अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०२-२४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ४० ट्याब्लेट सहित धनुषा घर भएका ३७ वर्षीय अर्मान राईनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६४८९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ भगवती स्कुल छेउबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय संजय कुमार सिंह र २७ वर्षीय त्रिमणी बज्रचार्य रहेका छन् । अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ मंगलबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ९० मिलिग्राम सहित कनकाई नगरपालिका-३ बस्ने ३२ वर्षीय रमेश मुसहर ऋषिदेवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-८ फूलबारी टोल बस्ने २१ वर्षीय सबिन धिमाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम र नगद २५ हजार ७ सय ४० रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले सबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडा बिचुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय कृष्ण रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित झापा शिवसताक्षी नगरपालिका-११ बस्ने ४७ वर्षीय अशोक कुमार बोगटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५९ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-८ बेलुवा डेरा गरी बस्ने बारा घर भएकी २५ वर्षीया सेहेरा खातुनलाई अवैध लागूऔषध गाँजा करिब २२ किलो ८ सय ५२ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-७ गोलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय निश्चल गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चालक केशवलाई १४ ग्राम ७ सय २० मिलिग्राम र मोटरसाइकलमा सवार निश्चललाई ९ ग्राम ४ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।