मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई शुभकामना तथा झण्डा हस्तान्तरण
२०८२-१२-०९
- A
- A-
- A+
काठमाडौं, संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल, मकालु हिमाल आरोहण गर्न त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आरोहणमा जान लागेका प्रहरी नायव निरीक्षक चौधरीलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
झापा शिवसताक्षी नगरपालिका-७ निवासी प्रहरी नायव निरीक्षक नन्दलाल चौधरी २०५५ सालमा प्रहरी जवान पदबाट सेवा प्रारम्भ गरी हाल जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत रहेका छन् । उहाँले २०८२ साल कात्तिक ५ गते सोलुखुम्बु जिल्लामा रहेको ६४७६ मिटरको मीरा पिकको सफल आरोहण समेत गर्नुभएको थियो ।