प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन

२०८२-०४-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।

निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झट रहित बनाउनुपर्नेमा जोड दिँदै शिष्ट आचरण एवम् व्यवहारका साथ सेवाग्राहीको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । 

गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारवाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताउनुभयो । लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतिको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो । आफ्नो व्यवहार र आचरणलाई शिष्ट बनाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नागरिकलाई केन्द्रमा राखेर उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन, सुविधा सहितको पूर्वाधारहरू र प्रविधियुक्त बनाउनेतर्फ गृहमन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उहाँले बताउनुभयो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको  थियो । 

कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको बिदाइ
२०८२-०७-२६

काठमाडौं, गृहमन्त्री ओम प्रकाश अर्यालले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई शुभकामना सहित बिदाइ गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री अर्यालले ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले अवकाश पछिको दिनमा पनि प्रहरी संगठनलाई सुदृढ गर्न एवम् देशको आन्तरिक सुरक्षालाई सुदृढ गर्नको लागि योगदान दिनुहुनेछ भन्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।   कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले ३० वर्ष प्रहरी सेवामा रहेर नेपाल र नेपाली जनतालाई पुर्‍याउनु भएको अमुल्य योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रहरी महानिरीक्षक खापुङ्गले प्राप्त गरेका अनुभव समेत प्राप्त भइरहने अपेक्षा रहेको बताउँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत उहाँले दिनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्दै नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका साथै मन्त्रालयबाट भएको समन्वय, सहकार्य र सद्‌भाव प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता - गृहमन्त्री ओमप्रकाश अर्याल
२०८२-०६-३०

काठमाडौं, ३१ असोज, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै उहाँले उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिनुभयो । ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताउनुभएको हो ।  समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो । सो अवसरमा गृहमन्त्री अर्यालले सुनसरी इनरूवा नगरपालिका-१ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार बेदराज भण्डारीकी छोरी वेनिका भण्डारी र मोरङ रतुवामाई नगरपालिका-५ का अमर प्रहरी स्वर्गीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको छोरा निखिल ठाकुरलाई अच्युत-मिना अमर प्रहरी पुरस्कार तथा बैतडी शिवनाथ गाँउपालिका-२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका-५ का अमर प्रहरी जवान राम बहादुर साउदको छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोति कला मिथिला अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो ।   सो अवसरमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०८२” को लोकार्पण एवम् नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको “प्रहरी स्मारिका, २०८२” को लोकार्पण समेत गर्नुभयो । ‍  समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबको बाबजुद हरेक विषम परिस्थितिलाई प्रहरी संगठनले दृढतापूर्वक सामना गर्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको चर्चा गर्दै आमनागरिक र राज्यले सामना गरेका हरेक विषम परिस्थितिमा निस्वार्थ सेवाभावका साथ प्रभावकारी कार्यसम्पादन गरेको बताउनुभयो । निष्पक्ष अनुसन्धान र प्रचलित कानुनको कार्यान्वयन कानुनी राज्यका आधार भएको र निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनको साथै राज्यमा दण्डहीनताको अन्त्य समेत गर्ने उल्लेख गर्दै नेपाल प्रहरीले कुनै स्वार्थ तथा शक्तिको प्रभाव र दबाबमा नपरी आचरण, व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार गर्दै निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । गृहमन्त्री अर्यालले वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू बढ्दै गएको र अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै त्यस्ता अपराधहरूको नियन्त्रण, रोकथाम तथा सफल अनुसन्धान गर्न नेपाल प्रहरी हरदम तयार हुनुपर्ने बताउनुभयो । साथै बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहना अनुरूप उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्न उहाँले प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालय सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री अर्यालले शहादत प्राप्त अमर प्रहरी कर्मचारीहरूको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, पूर्व आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल, गृहसचिव रामेश्वर दंगाल, सशस्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य बिशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी नेपालको संविधान प्रचलित ऐन कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सांगठनिक रूपमा पूर्णत निष्ठावान रहदै आएको बताउनुभयो । हालको राजनीतिक परिवर्तनको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले विमुख नभएको र विमुख हुने कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै सांगठनिक सुदृढीकरण, आधुनिकीकरण र स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग जोडिएको हुँदा यी विषयहरू नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीलाई आजको स्थिति सम्म आइपुग्न हाम्रा सत् प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपबाट सहयोग पुर्‍याउनुहुने अग्रज प्रहरी कर्मचारीहरू, विभिन्न संघ संस्थाहरू तथा सर्वसाधारण नागरिकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-१७

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team को अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोत साधन र तालिमको कमिका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको चर्चा गर्नुभयो । सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उहाँले उपस्थित कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्कता र भावी योजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-०२

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो ।गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन-जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धीहरूको संरक्षणका लागि रचनात्मक योगदान पुर्‍याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो । अत्यन्त सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, ‘ आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आम जनताको दैनिकीमा अत्यन्त ठूलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने बताउनुहुँदै कानुन बमोजिम कर्तव्य पालनाको क्रममा उच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आम जनताहरूमा प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनर्स्थापना, प्रहरी कर्मचारीहरूको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै नेपाल सरकार एवम् गृहमन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढिकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयासहरू हुने उहाँले उल्लेख गर्नुभयो । प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षाहरू सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवम् सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।         कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभयो । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले हालको स्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुने सुरक्षा चुनौतीहरू एवम् असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकहरूलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउँदै नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको बताउनुभयो । नेपालको संविधान, प्रचलित ऐन कानुन तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको काम कर्तव्य र दायित्व प्रति नेपाल प्रहरी पूर्णत निष्ठावान रहि आफ्नो जिम्मेवारी बहन गर्दै आएको बताउँदै नेपालको फौजदारी कानुनी प्रणालीमा आधारित रहि अपराध अनुसन्धानलाई परिणाममूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक रहि कार्यसम्पादन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले देशको राजधानी लगायत ठुला शहर तथा महानगरहरूमा अर्बान पुलिसिङ्का लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा उपकरण र केही कानुनी अधिकारहरूले सुसज्जित हुन नितान्त जरूरी रहेको उल्लेख गर्दै समग्र नेपाल प्रहरीको आधुनिकीकरणमा हुने विलम्बले आम नागरिकमा राज्यका संरचनाहरू प्रतिको भरोसा प्रभावित हुने र देशको आन्तरिक सुरक्षाको मेरूदण्ड कमजोर हुने बताउनुभयो । राज्यले सुम्पेको जिम्मेवारी बहन गर्ने आफ्नो मूलभूत दायित्वबाट नेपाल प्रहरी कहिलै बिमुख नभएको एवम् जनअपेक्षा अनुरूपको सेवा प्रवाहको लागि आवश्यक भौतिक स्रोत साधन र पूर्वाधार तथा नवीनतम् प्रविधिका साथसाथै वर्तमान परिपेक्षमा प्रहरी कर्मचारीहरूको हौसला र मनोबल अभिवृद्धिलाई अत्यन्त महत्वका साथ सम्बोधन गर्नुपर्ने संवेदशील घडीलाई तालुक मन्त्रालयबाट उच्च प्राथमिकताका साथ सम्बोधन हुने अपेक्षा राखेका उहाँले बताउनुभयो । युवा पुस्ताले चाहना गरेको परिवर्तनको लहरमा आफ्नो स्वार्थ सिद्ध गर्न, राज्यको ऐतिहासिक धरोहरहरू, महत्वपूर्ण प्रतिष्ठानहरू, निजि तथा सार्वजनिक सम्पत्तिहरू, व्यापारीक प्रतिष्ठानहरू लगायतमा पुर्‍याइएको क्षतिमा संलग्नहरूको पहिचान एवम् अनुसन्धान गरी कानुन बमोजिम कारवाहीको दायरामा ल्याई आम नागरिकको मनमा कानूनी राज्य र कानूनको शासनको प्रत्याभूति दिलाउन हामी सफल हुनेछौ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अर्याल समक्ष प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित
२०८२-०५-१९

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव दुवाडीले नेपाल सरकारले कार्यक्षमता, कार्यदक्षता, जेष्ठता लगायतका आधारमा उच्च मुल्याङ्कन गर्दै नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक खापुङ्गलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खापुङ्गको कार्यकालमा सरकारले राखेको अपेक्षा पुरा हुने विश्वास व्यक्त गर्दै कार्यकाल पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।गृहसचिव दुवाडीले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन तथा सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न एवम् सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको चर्चा गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु नै हामी सबैको कर्तव्य रहेकोले प्रहरी महानिरीक्षकले आफ्नो कार्यकालमा नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै आम नागरिकमा अझ राम्रो छाप बसाल्न तथा सकल दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई संगठनको लक्ष्य एवम् उद्देश्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  समाजको गतिशीलता र प्रविधिको विकास सँगै आपराधिक गतिविधिमा पनि नयाँ नयाँ ढंगको प्रवृत्ति बढिरहेको अवस्थामा ती सबै आपराधिक गतिविधिलाई नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्नु जरूरी रहेको बताउँदै गृहसचिव दुवाडीले भन्नुभयो, ‘ यसको लागि कुशल, दक्ष, सक्षम, उन्नत र गतिशील प्रहरीको आवश्यकता पर्दछ । तपाईको कार्यकालमा उल्लेखित विशेषतामा बढोत्तरी कायम गर्न तपाई र तपाईको सम्पूर्ण टिम सफल हुनुहोस् । अपराध अनुसन्धानमा कुशलता देखाउन सफल हुनुहोस् । भनसुन, चलखेल र पक्षपात हुन्छ भन्ने भाष्यलाई चिर्न सफल हुनुहोस् र नेपाल प्रहरी भनेको निष्पक्ष, पारदर्शी, विश्वासिलो, कानूनको पूर्ण परिपालना गर्ने व्यावसायिक संगठन हो भन्ने भावना जागृत गर्दै नतिजा देखिने गरी काम गर्न तपाई र तपाईको टिम सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु’ । उपलब्ध भएका सीमित स्रोतसाधन, जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गरेर सीमिततालाई अवसरको रूपमा बदल्न समेत प्रहरी महानिरीक्षक सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    गृहसचिव दुवाडीले साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्न जरूरी रहेको र यसका लागि चुस्त दुरूस्त सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले प्रहरी संगठनको कार्यसम्पादनमा सदैव अभिभावकीय भूमिका निर्वाह गर्नुका साथै सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । गृह प्रशासन सदैव नीति, विधि र पद्धति बमोजिम संचालित रहेको र गृह मन्त्रालय अन्तर्गत मातहत निकायहरूले नीति, विधि र पद्धति अन्तर्गत निर्वाह गरेका हरेक कामको गृह मन्त्रालयले अपनत्व लिने र त्यही अनुसार सबै निकाय संचालित होस् भन्ने अपेक्षा र विश्वास लिएको उहाँले बताउनुभयो ।   उक्त अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी पूर्ण निष्ठा, पेशागत अनुशासन, पारदर्शीता र सेवा भावका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी महानिरीक्षक पद व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा सफल हुने भन्दा पनि संस्था सफल हुनु अपरिहार्य रहेको र त्यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्ने बताउनुभयो । समग्र नेपाल प्रहरी संगठनको श्रीवृद्धि गर्दै नागरिकमैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रहनुका साथै आफ्नो कार्यकालमा संगठन र आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको हितका खातिर समर्पित हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । हेरक नागरिकले पेशागत व्यावसायिक, प्रभावकारी, नागरिकमैत्री र सेवामूलक नेपाल प्रहरीको अपेक्षा राखेको उल्लेख गर्दै आम नागरिकको सुझाव, सहकार्य र पृष्ठपोषणलाई आत्मसाथ गरी राज्य प्रतिको भरोसा र विश्वासमा अभिवृद्धि गर्दै लोककल्याणकारी राज्यको अनुभुति गराउन नेपाल प्रहरीले उच्च व्यावसायिक निष्ठा सहित आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले नेपालको संविधानको मर्म अनुरूप प्रभावकारी कानून कार्यान्वयन, विधिको सासन र आम नागरिकका संवैधानिक हक तथा अधिकारको प्रत्याभूति, सुरक्षा, सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउनुभयो । अपराधमा बढ्ढो प्रविधिको प्रयोगले नयाँ नयाँ चुनौति देखा परेको र यसको सामना गर्न परम्परागत शैलीले भन्दा अपराध अनुसन्धानमा क्षमताको अभिवृद्धि गर्नुपर्ने जरूरी रहेको उहाँले बताउनुभयो । संगठनमा विधि र पद्धतिको पालना आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले यस संकल्पमा तालुक गृह मन्त्रालय र सहकर्मीहरूबाट साथ एवम् सहयोगको अपेक्षा समेत गर्नुभयो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ्गले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । तेह्रथुम जिल्लाको साविक मोराहाङ-५ हाल मेन्छयायेम गाउँपालिका वडा नम्बर ६ मा पिता ललित बहादुर खापुङ्ग र माता गंगामाया खापुङ्गको कोखबाट वि.सं. २०२७ मंसिर २३ गते जन्मनु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गका श्रीमती भावना श्रेष्ठ खापुङ्ग र २ छोराहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक खापुङ्गले वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक खापुङ्ग २०६४ साउन १ गते प्रहरी नायव उपरीक्षक, २०७३ पुस १३ गते प्रहरी उपरीक्षक, २०७७ वैशाख १७ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८० वैशाख ६ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । मास्टर अफ आर्ट ईन जेन्डर स्टडिजमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक खापुङ्गले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, प्रोग्राम अन क्यापासिटी बिल्डिङ फर क्राइम प्रिभेन्सन् स्ट्राटेजी डेभलपमेन्ट, एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोग्राम, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, स्ट्याबिलिटी पुलिस युनिट हाई लेभल कोर्ष, बेसिक इन्टेलिजेन्स ट्रेनिङ, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, वर्कसप अन चिल्ड्रेन ईन आर्म्ड कन्फ्लिक्ट, अपराध अनुसन्धान लगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग प्रवल जनसेवा श्री र गद्दी आरोहण रजत पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा जिल्ला प्रहरी कार्यालय म्याग्दी, सशस्त्र प्रहरी गण नम्बर २, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, महानगरीय प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी गण मुख्यालय नेपालगंज बाँके, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, अञ्चल प्रहरी कार्यालय धौलागिरी, महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, इलाका प्रहरी कार्यालय धरान सुनसरी, महानगरीय प्रहरी वृत्त दरबारमार्ग, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार, महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौं, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं अन्वेषण योजना तथा विकास शाखा, जिल्ला प्रहरी कार्यालय बागलुङ, प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनौट महाशाखा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेमा जिम्मेवारी निर्वाह गर्नुभएको   थियो । प्रहरी नायव महानिरीक्षकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र कोशी प्रदेश प्रहरी कार्यालयको कमाण्ड  गर्नुभएका खापुङ्ग २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको कमाण्ड समेत गर्नुभएको थियो ।

प्रथम महिला प्रहरी सम्मेलन सम्पन्न
२०८२-०५-०६

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा 'साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका' भन्ने मूल नाराका साथ संचालित दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुक्रबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ । समारोहमा गृहसचिव दुवाडीले विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउनु हुने महानुभाव तथा विभिन्न संघसंस्थाहरूलाई कदरपत्र, पुरस्कार एवम् प्रशंसापत्र प्रदान गर्नुभयो ।  समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तिकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको चर्चा गर्दै नेपाल प्रहरीमा पहिलो पटक देश भरका महिला प्रहरी कर्मचारीहरू, अवकाश प्राप्त महिला प्रहरी अधिकृतहरू, महिला सशक्तिकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावहरूलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदान प्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलनले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा सहभागी विषय विज्ञहरूको विज्ञता, विभिन्न अनुसन्धानको प्रतिवेदन प्रस्तुती, सहभागीहरूको विचार एवम् अनुभवको आदान प्रदान, अन्तर्क्रिया र छलफलबाट नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण, सल्लाह एवम् सुझाव प्राप्त भएको र लैङ्गिक संवेदनशील प्रहरी सेवाको सुदृढिकरणको लागि प्रभावकारी रणनीति तर्जुमा गर्नको लागि समेत यो सम्मेलन अत्यन्तै महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । गृहसचिव दुवाडीले सम्मेलनबाट जारी भएको घोषणापत्र तथा प्रतिवेदन अत्यन्तै गहन एवम् महत्वपूर्ण रहेको र यसको कार्यान्वयनको लागि विशेष आग्रह गर्नुका साथै सम्मेलनबाट प्राप्त विचार तथा निष्कर्षहरू आगामी दिनमा नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्तको रूपमा अबलम्वन गर्न आवश्यक रहेको बताउनुभयो । सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवले महिला प्रहरी कर्मचारीहरूको सशक्तिकरणमा मात्रै नभई नागरिक सेवा प्रवाहमा क्षमता अभिवृद्धि, समुदायमा विश्वास, संस्थागत सबलीकरण र सुदृढिकरणका साथै प्रहरी संगठनलाई थप न्यायिक, उत्तरदायी एवम् समाजमैत्री बनाउन समेत उल्लेखनीय योगदान पुर्‍याउने उहाँले बताउनुभयो । नेपाल प्रहरी संगठन सहित महिला प्रहरी कर्मचारीहरूको क्षमता विकास तथा दक्षता अभिवृद्धि, सक्रिय सहभागीता, प्रभावकारी नेतृत्व तथा समग्र वृत्तिविकासमा गृहमन्त्रालयले निरन्तर अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै सम्मेलनमा व्यक्त भएका विचारहरू, विभिन्न विषयमा विज्ञहरूको विश्लेषण, अनुसन्धान प्रतिवेदनका प्रस्तुतीहरू, सहभागीहरूको अनुभवको आदान प्रदान र अन्तर्क्रिया मार्फत नेपाल प्रहरीलाई महत्वपूर्ण पृष्ठपोषण तथा सुझावहरू प्राप्त भएको बताउँदै सम्मेलनबाट प्राप्त भएका सुझाव एवम निष्कर्षहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, ट्राफिक व्यवस्थापन लगायतका क्षेत्रमा समेत महिला प्रहरी कर्मचारीहरूले उल्लेखनीय कार्य गरेको चर्चा गर्दै आगामी दिनमा समेत उच्च मनोबल र थप जोश जाँगरका साथ नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीमा महिला प्रहरीका लागि अझ उत्कृष्ट अवसर र वातावरण सृजना गर्न संगठन सदैव गतिशील रहेको बताउँदै महिला प्रहरी कर्मचारीहरूको सशक्त भूमिका निर्माणका लागि मार्गनिर्देशन गर्न र प्रहरी सेवालाई समावेशी, व्यावसायिक एवम् जनमुखी बनाउन यस सम्मेलन कोशेढुंगा सावित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन आधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्मेलनबाट पारित गरिएको घोषणापत्र बारे जानकारी दिनुभएको थियो । सो अवसरमा त्रिभुवन विश्व विद्यालयका Department of Gender Studies का प्रा.डा. विन्दु पोखरेलले सम्मेलनको गहनता, आवश्यकता र औचित्यता सहितको मन्तव्य तथा सम्मेलनमा सहभागीहरूको तर्फबाट प्रहरी नायव निरीक्षक संगीता रसाइलीले आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रदेशस्थित सम्पूर्ण महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।   लैङ्गिक समानता र लैंङ्गिक न्यायलाई मूलप्रवाहिकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीय स्तरमा उक्त सम्मेलनको आयोजना गरिएको थियो ।