प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित

२०८१-१२-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक दिपक थापालाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

  सुशोभन समारोहमा गृहसचिव दुवाडीले गौरवशाली संगठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकोमा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा कार्यकाल पूर्ण सफलताको कामना गर्दै प्राप्त पदको गरिमा र नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकमा शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र सम्वृद्ध नेपालको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । तीन दशक लामो व्यावसायिक जीवनमा प्रहरी महानिरीक्षक थापाले प्रदर्शन गर्नुभएको कर्तव्यपरायणता, व्यासवसायिक दक्षता, कार्यकुशलताको उच्च मुल्याङ्कन गर्दै नेपाल सरकारले विश्वास गरेर थप जिम्मेवारी प्रदान गरेकोमा यसलाई निष्ठापूर्वक, इमानदारीताका साथ पुरा गर्नु हुनेछ भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । 

गृहसचिव दुवाडीले शान्ति सुरक्षा र सुव्यवस्था भन्ने विषय देखिने विषय मात्र नभई अनुभूति गर्ने विषय भएको चर्चा गर्दै आम नागरिकले अनुभूति गर्ने किसिमको शान्ति, सुरक्षा, सुव्यवस्था र अमन चयन मुलुकमा कायम गर्नु सबैको कर्तव्य भएको र आम नागरिकले सरकारप्रति गरेका अपेक्षाहरू पुरा गर्न सरकार सदैव क्रियाशील रहेको बताउनुभयो । समाजमा नयाँ-नयाँ अपराधका क्रियाकलापहरू बढिरहेको उल्लेख गर्दै लागूऔषध, साइबर अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू गम्भीर सुरक्षा चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई कुशलतापूर्वक न्यूनीकरण गरेर मुलुकको शान्ति सुव्यवस्था कायम गर्न प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीका सकल दर्जाको साख वृद्धि गर्दै निष्ठा, इमानदारीता, कर्तव्यपरायणता एवम् जवाफदेहीता पूर्वक जिम्मेवार भई कार्यसम्पादन गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । 

गृहसचिव दुवाडीले प्रहरी महानिरीक्षक थापाको कार्यकालमा अपराधका क्रियाकलापहरू उल्लेख्य रूपमा नियन्त्रण, अपराध अनुसन्धान तथा अभियोजनमा निष्पक्षता र व्यावसायिकता, सीमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रण, दबाब र प्रभाव मुक्त प्रहरी प्रशासन, संविधान प्रदत्त हक अधिकार तथा मानव अधिकारको पूर्ण प्रत्याभूति, कानूनको पूर्ण पालान तथा पीडितमैत्री वातावरणको सिर्जना गरी उच्च स्तरको कार्यसम्पादन गर्दै नागरिकको मनमुटु र ढुकढुकीको रूपमा नेपाल प्रहरी बस्न सफल हुनेछ भन्ने अपेक्षा र विश्वास लिएको बताउनुभयो । साथै नागरिकले अफ्ठ्यारो परेर नेपाल प्रहरी सम्झदा तत्काल सहायता, आड र भरोसा दिन सक्ने किसिमको चुस्त, दुरूस्त, सशक्त र जिम्मेवार नेपाल प्रहरी बनोस् भन्ने शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावना नराखी निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । 

नेपालको संविधानको मर्म अनुरूप संघीय स्वरुपमार्फत कानून कार्यान्वयन, विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रूपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रूपमा संस्थागत गर्ने मेरो लक्ष्यबाट म किंचित पनि डगमगिने छैन ।’ अपराधको रोकथाम र अनुसन्धान, कुनै पनि बहाना र बिकल्प बिना शान्ति सुरक्षाको उपलब्धता, अन्य सुरक्षा निकायसँगको निरन्तर समन्वय र सहकार्य मार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशीलतामा गुनासो आउने अवसर नदिने समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीलाई आफ्नो दायित्व निर्वाह गर्न आम नागरिक, संचारकर्मी, विभिन्न पेशाकर्मीहरू, समाजसेवी, सरोकारवाला निकायहरू तथा नेपाल सरकारका सबै अंगहरूबाट सुझाव, सहयोग र सहकार्यको अपेक्षा लिएको उहाँले बताउनुभयो । 

नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूलाई सामूहिक प्रयासका साथ निस्तेज गरिने दृढता व्यक्त गर्नुभयो । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो । 

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक थापाले मंगलबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो । 

प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।


प्रहरी महानिरीक्षक दिपक थापाको सङ्क्षिप्त जीवनी : 

प्रहरी महानिरीक्षक दिपक थापा नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको   हो ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा पिता रामशरण थापा र माता साबित्री थापाको कोखबाट वि.सं. २०२८ मंसिर ८ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दिपक थापाका श्रीमती रूपा थापा, २ छोरी र १ छोरा हुनुहुन्छ । प्रहरी महानिरीक्षक थापाले वि.सं. २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक थापा २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७२ साउन ८ गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायव महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको  थियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक थापाले इन्टरनेश्‍नल ट्रेनिङ कोर्ष अन बिग डाटा पोलिसिङ अफ चाइना एसियन एण्ड द नेवरिङ कन्ट्रिज, प्रोग्राम अन काउण्टरिङ ट्रान्सनेश्‍नल अर्गनाईज्ड क्राइम, गभर्नेन्स एण्ड एन्टिकरप्सन ट्रेनिङ, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, बेसिक सेक्युरिटी ईन द फिल्ड-२,ओरियन्टेसन प्रोग्राम अन एन्टि मोनि लाउण्डरिङ टु नेपाल पुलिस अफिसियल्स, अपराध अनुसन्धान, व्यवस्थापन र विकास लगायत विभिन्न २५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दुर्गम सेवा पदक, दैवीप्रकोप पीडितोद्दार पदक, प्रहरी सेवा पदक, परदेश सेवा पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । 

अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा काठमाडौं, मकवानपुर, रूपन्देही, मोरङ, सुनसरी, खोटाङ, रौतहट, काभ्रेपलाञ्चोक, कञ्चनपुर र डोटी जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड गर्नुका साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय तथा नेपाल प्रहरी प्रधान कार्यालय बजेट शाखामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले महानगरीय अपराध महाशाखा हनुमानढोका काठमाडौं, २ नम्बर प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा, जनकपुर, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन महाशाखा एवम् तालिम महाशाखामा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको अनुभव गर्नुभएका थापा २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पटाको कमाण्ड समेत गर्नुभएको   थियो । 


सम्बन्धित समाचार
मेट्रो ट्राफिक एफ.एम. को १४ औं वार्षिकोत्सव सम्पन्न
२०८३-०४-०८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सहयोगी संस्था, विज्ञापनदाता र उत्कृष्ट सवारी चालकलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले ट्राफिक जनचेतनामूलक गीतको विमोचन समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक एफएमले स्थापनाकाल देखिनै ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउँदै ट्राफिक सचेतना अभिवृद्धि गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, अपराध विरूद्ध जनचेतना फैलाउन तथा सुरक्षा सम्बन्धी सही र विश्वसनीय सूचना समयमै प्रवाह गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । ट्राफिक एफएमको सफल संचालनमा निरन्तर साथ, सहयोग र सहकार्य गर्नुहुने विभिन्न निकाय, स्थानीय तह, सञ्चारकर्मी एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने महानुभावहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा एफएमको संस्थागत सम्वृद्धिको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको चर्चा गर्दै ट्राफिक एफएमले पनि आगामी दिनमा सामाजिक सञ्जालको प्रयोग मार्फत नागरिक समक्ष अझ छिटो, छरितो एवम् भरपर्दो सूचना प्रवाह गर्न थप क्रियाशील हुनुपर्ने बताउनुभयो । एफएमले आगामी दिनमा आफ्नो क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवर्तनात्मक, गुणस्तरीय एवम् विश्वसनीय नागरिक केन्द्रीत कार्यक्रमहरू ल्याई अझ सशक्त एवम् प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै ट्राफिक सचेतनामूलक सामग्रीहरूको प्रभावकारिता अभिवृद्धि एवम् एफएमसँग आधुनिक स्रोतहरूलाई समेट्नको लागि समयानुकूल सामग्री तथा विधिलाई आफ्नो कार्यक्रममा समावेश गर्दै आगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका निमित्त नगरप्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले आ-आफ्नो शुभकामन मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले स्वागत मन्तव्य एवम् एफ.एम. को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक एफ.एम.को यात्रा तथा उपलब्धी,  एवम् ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारीहरू, वरिष्ठ कलाकारहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वदेश फिर्ता
२०८३-०४-०६

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की Federal Bureau Of Investigation (FBI) र Royal Thai Police को आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म संचालन भएको ‘The Regional Summit On Scam Center Compounds and Transnational Organized Crime’ मा सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो ।उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साईबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा वृहत्त छलफल भएको थियो । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत साउन ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्की संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान
२०८३-०४-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की Federal Bureau Of Investigation (FBI) र Royal Thai Police को आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म संचालन हुने ‘The Regional Summit On Scam Center Compounds and Transnational Organized Crime’ सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गर्नुभयो ।उक्त सम्मेलनमा संगठित अपराध सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति, संयुक्त कार्य एवम् समन्वय लगायतका एजेण्डामा वृहत्त छलफल हुने कार्यक्रम रहेको छ ।प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

केन्द्रीय अनुसन्धान ब्यूरोको १६औं वार्षिकोत्सव सम्पन्न
२०८३-०४-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच केन्द्रीय अनुसन्धान ब्यूरोको १६औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोका पूर्व प्रमुखहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै ब्यूरोमा कार्यरत रहि उल्लेखनीय कार्य गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारीहरू एवम् अपराध अनुसन्धानमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पुर्‍याउनु हुने विभिन्न निकायका महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा प्रकाशित ‘CIB Magazine’ को लोकार्पण समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापनाकाल देखि जघन्य प्रकृतिका अपराध, संगठित, आर्थिक एवम् जटिल अपराधहरूको अनुसन्धानका साथै न्यायपूर्ण, सुरक्षित एवम् समृद्ध नेपाल निर्माणमा ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोले अहिले अनुसन्धान अनि मात्र पक्राउ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात् गर्दै तटस्थ एवम् उच्च व्यावसायिकता प्रदर्शन गरी नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै जघन्य, संगठित, अन्तरदेशीय, उच्च जटिल तथा आर्थिक अपराधका बदलिँदा चुनौतीलाई सम्बोधन गर्न थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो । अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी ब्यूरोको क्षमता अभिवृद्धि एवम् अन्तर निकाय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय अपराधिक सञ्जाल र सीमापार अपराध अनुसन्धानमा खरो रूपमा प्रस्तुत हुँदै ब्यूरोले आफ्नो आदर्श वाक्य विश्वसनियता, निष्पक्षता र साहसलाई अक्षुण्ण रूपमा कायम गरिराख्ने विश्वास लिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।  कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, विभिन्न मन्त्रालयका सहसचिवहरू, सहन्यायाधिवक्ताहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्की United Nations Chiefs of Police Summit मा सहभागी हुन न्यूयोर्क प्रस्थान
२०८३-०३-२१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन हुने पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको  छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गर्नुभयो ।उक्त समिटमा Reflection on the future of UN Police, Leveraging new technologies, Strengthening International cooperation, Strengthening UN Peace Keeping through Language Training, High Level Network on Gender Responsive Policing लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।समिटको अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरू तथा संयुक्त अरब ईमिरेट्सका प्रतिनिधि मण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

अमेरिकी दूतावासद्वारा डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण हस्तान्तरण
२०८३-०३-१६

काठमाडौं, नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रम बिच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासको लागि उन्नत डिजिटल फरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको चर्चा गर्दै यस किसिमका सहयोगहरू दुई देश बिचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ती, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवम् सहजीकरण हुने बताउनुभयो । यस्ता उपकरणहरूको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।  कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, अमेरिकी राजदुतावासका प्रतिनिधिहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।