ठगीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०४-०६
- A
- A-
- A+
काठमाडौं, अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरू छुटाईदिने भनि ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने उदयपुर कटारी नगरपालिका-८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिम सुनौल नगरपालिका-७ तर्गौली घर भएका ५९ वर्षीय गोपाल कुमार गुरूङ र काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका ५२ वर्षीय नारद प्रसाद खतिवडा रहेका छन् ।
अध्यागमन विभाग कालिकास्थानको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकहरूलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका अन्य १५ वटा राहदानी समेत झिकाईदिने भनि ९ लाख रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।