हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने झापा कमल गाउँपालिका-६ घर भएका ३३ वर्षीय सुमित नेम्वाङ र उनकै भाइ २५ वर्षीय सृजन नेम्वाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-९ भोलढोका बस्ने ३२ वर्षीय संजिव नेपाली र सोही महानगरपालिका-८ सुबहाल बस्ने नवलपरासी पूर्व घर भएका २१ वर्षीय गगन सुनार रहेका छन् । ललितपुर महानगरपालिका-१२ कृष्ण मन्दिरस्थितमा बुधबार बेलुकी दुई पक्ष बीच विवाद हुँदा चक्कु प्रहारबाट घाइते भएका सुमित र सृजनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न संजिव र गगनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको १ थान चक्कु समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।