अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०३-१७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१३ बाफलबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली घर भएका २० वर्षीय युवराज खत्री समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २६ हजार ७ सय १० ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र डाईजेपाम ३ एम्पुल सहित चितवन इच्छाकामना गाउँपालिका-३ घर भएका ३९ वर्षीय कृष्ण गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ लम्साल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय निशान भण्डारी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-१० तेलकानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिपुल शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-११ कालिका सिमसारस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २८ वर्षीय आकाश माङ्मु लिम्बु तुम्बापो र २७ वर्षीय देबी प्रसाद बस्नेत रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१८ गिठेपानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बडहरा बस्ने ३० वर्षीय सुरेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहरीबाट खटिएको प्रहरीले रा.१ ह ५०५२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक सुरेशलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित बेदकोट नगरपालिका-७ बसन्तपुर बस्ने २९ वर्षीय अजय डगौरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ग्राम सहित भीरकोट नगरपालिका-४ छाङछाङदी बस्ने ३९ वर्षीय राम काजी घर्ताङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख ८३८ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५० ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-६ बस्ने ३४ वर्षीय जिवन बिक्रम बुढालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सप्तरी, बोदेबरसाईन नगरपालिका-२ गौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम २ सय ३० मिलिग्राम सहित खडक नगरपालिका-५ खोजपुर बस्ने ६२ वर्षीय अमिन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००५ प २८८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-२ थारू चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीया रूपमनी चौधरी समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बझाङ, जयपृथ्वी नगरपालिका-६ नौरा बस्ने ३२ वर्षीय बिमल कुमार सिंहलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३५ ग्राम ७ सय ८० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
डडेलधुरा, अजयमेरू गाउँपालिका-१ मदुराड बस्ने ४५ वर्षीय सन्तोष भण्डारीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ७१ ग्राम ४ सय ६० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखराबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-९ भुतबंगलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ७ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-८ बस्ने भारत बिहार घर भएका ३० वर्षीय गुड्डु आलमलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ कुनवारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६२ मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अर्जुन राजभरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ४ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरील पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भूमे गाउँपालिका-२ बस्ने ४० वर्षीय बिरोध बुढा र रोल्पा थवाङ गाउँपालिका-२ बस्ने ३१ वर्षीया जानपुरा झाक्री मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट खोपीचारबाट खटिएको प्रहरीले लु.प्र-०१-०११ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।