प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०८२-१०-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ माघ २  गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहनुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको सेवा, व्यवसायिक समर्पण, अनुशासन र निष्ठाको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतीसँगै पदिय दायित्व र जिम्मेवारी समेत बढ्दै जाने हुँदा बढुवा संगै प्राप्त थप जिम्मेवारीमा आफुलाई अब्बल प्रमाणित गर्नुहुने छ भन्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई  शान्तिपूर्वक र भयरहित तरिकाले सम्पन्न गर्न सूचना सङ्कलनलाई प्राथमिकता दिई, सुरक्षा खतराहरूको पहिचान गरी थप सक्रिय र उर्जावान भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले प्राप्त जिम्मेवारीलाई व्यवसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
भरपर्दो सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-१०-०७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना संकलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो । अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी थप क्रियाशील भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । साथै हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाई कार्य गर्न तथा निर्वाचन प्रहरी छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

१६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-१०-०७

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ माघ ६ गते निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका १६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी उपरीक्षकहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार बिक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक भारती  रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो क्षमता, कार्यकुशलता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सृजनशील र परिणाममूखी भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचन एकदमै सन्निकटमा रहेको र यसले प्रहरीको भूमिका अन्य अवस्थाको भन्दा अझ बढेको उल्लेख गर्दै संगठनको साख बढाउने गरी सम्पूर्ण प्रहरी कर्मचारीहरूले प्राप्त जिम्मेवारीमा प्रखर रूपमा आफूलाई स्थापित गर्न निर्देशण दिनुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्राप्त जिम्मेवारीलाई उत्प्रेरित भई थप व्यावसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा हाम्रो प्रहरी कार्यक्रम सम्पन्न
२०८२-१०-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पाटन दरबार स्क्वायर ललितपुरमा सोमबार आयोजित विशेष समारोहबीच ‘हाम्रो प्रहरी : नेपाल प्रहरी’ कार्यक्रम-२०८२ सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिका वडा नम्बर १६ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।   समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुरक्षा अमनचयन कायम राख्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै अपराधरहित शान्तिपूर्ण समाज निर्माणका लागि नागरिक र प्रहरीको सौहार्दपूर्ण साझेदारी आवश्यक रहेको बताउनुभयो । कुनै पनि आपराधिक गतिविधिको सूचना प्रहरीलाई दिई अपराधीलाई ‍कानुनी दायरामा ल्याउन सबैले आ-आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई नागरिक प्रहरी सहकार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रहरी सदैव प्रयत्नशील रहेको उहाँले बताउनुभयो । ललितपुर महानगरपालिकाका ‍प्रमुख चिरीबाबु महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व र औचित्य बारे जानकारी दिनुभएको थियो ।  सो अवसरमा मदन कृष्ण श्रेष्ठ, किरण केसी, प्रमोद खरेल, दिपक बज्राचार्य, आस्था राउत, आनन्द कार्की, निशा देशार र यमनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरूले साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालय तथा कुटुम्ब ब्याण्डबाट संयुक्त रूपमा ब्याण्ड डिस्प्ले, प्र्याङ्क स्टार एलिश राईको टिमबाट लागूऔषध सम्बन्धी जनचेतनामूलक नाटक, नेवा नृत्य, चर्या नृत्यु तथा आमा म त खरानीबाट उठेर आए गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । 

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२ समापन
२०८२-१०-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ठमेलमा शनिबार आयोजित विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२’ को समापन भएको छ ।  सो अवसरमा समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बढ्दो शहरीकरणसँगै नेपालमा सवारी साधनको चाप बढेको र यसले सवारी दुर्घटनाको संख्यामा पनि वृद्धि हुँदै गएको उल्लेख गर्दै यस सचेतनामूलक अभियानले आगामी दिनमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा योजनाबद्ध रूपमा अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । प्रभावकारी ट्राफिक व्यवस्थापनको लागि प्रविधिको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकयाहरूसँग समन्वय र सहकार्य गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी, सामुदायिक सेवा केन्द्र कोटेश्वरका महासचिव पदम रेग्मी र राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ का क्रियाकलाप र यस अभियानको उपलब्धि बारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, यातायात व्यवसायीहरू, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   कार्यक्रममा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अवधिभरमा गरिएको विभिन्न कार्यक्रमहरूको सन्दर्भमा रहेर तयार पारिएको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा कलाकार मनोज गजुरेल, गायक थानेश्वर गौतम, गायिका आस्था राउत, जोन एण्ड द लोकल्स र प्र्याङ्क स्टार एलिश राईको टिमबाट साँस्कृतिक कार्यक्रमका साथै बालचन्द्र बराल र बबिता बानिया (जेरी) बाट लोक दोहोरी, नेपाल प्रहरी संगीत विद्यालयका कर्मचारीहरू, ट्राफिक प्रहरी कर्मचारीहरू र बालकलाकारबाट नृत्य समेत प्रस्तुत गरिएको थियो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सचेतनाको कमी र लापरवाहीले सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न तथा सडक सभ्यता अभिवृद्धि गर्ने उद्देश्यले यही पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन भएको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्बजनिक
२०८२-१०-०२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्बजनिक भएको  छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो । नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, संघर्ष, सेवाभावलाई सजिव रुपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरुले दिनानु दिन भोग्दै आएको संघर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निश्‍वार्थ सेवाको यथार्थ चित्रण सहितको भाव प्रस्तुत गरिएको छ ।गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उहाँले प्रत्यक्ष अवलोकन र अनुभूत गर्नुभएका विषयहरूलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायांकनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तवरले प्रस्तुत गरिएको छ । नवयुवा पुस्ताको आन्दोलन पश्‍चात खरानीबाट उठेर नागरीक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आम नागरिक प्रतिको कर्तव्य वोधलाई यस गीतले भावानात्मक रुपमा उजागर गरेको छ । यस गीतमा दिपक शर्माको संगीत, उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ्ग रहेको छ । गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सुर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदिप पट्टेल, कृतिका बस्नेत लगायतका कलाकारहरूले अभिनय गर्नुभएको   छ । मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायांकन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ । गीतको प्रदर्शनी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिती रहेको थियो ।

अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक : प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०९-२८

 काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको एकल प्रयासले मात्र नभई नागरिकसँगको साझा सहकार्य आवश्यक रहेको बताउनुभएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा भक्तपुरको दरबार स्क्वायरमा सोमबार आयोजित समारोह बिच ‘हाम्रो प्रहरी’ कार्यक्रम तथा ट्राफिक सप्ताह-२०८२ विशेषलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले समाजमा हुने कुनै पनि आपराधिक गतिविधिहरूको सूचना दिन तथा त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनको लागि सबै नागरिकहरूको आ-आफ्नो क्षेत्रमा उत्तिकै भूमिका रहेन उल्लेख गर्दै आजको यस सन्देशमूलक कार्यक्रमले सभ्य एवम् सुरक्षित समाज निर्माण गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगीताका विजयी छात्र-छात्राहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, कलाकारद्वय मनोज गजुरेल, कृष्ण कँडेल, पूर्व खेलाडी उपेन्द्रमान सिंह तथा रोटरी क्लब भक्तपुरका अध्यक्ष डिल्लीराम गिरीले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।   जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकृष्ण गोराले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले ‘हाम्रो प्रहरी’ कार्यक्रमको अवधारणा सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।