प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दिपक थापाद्वारा कर्णाली प्रदेश प्रहरी कार्यालय निरीक्षण

२०८२-०५-०९

  • A
  • A-
  • A+
Share

सुर्खेत, प्रहरी महानिरीक्षक दिपक थापाले सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण तथा अवलोकन गर्नुका साथै सो सम्बन्धी जानकारी समेत लिनुभयो । साथै उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण समेत गर्नुभयो । 

निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित स्रोत साधन र जनशक्तिको उच्चतम उपयोग गरी समग्रमा प्रदेशस्थित शान्ति सुव्यवस्था अमन चयन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक थापाले लागूऔषध कारोबार, सवारी दुर्घटना, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू प्रदेशमा चुनौतिको रूपमा देखापरेको बताउँदै यस्ता गतिविधिलाई न्यूनीकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम संचालन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुनुपर्ने, ट्राफिक व्यवस्थापनमा अझ शिष्ट व्यवहार प्रदर्शन गर्नुपर्ने तथा भीड नियन्त्रणमा धैर्यता एवम् थप संयमता अपनाई कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै कर्णाली प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली बचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी निरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही वहन गर्न निर्देशन दिनुभयो । सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवम् परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुने गरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, काननुनसम्मत र विभेदरहित ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन समेत उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायव महानिरीक्षक अरूण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । 

४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०२-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ ३ जना गरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ १२ जना गरी प्रहरी उपरीक्षक पदमा १३ जना, प्राविधिक प्रहरी  नायव उपरीक्षक पदमा १६ जना र प्राविधिक प्रहरी निरीक्षक पदमा १४ जना गरी कुल ४७ जनामध्ये ४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो । पदोन्नति भएका मध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरू हाल तालिमको सिलसिलामा कोरियामा रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो कार्यक्षेत्रमा प्रदर्शित लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सिर्जनशील, थप जवाफदेही र संवेदनशील भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मुल दायित्वमा जनपद तथा प्राविधिक समूहको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट संगठनले सकारात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरेको बताउनुभयो । पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा पनि बढ्दै जाने हुनाले त्यसतर्फ सचेत भई काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठानिक मूल्य मान्यतालाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धि हुने गरी दायित्व बहन गर्न उहाँले निर्देशन दिनुभयो । परिवर्तित परिस्थितिसँगै थप चुनौती र प्रहरीसँग नागरिकको अपेक्षा पनि बढिरहेको उल्लेख गर्दै निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी भई राज्यको असल प्रतिनिधिका रूपमा सांगठनिक छवि बढाउँदै कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।    सो अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण समर्पित भई संगठनको लक्ष्य प्राप्तीमा अझ उत्कृष्ट ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो । 

प्राप्त जिम्मेवारी इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-२०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कर्मचारीहरूले नवीनतम सोच एवम् थप सिर्जनशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले सांगठानिक शुद्धीकरण एवम् सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी बहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी योजनाबद्ध, पारदर्शी, समयसापेक्ष एवम् नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरू चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको क्षमता विकासका साथै समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । विगतमा भएका कमी कमजोरीलाई विश्‍लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा  एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । 

सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम समुद्‌घाटन
२०८३-०२-१९

मोरङ, नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम समुद्‍घाटन भएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलको प्रमुख आतिथ्यता तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमबीच उक्त तालिमको समुद्‍घाटन भएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शीता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तर निकाय समन्वय अपरिहार्य रहेको   बताउनुभयो । प्रहरीले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन तथा लागूऔषध ओसारपसार, आपराधिक लाभ, ठगी जस्ता अपराधहरूको सफल अनुसन्धान गर्न प्रमाण संकलन, वित्तीय विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभयो । साथै तालिमले सहभागी प्रहरी अधिकृतहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञानमा अभिवृद्धि भई भविष्यमा यस्ता अपराधको प्रभावकारी नियन्त्रण तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले तालिमको महत्व सम्बन्धी जानकारी दिनुभएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाल, नेपाल राष्ट्र बैंकका निर्देशक शरण कुमार अधिकारी लगायतका पदाधिकारीहरू,  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुखहरू, प्रहरी अधिकृतहरू लगायत प्रशिक्षार्थीहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिने छ । वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने छ । ५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागीता रहेको छ ।

Integrated Traffic Management System सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न
२०८३-०२-१८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकामा Integrated Traffic Management System सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Traffic Police Mirror-2026 को लोकार्पण गर्नुभयो । साथै उहाँले उक्त Traffic Police Mirror निर्माणमा सहयोग पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले गोष्ठी अत्यन्त महत्वपूर्ण एवम् समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको उल्लेख गर्दै गोष्ठीले नीति निर्माणकर्ता, कार्यान्वयन गर्ने निकाय, विज्ञ, सरोकारवाला संस्था तथा समुदायलाई एउटै मञ्चमा भेला भएर सामुहिक प्रयासमा सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सफल भएको   बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गरी अझ उच्चस्तरको समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्धता र कार्यान्वयनको आवश्यकता रहेको  बताउनुभयो । सबै सरोकारवाला निकायहरूले वैज्ञानिक ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षालाई थप व्यवस्थित बनाउँदै नियम तथा कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शीता एवम् प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने तर्फ उहाँले जोड दिनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले Traffic Police Mirror प्रकाशनको औचित्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक विज्ञ सुनिल पौडेलले  Integrated Traffic Management System सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो भने Profession Holdings प्रा.लि. का निर्देशक राजेन्द्र प्रसाद त्रिपाठीले गोष्ठीको औचित्य सम्बन्धी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीको आजै बिहान शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उद्‌घाटन गर्नुभएको थियो । गोष्ठीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सडक विभाग, सडक सुरक्षा परिषद्‍, सडक बोर्ड नेपाल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, थापाथली ईन्जिनियरिङ क्याम्पस, Nepal Automobile Importers and Manufacturers Association (NAIMA), क्रिमशन टेकका प्रतिनिधिहरूले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।   तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, बहु-निकाय समन्वय मार्फत दिगो समाधान तथा अन्तर्राष्ट्रिय अभ्यासको जानकारी लिने उद्देश्यले उक्त उच्चस्तरीय कार्यशाला आयोजना गरिएको हो । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप र जाम व्यवस्थापनका लागि दीर्घकालीन रणनीति, सडक दुर्घटना न्यूनीकरण तथा मृत्यु दर घटाउन बहु-आयामिक प्रभावकारीता, सवारी आयात, लाइसेन्स प्रणाली, स्क्र्याप नीति, Ride-sharing नियमन लगायत नीतिगत सुधार, Intelligent Traffic System (ITS), E-Challan, ANPR, CCTV जस्ता प्रविधिको विस्तार र समन्वित प्रयोग र NRSAP 2021-2030 को लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।गोष्ठीमा Integrated Traffic management system, Smart Intelligent Traffic, Face less Traffic management system, २० वर्षभन्दा पुराना सवारीको स्क्र्याप नीति कार्यान्वयन, वैज्ञानिक लाइसेन्स प्रणाली, Vehicle Fitness सुदृढीकरण तथा ब्ल्याक स्पट सुधार, सवारी आयात नीति पुनरावलोकन, Ride-sharing नियमन, Bluebook डिजिटल एकीकरण तथा बहु-निकाय समन्वय संयन्त्र स्थापना, Intelligent Traffic System (ITS) विस्तार, E-Challan तथा TVRS सुदृढीकरण र डेटा आधारित निर्णय प्रणाली विकास, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि, Post-Crash Response तथा Emergency Management प्रणाली सुदृढीकरण लगायतका विषयमा विस्तृत छलफल भएको थियो । 

गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा विपद् व्यवस्थापनमा भएका उल्लेखनीय कार्यहरू
२०८३-०२-१३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा भएका विभिन्न प्रयासहरू अन्तर्गत गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानुनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन् । सो अवधिमा देशभरबाट ४ हजार ६ सय ६६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ । उक्त अवधिमा गाँजा २२ हजार ६ सय २० किलो, चरेस ४ सय ४३ किलो, खैरो हेरोइन १९ किलो, पोलेन १४ किलो, अफिम १६ किलो तथा नाइट्राभेट ३५ हजार ९ सय ३ ट्याब्लेट, डाइजेपाम २४ हजार ३ सय ८७ एम्पुल, फेनारगन ३५ हजार ४ सय ५७ एम्पुल, ब्रुप्रेनोर्फिन २३ हजार ६ सय ९६ एम्पुल, लुपिजेसिक ४२ एम्पुल, स्पास्मो ६९ हजार ८७८ ट्याब्लेट, ट्रामा ६ लाख ८२ हजार १ सय ५८ ट्याब्लेट, प्रोमेथाजाइन १ हजार ७४ ट्याब्लेट समेत बरामद भएको छ ।  सो अवधिमा ११ हजार १ सय ९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ४ हजार ४ सय ७० वर्ष कैद सजाय कार्यान्वयनमा आएको र १ अर्ब १० करोड ३८ लाख ९४ हजार ६ सय २५ रूपैयाँ बराबरको जरिवाना असुल उपर गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा ३ अर्ब ११ करोड ५२ लाख ६३ हजार ३ सय १० रूपैयाँ बिगो रकम दाबी सहित १ सय ३ जना प्रतिवादी विरूद्ध कानुनी कारबाही गरिएको छ । करिब १ अर्ब रूपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, हुण्डी, स्रोत नखुलेको रकम लगायतका राजश्व चुहावटका गतिविधिमा संलग्न ७ सय ५८ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ ।यसैगरी अवैध हातहतियार तथा विष्फोटक पदार्थ सहित १ सय २७ जनालाई पक्राउ गरिएको छ । जसबाट ६ सय १५ थान हतियार सहित ठूलो परिमाणमा गोली, बारूद, डेटोनेटर, PEK लगायतका विष्फोटक पदार्थहरू बरामद भएका छन् । साइबर अपराधका ५८ मुद्दा दर्ता गरी विद्युतीय माध्यमबाट ठगी भएको ८ करोड ८५ लाख ३१ हजार ६ सय ७० रूपैयाँ पीडितलाई फिर्ता दिलाइएको छ । मानव बेचविखन तथा ओसारपसार अपराधमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । सो अवधिमा देशभर ज्यान सम्बन्धी कसुरका ४ हजार २ सय ३७, आत्महत्या सम्बन्धी ३ हजार ४ सय १४, चोरी सम्बन्धी २ हजार ५९, संगठित तथा आर्थिक अपराध सम्बन्धी ४ हजार ५ सय ४०, सामजिक अपराध सम्बन्धी ५ हजार ४ सय ६५, महिला तथा बालबालिका सम्बन्धी १ हजार ९ सय ३५, सवारी सम्बन्धी १ हजार ४ सय ८० र विविध ७ हजार १ सय ४६ गरी कुल ३० हजार २ सय ७६ मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको छ । यस्तै सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी ८२ हजार २ सय १७ वटा जनचेतनामूलक कार्यक्रम संचालन भएको छ । जसबाट ४५ लाख ५६ हजार ८ सय ९२ जना लाभान्वित भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार १ सय ३९ सवारी साधनलाई कारबाही गरी ४९ करोड ९१ हजार ४ सय ६३ रूपैयाँ राजश्व संकलन गरिएको छ । नेपालभरका राजमार्ग तथा सिमानाकामा गरी १९ वटा स्थानमा Traffic Communication App (TCA) संचालनमा रहेको, देशभरका ७७ वटै जिल्लाका २ सय २८ वटा युनिटमा Traffic Violation Record System (TVRS) संचालन भइरहेको साथै नागरिकको सुविधालाई मध्येनजर गरी देशव्यापी रूपमा Echallan (Digital Chit) लागु गरिएको छ । सो अवधिमा देशभर विभिन्न स्थानमा भएका ४ हजार २ सय ६ विपद्का घटनाहरूमा २३ हजार ४ सय ८४ जना प्रहरी परिचालित भई २ सय १३ जना नागरिकहरूको उद्धार समेत गरिएको छ । देशभर विभिन्न स्थानमा भएका बन्द, हडताल लगायतका बिरोध कार्यक्रमको सुरक्षार्थ ५९ हजार ६२ जना प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्थापन गरिएको छ । साथै नेपाल प्रहरीद्वारा काठमाडौं उपत्यका सहित देशभरका विभिन्न स्थानका सुकुम्बासी एवम् भूमिहीन नागरिकहरूको व्यवस्थापन कार्यमा आवश्यक सहजीकरण गरिएको छ ।