प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्घाटन
२०८३-०१-३०
- A
- A-
- A+
बारा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुने विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनबाट प्रवाह हुने सेवाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्न सक्षम हुने उल्लेख गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू थप प्रविधिमैत्री, निष्पक्ष, पारदर्शी र कानुन सम्मत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै लागूऔषध कारोबार तथा सीमाजन्य अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन निर्मम रूपमा प्रस्तुत भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड ५१ लाख ४२ हजार ५ सय ३४ रूपैयाँ २८ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।