प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको समुपस्थितिमा निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

२०८२-११-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको समुपस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ : सुरक्षा व्यवस्थापन र सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ । 

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको सामना गर्न उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गरी कार्य गर्नुपर्ने  बताउनुभयो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सूचना संकलन तथा विश्लेषणलाई विशेष प्राथमिकतामा राखि तर्जुमा गरिएका सुरक्षा रणनीति एवम् कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । साथै विगतमा सम्पन्न भएका निर्वाचन सुरक्षाको विश्लेषण गर्दै आसन्न निर्वाचनमा समेत अझ प्रभावकारी सुरक्षा रणनीति अपनाई कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला सबै पक्षहरूले जिम्मेवारी बोध गर्दै सुरक्षा संवेदनशीलता अनुसार आपसी समन्वयात्मक ढंगबाट कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । यस अन्तरक्रियाबाट प्राप्त भएका सुझाव, प्रतिक्रिया एवम् पृष्ठपोषणले निर्वाचन सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

  प्रहरी महानिरीक्षक कार्कीले विगतमा सम्पन्न भएका निर्वाचनको सुरक्षा व्यवस्थापनको विश्लेषण गरी आसन्न निर्वाचन पूर्व र निर्वाचन पश्चातको सम्पूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न यस अन्तरक्रियाबाट प्राप्त रचनात्मक सुझाव सहयोगी हुने   बताउनुभयो । साथै विगतमा भएका त्रुटी एवम् कमीकमजोरीहरूको समेत विश्लेषण गरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन लक्षित सुरक्षा योजना/रणनीति अवलम्बन गरी प्रभावकारी प्रहरी परिचालन गरिएको उहाँले उल्लेख गर्नुभयो । निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, सामाजिक सञ्जाल मार्फत हुनसक्ने निर्वाचन विरोधी लगायतका क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय रूपमा परिचालन भइरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव आनन्द काफ्लेले निर्वाचनको समयमा देखा पर्न सक्ने जोखिम र चुनौतीहरूलाई सुक्ष्म रूपमा विश्लेषण गर्दै त्यस्ता चुनौतीलाई सम्बोधन गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । निर्वाचनको सन्दर्भमा नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति प्रशंसनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन समेत गृह मन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो ।   

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहोराले निर्वाचन सुरक्षा तयारी र आगामी रणनीति, जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधन व्यवस्थापन, सुरक्षा चुनौती/विश्लेषण लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो । 

आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गरी नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना तर्जुमा गर्दै प्रभावकारी कार्यान्वयनको लागि पूर्व तयारीका कार्यहरू अगाडि बढाइरहेको सन्दर्भमा विगतमा सम्पन्न निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका दिग्गज व्यक्तित्वहरू एवम् पूर्व वरिष्ठ प्रहरी अधिकृतहरूको अनुभव, व्यवहारिक ज्ञान तथा रणनीतिक सुझावहरूले निर्वाचन सुरक्षाको निम्ति महत्वपूर्ण आधार तय गर्ने भएकोले उक्त अनुभवलाई संस्थागत रूपमा समेटी निर्वाचन सुरक्षालाई थप प्रभावकारी, सुदृढ तथा परिमाणमुखी बनाउने अन्तरक्रियाको मुख्य उद्देश्य रहेको छ । 

सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
२०८३-०२-०१

काठमाडौं,  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक भएको छ ।   गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ ।यस गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ । किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ । साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका “आमा म त खरानीबाट उठेर आए” (प्रहरी कर्मचारीहरूको जोखिमपूर्ण जिम्मेवारी र निस्वार्थ सेवाभावमा आधारित मर्मस्पर्शी गीत), “फूलको बास्ना सरी” (प्रहरीका दुःख, भावना र जनताप्रति खटिने चाहना समेटिएको गीत) लगायत दशैं, तिहार, बाल र कमर्सियल गीतहरू समेत सर्वसाधारणले निकै रूचाएका थिए । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-३०

पर्सा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको समग्र क्षमता विकासमा भौतिक पूर्वाधारहरूको प्रमुख भूमिका रहने उल्लेख गर्दै भौतिक पुर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा गर्नुका साथै नवनिर्मित भवनले सेवाग्राही र प्रहरीको सम्बन्धलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । विशिष्टिकृत भवनको सञ्चालनसँगै महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको न्यायमा पहुँच स्थापित गर्न थप सहज भएको बताउँदै भवनबाट प्रवाह हुने सेवाहरू छिटोछरितोका साथै प्रविधिमैत्री, निष्पक्ष एवम् पारदर्शी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू अत्यन्त संवेदनशील वर्ग हुने भएकोले उनीहरूलाई प्रदान गर्ने सेवा, सुरक्षा, सहायताका साथै उनीहरूको समस्या सम्बोधनको लागि प्रहरी कर्मचारीहरू पनि त्यतिनै संवेदनशील हुन जरूरी रहेको बताउनुभयो । सभ्य र सुरक्षित समाज निर्माणमा सबैको सामुहिक प्रयास तथा सहकार्य आवश्यक रहेको चर्चा गर्दै नागरिकबाट प्राप्त साथ, सहयोग, समर्थन र सद्‍भावले प्रहरीलाई अझ उत्प्रेरित भई कार्य गर्न ऊर्जा प्राप्त भएको बताउनुभयो ।    पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको   थियो । UNOPS को सहयोगमा कुल २ करोड १ लाख ७४ हजार ४ सय ६ रूपैयाँ ५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा वीरगंज महानगरपालिकाका उपप्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-३०

बारा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुने विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनबाट प्रवाह हुने सेवाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्न सक्षम हुने उल्लेख गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू थप प्रविधिमैत्री, निष्पक्ष, पारदर्शी र कानुन सम्मत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै लागूऔषध कारोबार तथा सीमाजन्य अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन निर्मम रूपमा प्रस्तुत भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड ५१ लाख ४२ हजार ५ सय ३४ रूपैयाँ २८ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा Police Leadership and Staff Course समुद्‍घाटन
२०८३-०१-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 02) को समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक कार्कीले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्‍घाटन गर्नुभएको हो ।समारोहमा प्रहरी महानिरीक्षक कार्कीले Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course प्रहरी संगठनको संस्थागत विकास तथा आधुनिकीकरण एवम् नेपाल प्रहरीको व्यावसायिक रूपान्तरणमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । समाजमा देखापरेका विभिन्न नवीनतम् चुनौतीहरूको सम्बोधनको लागि सक्षम नेतृत्व तयार गर्न समेत यो कोर्स महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ यस कोर्स ग्रहण गर्न उहाँले आग्रह समेत गर्नुभयो ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसेले शुभकामना मन्तव्य तथा प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य एवम् Police Leadership and Staff Course सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, MPS का सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा सम्मान
२०८३-०१-२४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नैना एण्ड ईशान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरू विरूद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाडौं महानगरपालिका-२२ वटु बस्ने सञ्जिता शाक्यलाई सम्मान गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उहाँलाई कदर पत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।  काठमाडौं महानगरपालिका-२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उदेश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको पर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्‍वास तथा निर्वाह गर्नुभएको नागरिक दायित्वको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम् परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाउनु भएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गर्नुभयो । सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।   उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाको बारेमा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारूकताले कुनै पनि अपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ भनेर आम नागरिकहरूलाई सुसुचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको छ । साथै उहाँले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराध विरूद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्‍वास लिएको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-१९

नवलपरासी पूर्व, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन नागरिक र प्रहरीको साझा सम्पत्ति भएकोले यसको संरक्षण पनि नागरिक र प्रहरी दुबैको दायित्व भएको उल्लेख गर्दै शिष्ट बोलीबचन, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखि ट्राफिक व्यवस्थापन सम्बन्धी जनचेतामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिँदै नागरिकहरूलाई ट्राफिक नियमको पूर्णरूपमा पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्ण प्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारको विनियोजित बजेटबाट कुल ३ करोड २ लाख १२ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।  उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।