प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
२०८३-०३-१६
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक अनोज भण्डारी, सर्वद्वितीय एवम् प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. राज कुमार श्रेष्ठ, सर्वतृतीय एवम् कवाज प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक बसन्त समाल मगर, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. ज्योति शर्मा, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर सार्की र चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्दलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘सङ्कल्प’ को विमोचन समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक आधारभूत तालिम सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जिवनको शुभाकामना समेत दिनुभयो । नेपाल प्रहरीमा प्राविधिक समूहले अपराध नियन्त्रण एवम् अनुसन्धान, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका संगठनको मुख्य जिम्मेवारीका क्षेत्रहरूमा अतुलनीय सहयोग पुर्याउँदै आएको चर्चा गर्दै तालिमबाट आर्जन गरेको पेशागत ज्ञान, सीप र कौशललाई सम्पूर्ण प्रशिक्षार्थीहरूले मन, वचन र कर्मले आ-आफ्नो कार्यक्षेत्रमा लागु गर्दै उच्चस्तरको कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । राज्यले सुम्पेको जिम्वारीलाई कुशलतापूवर्क वहन गर्न सक्ने दक्ष तथा योग्य जनशक्ति उत्पादनको लागि प्रतिष्ठान सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २१ गतेबाट संचालित १०० दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक २८ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।