अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०४-०१
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र फेनारगन ७ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टेकु बस्ने दोलखा घर भएका ३० वर्षीय केदार कुसुले र काठमाडौं कीर्तिपुर बस्ने २५ वर्षीय किशान कुसुले रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-६ आईतबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वर कुमार कार्की रहेका छन् । इलाका प्रहरीले कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले अशोकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले अशोकले प्रयोग गरेको को.१७ प ८३२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-६ सिम्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिम्ले बस्ने २४ वर्षीय शिवलाल किस्कु सतार र २३ वर्षीया रूबिना महरा रहेका छन् । अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित भारत उत्तर प्रदेश दिनाजपुर बस्ने २८ वर्षीय अविजित रोईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ३०२६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने २१ वर्षीय उज्जल चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-९ बस्ने ३५ वर्षीया पार्वती गुरधामीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ७२ ग्राम ९३ मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बलियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अमित चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनिबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २७ ट्याब्लेट सहित औरही नगरपालिका-६ बस्ने २० वर्षीय महेश प्रसाद यादव समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खयरबनि समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ बिएफ ३६६१ नम्बर र प्र.२-०२-००५ प ३३३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।