सूचना प्रविधि निर्देशनालय - परिचय
पृष्ठभूमि (Background)
नेपाल प्रहरीलाई सूचना प्रबिधिको युग संगै समयानुकुल बनाई नेपाल प्रहरीको कार्य प्रकृति अनुरुपको विभिन्न क्षेत्रहरुलाई कम्प्युटराईज्ड गरी प्रहरीको काम कारवाहीलाई छिटो छरितो र परिणाममुखी बनाउने अभिप्रायले २०४३।०७।०८ मा कम्प्यूटर शाखाको स्थापना गरिएको थियो । शाखाको रुपमा स्थापना हुंदै २०४७ सालमा थप दरबन्दी सहित महाशाखाको रुपमा तथा २०६७ सालमा कम्प्यूटर निर्देशनालयमा स्तरवृद्धि भई २०७५ सालमा सूचना प्रविधि निर्देशनालयमा नामाकरण भए अनुरुप कार्य सम्पादन गर्दै आएको छ ।
समाजमा अपराधिक घटना घट्न नदिन, अपराध रोकथाम नियन्त्रण गर्न सूचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सूचनालाई प्रहरी संगठनको मेरुदण्डको रुपमा लिइन्छ । विश्वका अन्य मुलुकका प्रहरी संगठनहरुले झै नेपाल प्रहरीले पनि सूचना प्रविधिको व्यापक प्रयोग गरीएको छ ।
अपराधिक गतिविधिलाई नियन्त्रण गर्न, अपराध अनुसन्धान गर्न तथा शान्ति सुरक्षा कायम गर्नका साथै बैज्ञानिक ढंगबाट दुरुस्त अभिलेख राखेर अपराध अनुसन्धानकर्ताहरुको लागि अपराध अन्बेषण गर्न, अपराध सम्बन्धी सूचनालाई व्यवस्थित तरिकाले सञ्चय गर्न, अपराधिक घटनाहरुको तथ्याङ्कीय प्रतिवेदन प्रशोधन गर्न तथा अन्य विभिन्न थरीका सूचनाहरुको विश्लेषण गरी शुद्ध र छिट्टो नतिजाहरु प्राप्त गर्न सूचना प्रविधि निर्देशनालयले ठुलो योगदान पुर्याएको छ ।
साथै प्रदेश, जिल्ला तथा अन्य इकाइहरुमा छरिएर रहेका कम्प्यूटरहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयबीच नेर्टवर्क स्थापना गरेर एकिकृत गरी केन्द्रीय डाटावेशसंग Link गराएर ब्यवस्थापकीय सूचना प्रणाली (Management Information System) विकास र कार्यान्वयन गर्ने जस्ता विभिन्न कार्यहरु संचालन तथा सम्पादन गर्न सूचना प्रविधिको अधिकतम् प्रयोग गरिएको छ ।
परिचय
सूचना प्रविधिको आजको युगमा नेपाल प्रहरीलाई पनि सूचना प्रबिधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकुल बनाई सूचना प्रबिधिमा भएका बिकासक्रम संगै आवश्यकतानुसार नेपाल प्रहरी लाई सोही अनुरुप परिमार्जित गर्दै सो को उच्चत्म प्रयोग गर्ने अभिप्रायले नेपाल प्रहरीमा गठन भएको सूचना प्रविधि निर्देशनालयबाट स्थापनाकाल देखि नै नेपाल प्रहरी संगठनको लक्ष्य प्राप्तिको लागि सूचना प्रबिधिको क्षेत्रमा आवश्यकतानुसारको योगदान पुर्याउदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक कम्प्यूटर तथा सो संग सम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्रदान गर्ने, खरिद भई आएका उपकरणहरुको चेक जांच गरि सो को सुरक्षित भण्डारण गर्ने, प्राथमिकताको आधारमा माग भई आए अनुसार विभिन्न प्रहरी कार्यालयहरुमा कम्प्यूटर र अन्य उपकरणहरु वितरण गरि सो को नियमित अनुगमन गर्ने कार्य यस निर्देशनालयले गर्दै आईरहेको छ । यसका अलावा विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार सो कार्यालयहरुका लागि आवश्यक Software तयार गर्ने र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कम्प्यूटर सम्बन्धी विभिन्न तालिमहरु संचालन गरी कम्प्यूटर सम्बन्धी आवश्यक ज्ञान र शीप प्रदान गर्ने कार्य समेत यस निर्देशनालयबाट गरिदै आएको छ ।
सूचना प्रविधि निर्देशनालयको काम कर्तव्य र अधिकार
- नेपाल प्रहरीमा सूचना प्रविधिको प्रयोग र विद्युत्तिय सूचना सुरक्षा सम्बन्धी नीति, नियम, रणनीति, योजना एवं कार्ययोजना तर्जुमा तथा कार्यान्वयन,
- निर्देशनालयको सङ्गठनात्मक व्यवस्थपान (आन्तरिक व्यवस्थापन, अभिलेख व्यवस्थापन, मानव संसाधन व्यवस्थापन)
- नेपाल प्रहरीको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग सम्बन्धमा विभाग, निर्देशनालय, महाशाखा, शाखा र कार्यालयहरूको सूचना प्रविधिसँग सम्बन्धित प्रणाली र उपकरणहरूको सुपरिवेक्षण, अनुगमन, नियमन तथा निर्देश
- नेपाल प्रहरी प्रधान कार्यालय, मातहत कार्यालयहरू र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय एवं प्रदेश प्रहरी बीच सूचना प्रविधि विषयमा आवश्यक समन्वय र सहकार्य
- नेपाल प्रहरीलाई आवश्यक सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधार, उपकरण, प्रणाली, संजाल र विद्युत्तिय माध्यममा रहेको सूचना सुरक्षाका प्रणालीको आवश्यक व्यवस्थापन, संचालन र सो सम्बन्धी तालुक कार्यालय समक्ष आवधिक प्रतिवेदन
- सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधार, उपकरण, प्रणाली, संजाल र विद्युत्तिय माध्यममा रहेको सूचना सुरक्षाका व्यवस्थापन सम्बन्धी बजेट तर्जुमा तथा सोको सम्बन्धित ऐन र नियमावली बमोजिम उचित कार्यान्वयन
- नेपाल प्रहरीका र प्रदेशबाट माग/अनुरोध भई आएको खण्डमा प्राविधिक प्रहरी कर्मचारीहरूलाई सूचना प्रविधि, साईबर अपराध अनुसन्धान सम्बन्धी प्रशिक्षण, व्यवस्थापन तथा क्षमता विकास
- नेपाल प्रहरीको आवश्यकता बमोजिम विभाग, निर्देशनालय, व्यूरो, महाशाखा, शाखा एवं नेपाल प्रहरीका अन्य इकाईहरूमा प्राविधिक सर्वेक्षण गरी त्यहाँको आवश्यकता पहिचान गरी प्राथमिकताको आधारमा सूचना प्रणाली विकास र आवश्यक पूर्वाधार एवं उपकरण जडान
- नेपाल प्रहरीमा एकिकृत सूचना प्रणालीको विकास र व्यवस्थापन
- नेपाल प्रहरीको आवश्यकता अनुरूप सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधार, उपकरण, प्रणाली, संजाल र विद्युत्तिय माध्यममा रहेको सूचना सुरक्षाका प्रणालीहरू खरिद गर्नुपर्दा उपयुक्त किसिमको स्पेसिफिकेसन तयार गरी खरिद गर्नाको लागि सम्बन्धित निकायसँग समन्वय कायम गरी आवश्यक कार्य गर्ने तथा खरिद गरिएका उपकरणहरू चेकजाँच, भण्डारण तथा वितरणको व्यवस्थापन
- प्रहरी संगठनको विभिन्न कार्यालयहरू तथा अन्य सम्बन्धित निकायहरूसँग सूचना आदान प्रदान गर्न उपयुक्त व्यवस्थापकिय सूचना प्रणाली विकास गर्ने तथा तथ्याङ्क सूचनाको सुरक्षा र गोपनीयता व्यवस्थापन
- अन्तराष्ट्रिय जगतमा विकास भई प्रयोगमा रहेको सूचना प्रविधिको अध्ययन गरी नेपाल प्रहरीलाई आवश्यक आर्थिक तथा प्राविधिक रूपमा उपयुक्त प्रणाली अवलम्बन गर्न सुझाव पेस गर्ने साथै सूचना प्रविधिको क्षेत्रमा सल्लाह/परामर्श
- कानुन बमोजिम तोकिएका अन्य कार्य