वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०३-०१
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० बस्ने ललितपुर कोन्ज्योसोम गाउँपालिका-२ घर भएका ३३ वर्षीय श्याम चौलागाई, ललितपुर गोदावारी नगरपालिका-६ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-६ घर भएका २० वर्षीय सुजन घतानी विक, काठमाडौं महानगरपालिका-१६ बस्ने बाँके राप्ती सोनारी गाउँपालिका-८ घर भएका ४३ वर्षीय यामराज खत्री र काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका ३३ वर्षीय सरद कुमाई रहेका छन् ।
पक्राउ मध्ये श्यामले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ, सुजनले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख ४० हजार रूपैयाँ, यामराजले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र सरदले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम र सुजनलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट, यामराजलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार तथा सरदलाई ललितपुर महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।