प्रविधिको प्रयोग, अन्तर सुरक्षा निकाय बिचको आपसी समन्वय लगायतमा अनुभवको आदान-प्रदान र सम्मेलनबाट प्राप्त भएका सुझाव एवम् निष्कर्षहरू आगामी दिनमा कार्यक्षेत्रमा अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, संचार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरहरू काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्यसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो । समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, उपत्यकास्थित प्रहरी वृत्त एवम् प्रभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण एवम् प्रभावकारी अनुसन्धानलाई आफ्नो मूल दायित्वको रूपमा आत्मसात् गर्दै आइरहेको छ । बद्लिदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र जनअपेक्षाको वृद्धिसँगै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउनु आजको आवश्यकता रहेको परिपेक्षमा यीनै विषयहरूको समीक्षा, अनुभवको आदान-प्रदान तथा आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले यस सम्मेलनको आयोजना गरिएको हो । प्रहरी कार्यको वार्षिक समीक्षा गरी चुनौती तथा कमीकमजोरीको बारेमा अनुभव आदान-प्रदान गर्दै सुधारका क्षेत्रहरू पहिचान गर्ने, प्रहरी कार्यको क्षमता अभिवृद्धिको बाटो पहिल्याउने एवम् प्रहरी कार्यको प्रभावकारीतामा वृद्दि गरी, शान्ति सुरक्षा अमनचयन कायम गराउन नीतिगत, संरचनागत लगायत समग्र सुधारका क्षेत्रहरू पहिचान गरी आगामी कार्यदिशा तय गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
२०८३-०३-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित समारोह बिच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीद्वारा लिखित ‘Police and Rule of Law’ नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।  उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले यस गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस सिर्जनाको भाव नरोकियोस तथा आगामी सिर्जनात्मक यात्रा अझ धेरै फलदायी होस् भन्ने कामना समेत गर्नुभयो । साथै अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीको कलमबाट हामीलाई मार्गदर्शन गर्ने, समाजलाई मार्गदर्शन गर्ने, मुलुकलाई समृद्धितर्फ लाने र कानुनी शासनलाई व्यवस्थित गर्न एवम् स्थापित गर्न सहयोग गर्ने किसिमका थप कृतिहरू र सिर्जनाहरू प्राप्त भइरहने समेत उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा पूर्व रजिष्टार तथा नेश्नल ल कलेजका प्राचार्य राम कृष्ण तिमल्सिना, पूर्व सचिव खेमराज रेग्मी र अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा अकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायव महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । पूर्व सचिव विश्व प्रकाश पण्डितको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा पूर्व सचिव डा. कृष्ण प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुस्तकका लेखक अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीले धन्यवाद मन्तव्य व्यक्त गर्दै पुस्तकको विषयबस्तु सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  कार्यक्रममा नेपाल सरकारका पूर्व सचिवहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३-०३-०१

रूपन्देही, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार आयोजित आत्महत्या, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । साथै उहाँले Hack4Safety, 2083 अन्तर्गत प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सडक दुर्घटना, लागूपदार्थको दुर्व्यसन एवम् आत्महत्या नेपाली समाजमा गम्भीर समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसको न्यूनीकरणकको लागि आयोजना गरिएको यस कार्यक्रम उपलब्धीमुलक हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरीको एकल प्रयासले समाजमा शान्ति सुव्यवस्था कायम राख्न पर्‍याप्त नहुने उल्लेख गर्दै त्यसका लागि सबै सरोकारवाला निकायको सामुहिक प्रयत्न र प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । प्रविधिको प्रयोग मार्फत अपराधको न्यूनीकरण र सफल अनुसन्धानबाट सभ्य र शान्तिपूर्ण समाज निर्माणमा महत्वूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य एवम् कार्यक्रमको उद्देश्य तथा अवधारण प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक दयानिधी ज्ञवालीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी केन्द्रीय संगित विद्यालयबाट ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलन सम्बन्धी जनचेतनामूलक प्रस्तुती एवम् लागूऔषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या तथा बालबिवाह सम्बन्धमा नाटक प्रस्तुतीका साथै लागूऔषध दुर्व्यसनबाट पीडित भई समाजमा पुन:स्थापित भएका व्यक्तिबाट अनुभव सहितको प्रस्तुती गरिएको थियो । साथै सो अवसरमा Hack4Safety, 2083 को संक्षिप्त भिडियो समेत प्रस्तुत गरिएको थियो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकार्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिती रहेको थियो । विशेषगरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्‌दो साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने जनचेतनामूलक कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । 

उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली बचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी निरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही वहन गर्न निर्देशन दिनुभयो । सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवम् परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुने गरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, काननुनसम्मत र विभेदरहित ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन समेत उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायव महानिरीक्षक अरूण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । 

४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०२-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ ३ जना गरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ १२ जना गरी प्रहरी उपरीक्षक पदमा १३ जना, प्राविधिक प्रहरी  नायव उपरीक्षक पदमा १६ जना र प्राविधिक प्रहरी निरीक्षक पदमा १४ जना गरी कुल ४७ जनामध्ये ४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो । पदोन्नति भएका मध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरू हाल तालिमको सिलसिलामा कोरियामा रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो कार्यक्षेत्रमा प्रदर्शित लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सिर्जनशील, थप जवाफदेही र संवेदनशील भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मुल दायित्वमा जनपद तथा प्राविधिक समूहको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट संगठनले सकारात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरेको बताउनुभयो । पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा पनि बढ्दै जाने हुनाले त्यसतर्फ सचेत भई काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठानिक मूल्य मान्यतालाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धि हुने गरी दायित्व बहन गर्न उहाँले निर्देशन दिनुभयो । परिवर्तित परिस्थितिसँगै थप चुनौती र प्रहरीसँग नागरिकको अपेक्षा पनि बढिरहेको उल्लेख गर्दै निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी भई राज्यको असल प्रतिनिधिका रूपमा सांगठनिक छवि बढाउँदै कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।    सो अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण समर्पित भई संगठनको लक्ष्य प्राप्तीमा अझ उत्कृष्ट ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो । 

प्राप्त जिम्मेवारी इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-२०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कर्मचारीहरूले नवीनतम सोच एवम् थप सिर्जनशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले सांगठानिक शुद्धीकरण एवम् सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी बहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी योजनाबद्ध, पारदर्शी, समयसापेक्ष एवम् नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरू चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको क्षमता विकासका साथै समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । विगतमा भएका कमी कमजोरीलाई विश्‍लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा  एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।