प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

२०८२-०२-०८

  • A
  • A-
  • A+
Share

धनुषा, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ धनुषामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र गृह, संचार तथा कानून मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । 

उक्त अवसरमा गृहमन्त्री लेखकले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन सबै सुरक्षा निकायहरूले विशेष ध्यान दिई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरू सक्रिय भएर अगाडि बढ्नुपर्ने बताउँदै सीमा क्षेत्रमा हुने चोरी निकासी पैठारी एवम् सीमावर्ती अपराधहरू नियन्त्रणमा थप सचेत भई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री राज कुमार लेखी, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले खुला सीमाना भएको यस प्रदेशमा सीमा अपराध, तस्करी, लागूऔषध दुर्व्यसन तथा ओसारपसार, सवारी दुर्घटना र साईबर अपराध मुख्य चुनौतिको रूपमा रहेको उल्लेख गर्दै उपलब्ध स्रोत साधन, जनशक्ति तथा प्रविधिको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण एवम् अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न आवश्यक रणनीति तयार गरी सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय एवम् सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी नागरिक केन्द्रित सेवा प्रवाहमा थप सक्रिय भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  

सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । 

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार
नागरिकलाई केन्द्रमा राखेर जिम्मेवारी वहन गर्नुपर्ने - गृहमन्त्री सुधन गुरूङ
२०८३-०६-३०

काठमाडौं, गृहमन्त्री सुधन गुरूङले नागरिकको हरेक गुनासो, पीर मर्का, जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा वहन गर्नुपर्ने बताउनुभयो । बोलीचाली, आचरण र कार्यशैलीलाई नागरिकमैत्री बनाउँदै भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपात विरूद्ध कुनै सम्झौता नगरी अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति कायम गरी कार्यसम्पादन गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।  ७१औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरूङले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।  समारोहमा गृहमन्त्री गुरूङले नेपाल प्रहरी संगठनमा आफ्नो जीवनका अमूल्य समय समर्पण गर्दै कर्तव्यनिष्ठा, कार्यदक्षता, व्यावसायिकता र उच्च अनुशासनका साथ अतुलनीय योगदान पुर्‍याउनुका साथै सेवाबाट निवृत्त पश्चात पनि समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धिमा निरन्तर योगदान पुर्‍याउनुभएका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कनतर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीलाई ‘प्रहरी व्याटन २०८३’ प्रदान गर्नुभयो । सो अवसरमा गृहमन्त्री गुरूङले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’, ईलाका प्रहरी कार्यालय रातापानी मुगुका प्रहरी वरिष्ठ नायव निरीक्षक निवन्ध बहादुर बुढालाई ‘मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार’ तथा प्रहरी चौकी कोठियाघाट बर्दियाका प्रहरी सहायक हवल्दार राजेन्द्र चौधरी र प्रहरी चौकी जोलजिवी दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रदान गर्नुभयो ।सो अवसरमा गृहमन्त्री गुरूङले कैलाली धनगढी उपमहानगरपालिका-१० का अमर प्रहरी स्वर्गीय प्रहरी जवान पदम बहादुर साउदको छोरा विप्लब साउद र अछाम बान्नीगढी जयगढ गाउँपालिका-५ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार राम बहादुर साउदकी छोरी रन्जना साउदलाई ‘अच्युत-मिना अमर प्रहरी पुरस्कार’ तथा बैतडी शिवनाथ गाउँपालिका-२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका-५ का अमर प्रहरी जवान राम बहादुर साउदकी छोरी नविना साउदलाई ‘अच्युत-मिना छात्रवृत्ति’ प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई ‘मोती कला मिथिला अमर प्रहरी छात्रवृत्ति’ प्रदान गर्नुभयो ।  समारोहमा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्यपालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरीको कार्यसम्पादन, संस्थागत विकास, व्यावसायिकता तथा प्रहरी गतिविधिहरूलाई अभिलेखीकरण गर्दै प्रहरी संगठनको पहिचान, उपलब्धि र योगदानलाई उजागर गर्ने महत्वपूर्ण प्रकाशन “प्रहरी दर्पण २०८३” को लोकार्पण एवम् नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको पुस्तिका तथा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरूको सम्झनामा तयार पारिएको “प्रहरी स्मारिका २०८३” को लोकार्पण समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री गुरूङले विशिष्ट महानुभावहरू, अमर प्रहरीका परिवारजन तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रहरी दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यो दिवस वि.सं. २०१२ सालमा प्रहरी ऐन जारी भएको स्मरण र संगठनको वार्षिक उत्सव मात्र नभई नेपाल प्रहरीले गरेको सेवा, त्याग र बलिदानको सम्मान भएको उल्लेख गर्दै कर्तव्यपालनाका क्रममा ज्यान गुमाउनु भएका सम्पूर्ण अमर प्रहरी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।  गृहमन्त्री गुरूङले देशमा शान्ति सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण गर्ने कार्यमा नेपाल प्रहरी सदैव अहोरात्र खटिँदै आएको चर्चा गर्दै गत भदौ १० गतेको रसुवा भोटेकोशी, मनाङ-मुस्ताङ र बुढीगण्डकीमा आएको भीषण बाढीदेखि विगतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा, बेपत्ता हुँदा समेत विचलित नभई नागरिकको सेवामा खटिनु भएका प्रहरी कर्मचारीहरूको धैर्य र समर्पणको उच्च मूल्याङ्कन गर्नुभयो ।  प्रहरीको वर्दी डर र त्रासको नभई आशा भरोसा र नागरिक प्रहरी सहकार्यको प्रतिक बन्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री गुरूङले भन्नुभयो, ‘नयाँ पुस्ताले सोधेको छ राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ?  मेरो भविष्य मेरो देशमा, मेरो मातृभूमीमानै उज्जवल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान र विपद्का समयमा गरिने उद्दारले समेत निर्धारण गर्नेछ । मलाई विश्वास छ नेपाल प्रहरीका सम्पूर्ण सदस्यहरूले राष्ट्र र जनताको सेवामा समर्पित भई नतिजा मार्फत यो उत्तर दिनुहुन्छ ।’ शान्ति सुरक्षा कायम गर्ने क्रममा भिड नियन्त्रण र बल प्रयोग गर्दा आवश्यकता, अनुपातिकता र जवाफदेहिताको सिद्धान्तको कडाईका साथ पालना गर्नुपर्ने उल्लेख गर्दै राज्यका संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम राख्न थप जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । गृहमन्त्री गुरूङले अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने सक्षम निकायको रूपमा नेपाल प्रहरी स्थापित हुन जरूरी रहेको बताउँदै भर्खरै नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रहरूको गृहमन्त्रीहरूको पहिलो बैठक एवम् भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सुचना अदानप्रदान प्रविधिको उपयोग जस्ता विषयमा सहकार्य बढाउन जोड दिएको बताउनुभयो । क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक अघिको कानुनमा सुधार, आवास, स्वास्थ्य लगायतका सेवा सुविधामा सुधार, सरूवा बढुवालाई व्यवस्थित बनाउने, काम र नतिजाको आधारमा मूल्याङ्कन गर्ने प्रणालीको विकासमा नेपाल सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुका साथै नेपाल प्रहरीलाई आफ्नो सन्देशमार्फत मार्गदर्शन, अभिभावकत्व र हौसला प्रदान गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रको सेवा गर्दा गर्दै हालैको भोटेकोशी त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गर्नु भएका प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त हुनुभएका प्रहरीहरूको शीघ्र स्वास्थ्य लाभको कामना उक्त शुभकामना सन्देशमा उल्लेख गरिएको छ । स्थापनाकालदेखि अनेकौं उतारचढाव पार गर्दै प्रहरी संगठनलाई यहाँसम्म ल्याउन योगदान पुर्‍याउनु हुने सम्पूर्ण पूर्व प्रहरीहरूप्रति आभार व्यक्त गर्दै सधैं अग्रभागमा खटिएर जनताको सेवा गर्ने नेपाल प्रहरीलाई आगामी दिनका सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिवद्ध रही नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिनुका साथै प्रहरी कर्मचारी, तिनका परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत शुभकामान सन्देशमा उल्लेख गरिएको छ । पछिल्लो समय बढ्दै गएको वित्तीय र साइवर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको र यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटहरूलाई एकै ठाउँमा ल्याई नागरिकका गुनासाहरू थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था गर्नुका साथै एआई, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टी-स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको समेत शुभकामना सन्देशमा उल्लेख गरिएको छ । प्रहरी महानिरीक्षक कार्कीले गृहमन्त्रीज्यूको गरीमामय उपस्थिति एवम् सारगर्भित निर्देशन सम्बोधनले नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरूमा राष्ट्र सेवा र कर्तव्यबोधको उर्जा सञ्चार भएको उहाँले उल्लेख  गर्नुभयो । नेपाल प्रहरीको सात दशक भन्दा लामो यात्रामा राष्ट्र र नागरिक सुरक्षाका खातिर जीवनको आहुति दिनुहुने सम्पूर्ण अमर प्रहरीहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै अमर प्रहरी परिवारजन एवम् सन्ततिहरू प्रति उच्च सम्मानभाव व्यक्त गर्नुका साथै कर्तव्यपालनाको सिलसिलामा घाइते तथा अशक्त हुनुभएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक कार्कीले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाल प्रहरी आफ्नो मूल दायित्व जनताको सेवा, समुदायको सुरक्षा, विधिको शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिवृद्धि प्रति सदैव प्रतिबद्ध रहको उहाँले बताउनुभयो । अमर प्रहरीहरूको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउने तथा भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प रहेको उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले ‘विपद्‌मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ लाई आदर्श वाक्यका रूपमा अघि बढाउँदै बदलिँदो सामाजिक, आर्थिक, राजनीतिक तथा प्राविधिक परिवेशसँगै विकसित हुँदै गएका सुरक्षा चुनौतीहरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक तथा नविनतम् प्रविधिले सु-सज्जित संगठनका रूपमा विकास गर्नु आजको प्राथमिकता रहेको बताउनुभयो । नेपाल प्रहरीले वर्तमान समयको पदचापलाई बुझ्दै वित्तीय ठगी सम्बन्धमा अनलाइन उजुरी, नागरिक गुनासो, प्रहरी चारित्रिक प्रमाणपत्र, ट्राफिक उल्लङ्घन तथा हराएका सवारीसाधन र कागजातहरू, प्रहरी भर्ना तथा तालिम, अपराध अभिलेख, दैनिक घटना प्रतिवेदन लगायतका विभिन्न अभिलेख प्रणालीको विकास तथा स्तरोन्नती गर्नुको साथै Artificial Intelligence and Advance Analytics Cell (AI &AAC), Aerial Security and Support Unit (Drone/Anti-Drone) र Integrated Anti-Scam Centre, Social Media Monitoring Cell स्थापना गरी प्रहरी सेवालाई थप प्रविधिमैत्री, प्रभावकारी र समयानुकूल बनाउने कार्य अघि बढाइएको उहाँले बताउनुभयो । यसैगरी प्रहरी कर्मचारी, प्रहरी परिवार र आम नागरिकलाई उच्चस्तरीय विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य अनुसन्धान र विपद् तथा आपत्कालिन स्वास्थ्य सेवामा उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्दै नेपाल प्रहरीको स्वास्थ्य सेवालाई आत्मनिर्भर, आधुनिक र दिगो बनाउन नेपाल प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गरी नेपाल प्रहरीको स्वास्थ्य सेवाको सुनिश्चितताको लागि भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने दीर्घकालीन लक्ष्य रहेको उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले चेन अफ कमाण्डमा आधारित अनुशासित संगठनमा प्रभावकारी कार्यसम्पादन, अनुशासन र संस्थागत प्रगतिका लागि स्थापित आदेश तथा नियन्त्रण प्रणाली र कमाण्डको श्रृंखलामा अक्षुण्णता कायम रहनु अपरिहार्य हुने र यसलाई अझ सुदृढ एवम् प्रभावकारी बनाउँदै संगठनको उद्देश्य प्राप्तिमा योगदान पुर्‍याउन सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो । समारोहमा संवैधानिक आयोगका प्रमुखहरू, महान्यायाधिवक्ता, पूर्व मन्त्रीहरू, प्रतिनिधि सभाका सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति, गृहसचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य बिशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । यसैगरी ७१औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमर प्रहरी परिवारहरूसँग भेटघाट गर्नुका साथै अन्तरक्रिया समेत गर्नुभयो ।  

प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न
२०८३-०६-२६

काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रधानमन्त्री शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई पुरस्कार प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो । दीक्षित हुनु भएका प्रहरी निरीक्षकहरूले यस तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान, सीप पूर्णरूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्णरूपमा सक्षम हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । जिम्मेवारी प्रति जवाफदेहीता पनि महत्वपूर्ण पक्ष भएको र प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागु हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो, ‘सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’ दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूको असल कर्मले असल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्दै कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी संगठनको मर्यादा विपरित व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन समेत उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री शाहले समयको बदलावसँगै अपराधका स्वरूप र प्रवृत्तिहरू पनि बद्लिएको सन्दर्भमा अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानको लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरूरी रहेको बताउँदै नेपाल सरकार यसका लागि आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन तथा आफ्नो जिम्मेवारी पूरा गर्न सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । समारोहमा नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले तालिममा सर्वद्वितीय हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोख्रेल, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक विशाल पौडेल, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोपाल राई, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक राज कुमार जिटी, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक विकास कुमार धामीलाई पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले कवाज तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई ‘कुलानन्द विद्या पुरस्कार” समेत प्रदान गर्नुभयो । समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दीक्षित हुन लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गर्नुभयो । दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूले नेपाल प्रहरीको गौरवशाली विरासतलाई आत्मसात् गर्दै सक्षम, व्यावसायिक, प्रविधिमैत्री, निष्पक्ष र नागरिक केन्द्रित प्रहरी सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जा मात्र नभई यो नेतृत्व क्षमता, निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको चर्चा गर्दै दीक्षित प्रहरी अधिकृतहरूले आफ्नो पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै पनि सम्झौता नगरी व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अनुचित दवाबबाट माथि उठेर कानुनको निष्पक्ष कार्यान्वयन गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो । विशेषगरी महिला बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडित केन्द्रित दृष्टिकोणलाई सदैव प्राथमिकता राखी कार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले समयसँगै समाज, प्रविधि र सुरक्षा परिवेशमा आएको परिवर्तनले प्रहरी सेवाको स्वरूप र जिम्मेवारीमा पनि परिवर्तन ल्याएको उल्लेख गर्दै  नेपाल प्रहरीले यी बदलिदा चुनौतीहरू अनुरूप आफ्नो कार्यशैली, क्षमता र प्रविधिलाई निरन्तर अध्यावधिक गर्दै आएको बताउनुभयो । साइबर तथा डिजिटल अपराध देखि अन्तरदेशीय अपराध र विपद् व्यवस्थापन लगायतका नयाँ चुनौतीहरूको प्रभावकारी सामना गर्नु प्रमुख जिम्मेवारीको रूपमा रहेको बताउँदै नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा रूपान्तरण गर्न निरन्तर प्रयासरत रहेको बताउनुभयो । सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम वुद्धिमत्ताको विवेकपूर्ण प्रयोग सँगै मानवअधिकार, कानुनी प्रकृया र व्यावसायिक विवेकलाई केन्द्रमा राख्दै सेवा प्रवाह र कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी, परिणाममुखी बनाउनु संगठनको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।  समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो भने सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ जेठ २३ गतेबाट शुरू भएको उक्त तालिममा ८ महिला सहित कुल ७९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो । प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।दीक्षान्त समारोहमा सर्वोच्च अदालतका मुख्य रजिष्टार, नायव महान्यायाधिवक्ता, नेपाली सेनाका रथी, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।  

गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-१२-१६

काठमाडौं, गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, Artificial Intelligence and Advanced Analytics Cell, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा समेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो । प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने समेत उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाको लागि उच्चतम प्रयोग गर्न समेत उहाँले जोड दिनुभयो । विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोत युक्त बनाउनुका साथै समयानुकुल आवश्यक तालिमहरूको समेत व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवम् वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै सांगठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकुल प्रविधिमैत्री एवम् साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न कठिनाइहरूका बाबजुद प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न गराउन प्रत्येक प्रहरी कर्मचारीले निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गर्नुभयो । साथै निर्वाचनको समयमा नेपाल प्रहरीले प्रदर्शन गरेको सक्षमताले नेपाल प्रहरीले जस्तोसुकै परिवेशमा पनि कार्यसम्पदान गर्न सक्षम रहेको पुष्टि समेत गरेको उहाँले बताउनुभयो । विगतको भन्दा फरक शैलीमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ छिटिछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै सत्य, सेवा, सुरक्षणमको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आइरहेको बताउनुभयो । प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षाहरू वास्तविक रूपमा सम्बोधन हुने उल्लेख गर्दै संगठन र संगठनमा आबद्ध जनशक्तिको क्षमता, दक्षता, मनोबल अभिवृद्धि सँगै साधनस्रोतको उपलब्धताका साथै गृहमन्त्रीज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनले अत्यन्तै उत्साहित बनाएको बताउनुभयो । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी संगठन र संगठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको बताउनुभयो । प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, प्रविधिमैत्री, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव क्रियाशील रहेको बताउँदै नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृहमन्त्रीज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभयो । जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री गुरूङ समक्ष प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पदित कामहरू, प्राप्त वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकश अर्यालद्वारा केन्द्रीय निर्वाचन सेलको निरीक्षण
२०८२-११-२०

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय निर्वाचन सेल र कमाण्ड सेन्टरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।  निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले केन्द्रीय निर्वाचन सेलबाट सबै जिल्लास्थित निर्वाचन सेलबाट भइरहेको कामकारबाही एवम् गतिविधि बारेमा जानकारी समेत लिनुभयो । साथै उहाँले प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरीले प्रयोग गरेको विभिन्न प्रणाली सम्बन्धी जानकारी समेत लिनुभयो । सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सेलबाट भइरहेको कामकारबाहीको प्रशंसा गर्दै आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गराउन थप सक्रिय भई कार्य गर्न निर्देशन दिनुभयो । साथै निर्वाचनको समयमा हुन सक्ने चुनौतीको सामना गर्न समेत अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाली सेनाका रथी प्रदिपजंग केसी, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो । प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन नेपाल प्रहरीले Election Management Information System (EMIS) प्रणाली प्रयोगमा ल्याएको छ । उक्त प्रणालीमार्फत प्रदेश, जिल्ला र स्थानीय तह सम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीको जनशक्ति visualization गर्न सकिन्छ । निर्वाचनसँग सम्बन्धित क्रियाकलापलाई Online Computerized Election Management System मार्फत छिटो छरितो ढंगबाट सम्पन्न गर्ने तथा आवश्यकता अनुसारको रिपोर्ट तयार गर्नु यस प्रणालीको मुख्य उद्देश्य रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित एवम् छिटो बनाउन नेपाल प्रहरीले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ । प्रविधिमैत्री सुरक्षा व्यवस्थापन अन्तर्गत EMIS प्रणालीको प्रयोगबाट देशभरका सबै मतदानस्थलको सुरक्षा व्यवस्थापन बारेमा नेपाल प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट नै निगरानी गर्न सकिने र आवश्यकता अनुसार कमाण्ड सेन्टरबाट नै आवश्यक निर्देशन दिन सकिनेछ । यसले निर्वाचनको समयमा मतदानस्थलको सुरक्षालाई थप मजबुत बनाउन सहयोग गरेको छ ।’ यसैगरी देशभर एआई फिचर सहित जडान भएका ७ सय ८६ वटा सिसिटिभिबाट निर्वाचन सुरक्षा व्यवस्थापन सम्बन्धी गतिविधिहरू कमाण्ड सेन्टरबाटै नै प्रत्यक्ष निगरानी हुनेछ । ७ वटा सीमा नाकाका २२ वटा, काठमाडौंभित्र मुख्य चेकप्वाइन्ट, चोक गरी ७ सय वटा तथा काठमाडौं बाहिर विराटनगर र वीरगंजमा ६४ वटा सिसिटिभि जडान गरिएको छ । सिसिटिभि क्यामेरामा एआई फिचर सहितको Face recognition, Automatic Number plate recognition, Behavior Analysis, Smart AI Feature लगायतको विशेषता रहेको छ ।  प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणालीको सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारको लागि सुरक्षा तयारीलाई प्राथमिकतामा राखिएको छ । देशभरका मतदानस्थल वरिपरि जडान गरिएका सिसिटिभि क्यामेराको कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी गरी मतदानस्थलको गतिविधि अवलोकन गर्नुका साथै मतदानस्थललाई सुरक्षित राख्न समेत आवश्यक सुरक्षा रणनीति तर्जुमा गरिएको छ ।’ यस्तै नेपाल प्रहरीले निर्वाचन सुरक्षा लक्षित Real Time Video Surveillance Camera सहितको रेडियो सेट संवेदनशील मतदानस्थलहरूमा वितरण गरेको छ । यसबाट पनि मतदानस्थलको गतिविधहरू सिधै कमाण्ड सेन्टरबाट प्रत्यक्ष निगरानी हुनेछ । सबै मतदानस्थलहरूमा संचार सम्पर्क हुने गरी संचार साधनको उचित व्यवस्थापन गरिएको छ । साथै कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी हुने गरी आवश्यकता अनुसार मतदानस्थल वरिपरि सुरक्षा व्यवस्थापनको अनुगमन गर्नको लागि ड्रोनको प्रयोग समेत गरिने छ । यस्तै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलले सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना (Misinformation/Disinformation) सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । सेल मार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयमा परिचालित साइबर प्रहरीबाट यस्ता गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन कार्य भइरहेको छ ।

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न
२०८२-११-११

काठमाडौं, अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रमबीच केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकिकृत रूपमा कार्य गर्नुपर्ने बताउनुभयो । यसअघिको बैठकमा गरिएका निर्णयहरू सक्रिय रूपमा कार्यान्वयन भइरहेको चर्चा गर्दै राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारको लागि गरिएका प्रयासहरूलाई समेत अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै राजस्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमता अनुरूप सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । प्रविधि, जनशक्ति, कानूनी सुदृढिकरण र अन्तर निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।  प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिका सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले राजस्व परिचालन र चुहावट सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । बैठकमा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् जिल्ला प्रहरी कार्यालयहरू मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखहरूसँग राजस्व चुहावट तथा तस्करी नियन्त्रणका सम्बन्धमा गरिएका प्रयासहरूका बारेमा भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । साथै बैठकमा सीमा नाकामा जडान भएका सिसिटिभिहरूबाट त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी समेत लिइएको थियो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृहसचिव, अर्थ मन्त्रालयका सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन
२०८२-११-११

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले उक्त सेलको अवलोकन गर्नुका साथै त्यसबाट सम्पादन हुने काम, प्रयोग र उपयोगीता लगायतका विभिन्न गतिविधि बारेमा जानकारी समेत लिनुभयो ।  उद्‌घाटन समारोहमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।  वर्तमान समयमा बढ्दै गइरहेको साइबर अपराध, गलत सूचना तथा मिथ्या सूचना (Misinformation/Disinformation), संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियान जस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा थप चुनौती थपिदै गइरहेको अवस्थामा Generative AI, Large Language Models (LLMs), Machine Learning, Predictive Analytics तथा Automation मा आधारित विश्लेषण प्रणालीको प्रयोग बिना अबको सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसक्ने परिप्रेक्ष्यमा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत उच्च प्रविधियुक्त, रणनीतिक तथा भविष्य उन्मुख संरचना “Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC)” स्थापना गरिएको हो । कृत्रिम बुद्धिमत्तको संस्थागत अवलम्बन तथा सुदृढीकरण, Proactive Intelligence तथा Early Warning प्रणाली विकास, Cognitive security तथा सूचना-हेरफेर नियन्त्रण, Cyber तथा Digital Crime Intelligence सुदृढीकरण, AI-Assisted Investigation तथा Judicial-Grade Digital Evidence प्रणाली विकास, AI Misused Detection तथा Defensive Capability विकास र Descriptive, Diagnostic, Predictive तथा Analytical प्रणाली विकास तथा विस्तार गर्नु यस सेल स्थापनाका मुख्य उद्देश्यहरू रहेका छन् ।  नेपाल प्रहरीले यस एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना (Misinformation/Disinformation) सम्प्रेषण भएको ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘आम नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । सामाजिक सञ्जालको दुरूपयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय छ ।’ कानूनको पालना गरी असल नागरिकको परिचय दिन समेत उहाँले सबै आम नागरिकहरूलाई आग्रह गर्नुभयो ।