निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय: प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-११-२५
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले संगठनको समग्र श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताउनुभएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले निर्देशन सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारहरूको अभाव एवम् प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका चिन्तन एवम् आकांक्षाका वावजूद निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना एवम् जिम्मेवारीबोधका साथ प्रदर्शन गरेको उच्च व्यावसायिकता प्रशंसनीय रहेको बताउनुभयो । प्रतिकुल परिस्थितिका वावजूद मुलुकप्रतिको समर्पण भावका साथ आफूलाई तोकिएको जिम्मेवारीमा केन्द्रीत रहेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको व्यावसायिक भूमिका प्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरीको अथक सक्रियता र क्रियाशीलताको कारणले समाजमा शान्ति सुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी इलाकाको विस्तृत जानकारीहरू राखी योजनावद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्ने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरूले परिवर्तनलाई आत्मसात् गर्न जरूरी रहेको बताउँदै समयानुकूल अझ शिष्ट बोली, वचन र आचरणका साथै जनउत्तरदायी भई नागरिकहरूप्रति पूर्णरूपमा समर्पित भएर कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेशा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमानदारीता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवम् दृढ अनुशासन आवश्यक रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनीक लक्ष्य प्रति सदैव केन्द्रीत भई सामूहिक भावना एवम् भातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । निश्चिन्त भएर कानूनी रूपले प्रदत्त अधिकारहरू प्रयोग गर्दै आगामी दिनमा सम्पूर्ण प्रहरी कर्मचारीहरूले निष्ठावान्, इमानदार भई अझ उच्च अनुशासन एवम् व्यावसायिकता प्रदर्शन गर्दै कर्तव्य निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । संगठनको सुदृढीकरण र शुद्धिकरणको लागि आफू सदैव प्रयत्नशील रहने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा उक्त कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।