इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति फिलिपिन्सबाट पक्राउ
२०८२-१०-२८
- A
- A-
- A+
काठमाडौं, आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी काभ्रे ठेगाना भएका प्रकाश पाठक पक्राउ परेका छन् । एनसिबि मनिला, फिलिपिन्सको समन्वयमा फिलिपन्सबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ मंसिर १७ गते उनी विरूद्ध डिफ्युजन जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ । इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न एवम् अन्तर्राष्ट्रिय स्तरमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘अपराधमा संलग्न रही संसारको जुनसुकै कुनामा लुकेर बसेपनि त्यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिबद्ध रहेको छ । अपराधमा संलग्न रही फरार रहेका प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजी एवम् पक्राउको लागि इन्टरपोलसँग आवश्यक समन्वय गर्दै नेपाल प्रहरी अझ क्रियाशील भई कार्य गर्दै आइरहेको छ । साथै शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरी अझ सक्रिय भई विभिन्न सुरक्षा रणनीति समेत अवलम्बन गरी कार्यसम्पादन गर्दै आइरहेको छ ।’
चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ जना विरूद्ध रेड नोटिस र ३ जना विरूद्ध डिफ्युजन जारी भएको छ । जसमध्ये रेड नोटिस जारी भएका ८ जना र डिफ्युजन जारी भएका २ जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ । यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा ३४ जना विरूद्ध रेड नोटिस र २ जना विरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र ३ जना डिफ्युजन जारी भएका प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।