अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ
२०८३-०४-०४
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकु दोवानपुल नजिकबाट नियन्त्रित लागूऔषध टपेन्डाडोल २४ हजार ७ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रूपडिया उतर प्रदेश ठेगाना भएका २५ वर्षीय राज सोनि, बाँके घर भएका १९ वर्षीय निखिल सोनि र सुर्खेत घर भएका १९ वर्षीया शोफिया मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि आक्रमण गरी भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा राज सोनि घाइते भएका थिए । घाइते राजको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप पिपलबोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ९ सय २० ट्याब्लेट सहित सोही नगरपालिका-१४ डेरा गरी बस्ने कीर्तिपुर नगरपालिका-९ पागादोबाटो घर भएका ३९ वर्षीय अनिल देउलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनले प्रयोग गरेको बा.७० प ७८०० नम्बरको स्कुटर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा ट्रामाडोल ३ हजार ७ सय ७६ ट्याब्लेट, डाइजेपाम सेट ३८५ एम्पुल समेत गरी १ हजार १ सय ५५ एम्पुल र नगद १ लाख ४० हजार १ सय ६५ रूपैयाँ समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-२९ डिल्लीबजार हाईटबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ किलो ७ सय २० ग्राम र नगद १ लाख २५ हजार ८ सय २५ रूपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएका ५४ वर्षीय श्याम खत्री र काठमाडौं महानगरपालिका-२९ न्यू प्लाजा बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४८ वर्षीय बसन्त थापा रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले श्यामको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-७ मित्रपार्कबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ९० ग्राम र पोलेन करिब ३ सय ७८ ग्राम सहित काठमाडौं मित्रपार्क बस्ने ३२ वर्षीया पुजा डंगोललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।
झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय अजय सहनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-१ हवल्दार चोकस्थित टपरी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम १ सय ५० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-४ पालिका टोल बस्ने ३५ वर्षीय पुर्ण कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित इटहरी नगरपालिका-९ बसपार्क बस्ने २१ वर्षीय संगम श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १२ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय उमङ्ग राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिगेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७८ ट्याब्लेट र डाइक्लोमाइन ८२ ट्याब्लेट सहित रामधुनी नगरपालिका-७ बस्ने २३ वर्षीय समिर चौधरी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-७ टिकरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र बुप्रेनोर्फिन १९ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका-११ देबी नगर बस्ने ४६ वर्षीय रमेश योगी र रोहिणी गाउँपालिका टिकर बस्ने ३५ वर्षीय साहिल अन्सारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.७ प २०२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१० मंझरिया चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ८० एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्हीनन्दन गाउँपालिका-६ लङ्गडी पाकड बस्ने २६ वर्षीय विश्वजित गिरी र सोही गाउँपालिका-६ रगरगंज बस्ने ३६ वर्षीय दिनेश केवट रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले युपि ५६ एच १०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहा, कर्जन्हा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र नगद ५ हजार ७ सय ४० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कर्जन्हा नगरपालिका-११ डेरा गरी बस्ने सोही नगरपालिका-९ घर भएका २४ वर्षीय अवधेश महरा र ३१ वर्षीय सुनिल महरा रहेका छन् । प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-३ गोदावारीस्थित मार्वल डाँडाबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४४ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-४ बागडोल बस्ने २२ वर्षीय सम्बोधन थापा, गोदावारी नगरपालिका-१४ बस्ने २१ वर्षीय संदिप महत्तो र महालक्ष्मी नगरपालिका बस्ने २० वर्षीया सफिसा महर्जन रहेका छन् । थप अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका-२५ फुलबारी मार्ग डेरा गरी बस्ने मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ घर भएका २८ वर्षीय तिर्थ बहादुर थोकरको कोठा तलासी गर्दा पोलेन करिब २ किलो ७ सय ९३ ग्राम र डिजिटल तराजु १ थान सहित फेला पारी तिर्थलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनिबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट सहित सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खयरबनि समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-२ लालभित्ति चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश खड्का समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट र स्पास्मो ४० ट्याब्लेट सहित सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ३७ वर्षीय संदिप खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-५ बस्ने मधु सुधन पुलामी र २८ वर्षीय निश्चल केसी रहेका छन् । प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ समेतबाट खटिएको प्रहरीले बिपि चोकबाट त्रिभुवन चोकतर्फ जाँदै गरेको बा.१७ च १४२२ नम्बरको कार जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक मधु र कारमा सवार निश्चललाई पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय नरेश चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित लमजुङ बेशीशहर नगरपालिका-१ बस्ने २६ वर्षीय बुद्धी बहादुर आलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.५ ख २२९५ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।