प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ

२०८२-१२-२५

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा सुन्दरीघाटबाट स्रोत नखुलेको नगद ७ लाख ८८ हजार रूपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ घर भएका ६० वर्षीय देव कुमार लामा, खोटाङ रूपाकोट मझुवागढी नगरपालिका-११ घर भएका ४३ वर्षीय पवन तामाङ, सर्लाही बागमती नगरपालिका-१० घर भएका ३९ वर्षीय ईन्द्र विक र सर्लाही बागमती नगरपालिका-६ घर भएका ३२ वर्षीय दिनेश विक रहेका छन् । ललितपुर सानेपा सुन्दरीघाटमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-१२-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने बझाङ घर भएका २१ वर्षीय नरेन्द्र बहादुर धमेना, ललितपुर, महालक्ष्मी नगरपालिका-४ बस्ने कैलाली घर भएका २७ वर्षीया दर्शना भण्डारी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रौतहट घर भएका ५० वर्षीय राजु प्रसाद कुसवाहा रहेका छन् ।पक्राउ मध्ये नरेन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख रूपैयाँ, दर्शनाले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र राजु प्रसादले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४५ लाख १६ हजार ८ सय ९१ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार र दर्शनालाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट तथा राजु प्रसादलाई काठमाडौं महानरपालिका-१ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाइन जुवा खेलाउने कार्यमा संलग्न ९ जना पक्राउ
२०८२-१२-२६

काठमाडौं, अनलाइन जुवा (सट्टेबाजी) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना भारतीय नागरिक र ६ जना नेपाली नागरिक गरी ९ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ललितपुरका विभिन्न स्थानमा अवैध रूपमा अनलाइन जुवा खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२३ हात्तिवनस्थित सिटी स्केप अपार्टमेन्टबाट उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ल्यापटप ८ थान, मोबाइल २४ थान, विभिन्न कम्पनीका भारतीय र नेपाली सिम कार्ड ३१ थान र क्याल्कुलेटर ३ थान समेत बरामद गरेको छ । उनीहरूले ३१ करोड २४ लाख ३४ हजार ९ सय २० रूपैयाँ ३२ पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

विद्युतीय कारोबार अन्तर्गत कसुर गरेको अभियोगमा ६ जना पक्राउ
२०८२-१२-२६

काठमाडौं, e-Government Procurement System मा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धनकुटा पाख्रीवास नगरपालिका-५ घर भएका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथली गाउँपालिका-३ घर भएका २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुर गाउँपालिका-१ घर भएका ३९ वर्षीय संजय भट्ट, काठमाडौं महानगरपालिका-३३ घर भएका ३५ वर्षीय भाष्कर राज अर्याल, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ घर भएका ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहवी नगरपालिका-५ घर भएका ६२ वर्षीय जीवन कुमार दास रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो तथा साइबर ब्यूरो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई ठेक्काहरूको विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गरेको खुल्न आएको छ ।  उनीहरू उपर संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-१२-२६

ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने झापा कमल गाउँपालिका-६ घर भएका ३३ वर्षीय सुमित नेम्वाङ र उनकै भाइ २५ वर्षीय सृजन नेम्वाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-९ भोलढोका बस्ने ३२ वर्षीय संजिव नेपाली र सोही महानगरपालिका-८ सुबहाल बस्ने नवलपरासी पूर्व घर भएका २१ वर्षीय गगन सुनार रहेका छन् । ललितपुर  महानगरपालिका-१२ कृष्ण मन्दिरस्थितमा बुधबार बेलुकी दुई पक्ष बीच विवाद हुँदा चक्कु प्रहारबाट घाइते भएका सुमित र सृजनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न संजिव र गगनलाई पक्राउ गरेको  हो । साथै प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको  १ थान चक्कु समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नागरिकता सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२५

काठमाडौं, नागरिकता सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कुलेश्‍वर बस्ने रौतहट घर भएका ५९ वर्षीय बाबुनन चौधरी कलवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत गौर रौतहटबाट २०८२ भदौ २ गते नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाईएको छ ।