प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३-०२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका-३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार कार्की, ललितपुर महानगरपालिका-१३ बस्ने रामेछाप घर भएका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखा घर भएका ४२ वर्षीय निरज गुरूङ र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने पर्सा घर भएका ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन् ।

पक्राउ मध्ये हुम बहादुरले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८८ लाख ७० हजार रूपैयाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, रबिन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ११ लाख ५६ हजार रूपैयाँ र रिन्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हुम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोकेन्द्रलाई काठमाडौं महानगरपालिका-७ बाट र तोरण कुमारलाई काठमाडौं महानगरपालिका-४ बाट सोमबार, रबिन्द्रलाई ललितपुर पुल्चोकबाट र निरजलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार तथा रिन्कु कुमारीलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट शनिबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
२०८३-०३-३२

लमजुङ, कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोर्दी गाउँपालिका-१ बस्ने ३० वर्षीय बिजय लामिछाने र चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ४३ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।  बेसीशहर नगरपालिका-८ तामाङ टोल शेरा बस्ने ५७ वर्षीय बुद्धि बहादुर बोहरा असार २५ गते सोही नगरपालिका-१ आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले बिजयलाई पक्राउ गरी सोधपुछ गर्दा बुद्धि बहादुरलाई काठको दाउरा प्रहार गरी हत्या गरेको एवम् मृतकले लगाएको सुनको सिक्री र औंठी चोरी गरेको खुल्न आएको थियो । साथै बिजयले उक्त सुनको सिक्री र औंठी चितवन भरतपुर महानगरपालिका-२१ स्थित दिपकले संचालन गरेको मौलाकालिका सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएपछि प्रहरीले उक्त पसल तलासी गर्दा चोरी भएको सुनको सिक्री र औंठी फेला पारी दिपकलाई समेत पक्राउ गरेको हो ।  उनीहरू उपर कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएका ४२ वर्षीय दर्ज बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा २२ वर्ष कैद सजाय कायम भई कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानीको लागि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।  पक्राउ मध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।