अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-१२-२७
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४३ ट्याब्लेट र स्पास्पेन ४३ ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय उज्जल कार्की र कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय मिन कुमार चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ९७२६ नम्बरको हायसमा सवार उज्वललाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४३ ट्याब्लेट र स्पास्पेन ४३ ट्याब्लट तथा धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ७७९५ नम्बरको हायसमा सवार मिन कुमारलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० घुईयाघाट बस्ने ३४ वर्षीय जगदिश राना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।