नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८३-०५-०४
- A
- A-
- A+
काठमाडौं, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री बादीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघले वर्ष भरी गरेका सामाजिक मानव कल्याणकारी एवम् परोपकारी कार्यहरूका साथै अन्य विविध समसामायिक विषयहरूमा आधारित लेख रचनाहरू समेटेर प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८३” को विमोचन समेत गर्नुभयो ।
उक्त अवसरमा मन्त्री बादीले सेवा नै धर्म हो भन्ने आदर्शलाई आत्मसात् गर्दै निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुहुने समाजसेवी एवम् प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक अध्यक्ष पुष्पा बस्नेत, KIN INDIA का निर्देशक नविन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाडी पलेशा गोवर्धन, प्रहरी जवान सहाना बोहरा र राष्ट्रिय बक्सिङ खेलाडी प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा मन्त्री बादीले बद्लिँदो सामाजिक आवश्यकता र समयको माग अनुसार आफ्नो सेवाको दायरालाई निरन्तर फराकिलो बनाउँदै नेपाल प्रहरी श्रीमती संघ सामाजिक उत्तरदायित्व, सेवाभाव र निरन्तर योगदानको सशक्त उदाहरणको रूपमा स्थापित भएको बताउनुभयो । नेपाल प्रहरीले कर्तव्य निर्वाह गर्ने सिलसिलामा उहाँहरूको परिवारले देखाएको धैर्यता, साहस, मौनता र त्याग उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी परिवारका सदस्यहरूको संवेदनालाई सामाजिक सेवा मार्फत शक्तिमा रूपान्तरण गर्नु यस संघको महत्वपूर्ण विशेषता रहेको उहाँले बताउनुभयो । संघले आगामी दिनमा आफ्नो संस्थागत सुशासन, पारदर्शीता र सेवाको प्रभावकारीतालाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सामाजिक सेवा र विभिन्न किसिमका मानवीय कार्यक्रमहरूको माध्यमबाट निस्वार्थ रूपमा रचनात्मक, कल्याणकारी तथा विभिन्न सामाजिक कार्यमा समर्पित रहँदै नेपाल प्रहरी श्रीमती संघले गर्दै आएको सामाजिक सेवाको उच्च प्रशंसा गर्नुभयो । आगामी दिनमा संघले आफ्नो सेवाको क्षेत्रलाई अझ विस्तार गर्दै प्रहरी परिवारको हितका साथै समाजमा विद्यमान कुसंस्कार, विकृती र विसंगतीको अन्त्य र सामाजिक सुधार तथा महिला सशक्तिकरणका क्षेत्रमा संघले पहलकदमी लिनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण नेपाल प्रहरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । संघले कर्तव्य पालनाको सिलसिलामा जीवन अर्पण गर्ने अमर प्रहरीका आश्रित परिवार तथा घाइते भई उपचाररत प्रहरी कर्मचारीहरूलाई गरेको सहयोगले कठिन समयमा आत्मीयता र एक्यबद्धताको अनुभूती गराएको उहाँले बताउनुभयो । प्रहरी परिवारका सन्ततीको लागि छात्रवृत्ति, स्वास्थ्य सम्बन्धी कार्यक्रम, सामाजिक सचेतना, लागूऔषध दुर्व्यसनीमा फसेका व्यक्तिहरूको उपचार र पुनर्स्थापना, महिला नेतृत्व बिकास र राहत वितरण जस्ता गतिविधि मार्फत संघले सेवाको दायरालाई अझ फराकिलो बनाउँदै लगेको बताउनुभयो । आगामी दिनमा अझ निस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर समर्पित हुँदै समाज र प्रहरी परिवार बीचको मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने महानुभावहरूलाई कदरपत्र तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवम् उल्लेखनीय कार्य गर्ने व्यक्तिहरू, प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
समारोहमा संघकी अध्यक्ष कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापनाकाल देखि हालसम्म सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई आफ्नो मुल आधार बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक हितका लागि निरन्तर योगदान पुर्याउँदै आइरहेको बताउनुभयो । संघले आगामी दिनमा सेवाको दायरालाई फराकिलो बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक रूपान्तरण तथा महिला सशक्तिकरणको अभियानमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।
नेपाल प्रहरी श्रीमती संघकी सचिव वरूणा थपलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघले स्थापना कालदेखि हाल सम्म गर्दै आएका सामाजिक मानविय तथा लोककल्याणकारी गतिविधिहरूका साथै संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
समारोहमा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।