प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट बडा दसैं मौलो पूजा सम्पन्न

२०८२-०६-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडा दसैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक खापुङ्गले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।  

सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।   


सम्बन्धित समाचार
पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०७-१७

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै परम्परागत सोचाइ र शैलीलाई समयानुकूल परिवर्तन गरी आ-आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवम् कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै विगतमा भएका घटनाहरूको विश्लेषण गर्दै अझै परिष्कृत रूपमा उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । साथै आगामी दिनमा देखापर्न सक्ने चुनौतीहरूलाई मनन गरी सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै प्रचलित कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले सांगठनिक अपेक्षा, भरोसा र विश्वासलाई कायम राखी संगठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट किरिया पुत्री भवन शिलान्यास
२०८२-०७-१७

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार आयोजित एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताउनुभयो । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायव उपरीक्षक वुद्धि सागर पुरीले भवन निर्माणको उद्देश्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।    नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौं महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकले निर्णय गरेको थियो । 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‍घाटन
२०८२-०७-१४

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले कास्की पोखरा महानगरपालिका-६ सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको शुक्रबार उद्‌घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यम मार्फत उक्त पेट्रोल पम्पको उद्‍घाटन गर्नुभएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्पले गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने बताउनुभयो ।   प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की एवम् कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जीवी प्रताप महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक खापुङ्गबाट प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन उद्‍घाटन
२०८२-०७-११

भक्तपुर, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविन जंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रूपैयाँ २२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी, स्थानीयबासीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।    

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन
२०८२-०७-०२

नवलपरासी पूर्व, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोतीको आइतबार एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्पले प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरूलाई गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसाल एवम् नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भविश्चर पाण्डेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जिवी महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल १० करोड ९८ लाख ८ हजार ९ सय ६६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यतामा २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
२०८२-०७-०२

चितवन, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको “स्मृतिकुन्ज” पुस्तक समेत विमोचन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रशिक्षणको अवधिमा मेहनत, लगन र त्यागबाट आर्जन गरेको आधारभूत ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा कुनै पनि लोभ, लालच, भय र त्रासबाट मुक्त रही अन्यायमा परेका पीडित र संकटमा परेका नागरिकको सेवा गर्दै राष्ट्र सेवामा प्रखर रूपमा प्रस्तुत हुन उहाँले दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले जस्तो सुकै परिस्थितिमा पनि नेपाल प्रहरीले अग्रपंक्तिमा रही उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै कठिन घडीमा पनि आम नागरिकलाई सेवा र सुरक्षा दिलाउनुका साथै विगतका त्रुटिहरूको विश्लेषण गर्दै विचलित नभई कानुन बमोजिम गर्नुपर्ने कारवाहीमा व्यावसायिक दृढताका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सुरक्षा एक अनुभूति भएको र आम नागरिकले प्रहरी प्रति बनाएको धारणाले सुरक्षामा गहिरो अर्थ राख्ने उल्लेख गर्दै प्रहरीको कर्म र धर्म नै नागरिक सेवा र सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गरी असल आचरण र बोली वचन सहित पूर्ण व्यावसायिक भई जनअपेक्षा अनुरूप कर्तव्य निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो ।तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक ९ गतेदेखि संचालित उक्त तालिममा ५३ जना महिला सहित कुल ३ सय ७७ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।  उक्त समारोहमा चितवन जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश दयाराम ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका पदाधिकारीहरू विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, प्रशिक्षार्थीहरुका अभिभावक तथा परिवारजनहरू, समाजसेवी, संचारकर्मीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।