चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०४-०६
- A
- A-
- A+
काठमाडौं, सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ नारायणथान बस्ने मोरङ लेटाङ नगरपालिका-५ घर भएका २१ वर्षीय दिपेश लिम्बु, काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-१ घर भएका १९ वर्षीय अमर भन्ने अर्मस लामा र ललितपुर महालक्ष्मी नगरपालिका-५ इमाडोल बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय अजय लामा रहेका छन् ।
काठमाडौं महानगरपालिका-६ पशुपति मार्गस्थितबाट गत जेठ २९ गते सुनचाँदीका गरगहना र नगद तथा काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित कान्ति बाल अस्पतालको पार्किङबाट गत असार ३० गते स्कुटर चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।