विद्युतीय कारोबार अन्तर्गत कसुर गरेको अभियोगमा ६ जना पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
काठमाडौं, e-Government Procurement System मा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा पाख्रीवास नगरपालिका-५ घर भएका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथली गाउँपालिका-३ घर भएका २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुर गाउँपालिका-१ घर भएका ३९ वर्षीय संजय भट्ट, काठमाडौं महानगरपालिका-३३ घर भएका ३५ वर्षीय भाष्कर राज अर्याल, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ घर भएका ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहवी नगरपालिका-५ घर भएका ६२ वर्षीय जीवन कुमार दास रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो तथा साइबर ब्यूरो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुर्याई ठेक्काहरूको विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गरेको खुल्न आएको छ ।
उनीहरू उपर संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको छ ।