प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हेभी सवारी चालक तालिम सुरू

२०८३-०५-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १७ औं समूहको हेभी सवारी चालक तालिम सुरू भएको छ ।

सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा  प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान २२ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार
३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८३-०५-१६

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३२औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रशिक्षार्थीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक मिन प्रसाद खत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान १९ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०५-१५

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ जना गरी कुल २९ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८३ भदौ ९ गतेको निर्णयले भदौ १५ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो । साथै उहाँले खुलातर्फका १३ जना  प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिनुका साथै नवप्रवेशी प्रहरी निरीक्षकहरूलाई प्रहरी संगठनमा स्वागत समेत गर्नुभयो । नवनियुक्त प्रहरी निरीक्षकहरूले प्रदर्शन गरेको समर्पण भाव, अथक परिश्रम र मेहनतको प्रतिफल स्वरूप यो सफलता हासिल भएको चर्चा गर्दै आगामी दिनमा विभागीय नीति, निर्देशन र संगठनको मूल्य मान्यता एवम् आदर्शलाई आत्मसात् गरी नागरिकलाई केन्द्रबिन्दुमा राखेर उच्च व्यावसायिकता, इमानदारीता र जिम्मेवारी बोधका साथ संगठनको श्रीवृद्धिमा योगदान पुग्ने गरी जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो परिवेशमा देखा परेका सुरक्षा चुनौती, बहुआयामिक र तीव्र गतिमा परिवर्तनशील रहेको संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध, प्रविधिको दुरूपयोगबाट सिर्जित अपराध लगायतका चुनौतीलाई सम्बोधन गर्न व्यक्तिगत ज्ञान, सिप, व्यावसायिक दक्षता तथा उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै विपद् व्यवस्थापनमा देखा परेका समस्या एवम् चुनौतीहरूको उचित सम्बोधन गर्दै नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बोधका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०५-१०

बागलुङ, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा प्रहरी सदैव केन्द्रीत हुनुपर्ने बताउनुभयो । शून्य सहनशीलताको नीतिलाई आत्मसात् गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो । कुल ९ करोड ७१ लाख ९३ हजार ५ सय १८ रूपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।   उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८३-०५-०४

काठमाडौं, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मन्त्री बादीले पानसमा दीप प्रज्वलन गरी उद्‍घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघले वर्ष भरी गरेका सामाजिक मानव कल्याणकारी एवम् परोपकारी कार्यहरूका साथै अन्य विविध समसामायिक विषयहरूमा आधारित लेख रचनाहरू समेटेर प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८३” को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा मन्त्री बादीले सेवा नै धर्म हो भन्ने आदर्शलाई आत्मसात् गर्दै निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने समाजसेवी एवम् प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक अध्यक्ष पुष्पा बस्नेत, KIN INDIA का निर्देशक नविन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाडी पलेशा गोवर्धन, प्रहरी जवान सहाना बोहरा र राष्ट्रिय बक्सिङ खेलाडी प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मानपत्र प्रदान गर्नुभयो ।सो अवसरमा मन्त्री बादीले बद्लिँदो सामाजिक आवश्यकता र समयको माग अनुसार आफ्नो सेवाको दायरालाई  निरन्तर फराकिलो बनाउँदै नेपाल प्रहरी श्रीमती संघ सामाजिक उत्तरदायित्व, सेवाभाव र निरन्तर योगदानको सशक्त उदाहरणको रूपमा स्थापित भएको बताउनुभयो । नेपाल प्रहरीले कर्तव्य निर्वाह गर्ने सिलसिलामा उहाँहरूको परिवारले देखाएको धैर्यता, साहस, मौनता र त्याग उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी परिवारका सदस्यहरूको संवेदनालाई सामाजिक सेवा मार्फत शक्तिमा रूपान्तरण गर्नु यस संघको महत्वपूर्ण विशेषता रहेको उहाँले बताउनुभयो । संघले आगामी दिनमा आफ्नो संस्थागत सुशासन, पारदर्शीता र सेवाको प्रभावकारीतालाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सामाजिक सेवा र विभिन्न किसिमका मानवीय कार्यक्रमहरूको माध्यमबाट निस्वार्थ रूपमा रचनात्मक, कल्याणकारी तथा विभिन्न सामाजिक कार्यमा समर्पित रहँदै नेपाल प्रहरी श्रीमती संघले गर्दै आएको सामाजिक सेवाको उच्च प्रशंसा गर्नुभयो । आगामी दिनमा संघले आफ्नो सेवाको क्षेत्रलाई अझ विस्तार गर्दै प्रहरी परिवारको हितका साथै समाजमा विद्यमान कुसंस्कार, विकृती र विसंगतीको अन्त्य र सामाजिक सुधार तथा महिला सशक्तिकरणका क्षेत्रमा संघले पहलकदमी लिनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण नेपाल प्रहरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । संघले कर्तव्य पालनाको सिलसिलामा जीवन अर्पण गर्ने अमर प्रहरीका आश्रित परिवार तथा घाइते भई उपचाररत प्रहरी कर्मचारीहरूलाई गरेको सहयोगले कठिन समयमा आत्मीयता र एक्यबद्धताको अनुभूती गराएको उहाँले बताउनुभयो । प्रहरी परिवारका सन्ततीको लागि छात्रवृत्ति, स्वास्थ्य सम्बन्धी कार्यक्रम, सामाजिक सचेतना, लागूऔषध दुर्व्यसनीमा फसेका व्यक्तिहरूको उपचार र पुनर्स्थापना, महिला नेतृत्व बिकास र राहत वितरण जस्ता गतिविधि मार्फत संघले सेवाको दायरालाई अझ फराकिलो बनाउँदै लगेको बताउनुभयो । आगामी दिनमा अझ निस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर समर्पित हुँदै समाज र प्रहरी परिवार बीचको मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई कदरपत्र तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवम् उल्लेखनीय कार्य गर्ने व्यक्तिहरू, प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   समारोहमा संघकी अध्यक्ष कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापनाकाल देखि हालसम्म सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई आफ्नो मुल आधार बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक हितका लागि निरन्तर योगदान पुर्‍याउँदै आइरहेको बताउनुभयो । संघले आगामी दिनमा सेवाको दायरालाई फराकिलो बनाउँदै प्रहरी परिवारको हितका साथै  सामाजिक रूपान्तरण तथा महिला सशक्तिकरणको अभियानमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।  नेपाल प्रहरी श्रीमती संघकी सचिव वरूणा थपलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघले स्थापना कालदेखि हाल सम्म गर्दै आएका सामाजिक मानविय तथा लोककल्याणकारी गतिविधिहरूका साथै संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । समारोहमा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत संघका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०८३-०५-०२

काठमाडौं, नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट विगत १० वर्ष देखि नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्न भएको सम्झौताको  अवधि समाप्त भएकोले सो कार्यलाई निरन्तरता प्रदान गर्न नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दान बहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सम्झौताको लागि वाणिज्य बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो । सम्झौता अनुसार तलबी बचत खाता सञ्चालन, बिना धितो पेशाकर्मी सरल कर्जा लगानी र अवकाश प्राप्त कर्मचारीहरूको आश्रित परिवार समेतका लागि आवश्यक पेन्सन वितरण र कर्जा लगानी सम्बन्धी ५ वर्षको लागि थप सेवा सहित नवीकरण गरिएको छ । सम्झौता अनुसार पेशाकर्मी सरल कर्जा १५ लाख र पेन्सनर कर्जा ५ लाख प्रदान गरिने छ भने बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहिद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता राष्ट्रिय वाणिज्य बैंकको हुनुपर्ने) नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिकाको अधिनमा रही २० (बीस) वर्षसम्मको रू ५०,००,००० (पचास लाख) सम्म घर कर्जा तथा सवारी साधन खरिद गर्न ७ देखि १० वर्षको लागि गाडी कर्जा उपलब्ध हुनेछ । घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुने सम्झौतामा उल्लेख गरिएको छ । यसैगरी प्रहरी कर्मचारीहरूको दुर्घटनामा परि मृत्यु वा पूर्ण अपाङ्ग भएमा रू ५,००,००० (पाँच लाख) को बिमा हुनेछ । खातावाला प्रहरी कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बीमा दाबी नहुने गरी बीमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बीमा बापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी बीमा गराउनु पर्नेछ । उक्त बीमाको लागि प्रतिव्यक्ति रू १०० (एक सय) शुल्क लिई बीमा गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिक, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आसरा सुधार केन्द्रको २८औं वार्षिक साधारण सभा सम्पन्न
२०८३-०४-२९

काठमाडौं, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीको उपस्थितिमा आसरा सुधार केन्द्र रानीबारीको २८औं वार्षिक साधारण सभा सोही केन्द्रमा शुक्रबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रले स्थापनाकाल देखि नै लागूऔषधको कुलतमा फसेका लागूऔषध प्रयोगकर्तालाई आवासीय उपचार, परामर्श, ज्ञानसिपको विकास जस्ता सेवाहरू प्रदान गर्नुका साथसाथै विविध आपराधिक गतिविधिलाई समेत न्यूनीकरण गर्ने कार्यमा सहजीकरणको भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत उत्तरदायित्व यस केन्द्रको प्रमुख आधारभूत मूल्य र मान्यता भएको उल्लेख गर्दै केन्द्रलाई अझ प्रभावकारी, विश्वासिलो, पारदर्शी र नमुना केन्द्रका रूपमा स्थापित गर्न सबै सरोकारवाला निकायको निरन्तर साथ, सहयोग, सुझाव आवश्यक रहेको उहाँले बताउनुभयो । केन्द्रकी सचिव रोजी तुलाधर अधिकारीले आ.व. २०८२/८३ को वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष ममता दाहालले आ.व. २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक डा. गोपेश कुमार ठाकुर, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरू, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।