अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०५-१८
- A
- A-
- A+
धनकुटा, साँगुरीगढी गाँउपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ७३ ग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ ज्यामिरे बस्ने ४४ वर्षीय भिम बहादुर लिम्बु, २३ वर्षीय बीर बहादुर लिम्बु र सोही गाउँपालिका-४ फाक्सिब बस्ने २३ वर्षीय सागर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.२८ प ७२७७ नम्बर र प्र.१-०२-५८ प ६०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली फोकल्याण्ड टापु बस्ने ३१ वर्षीय मनिराज भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय १० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मनिराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
तनहुँ, बन्दीपुर गाउँपालिका-४ ठुलोढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब १७ किलो १ सय ५ ग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने २७ वर्षीय आकाश तामाङ, काभ्रेपलान्चोक बनेपा नगरपालिका-१ बस्ने ३२ वर्षीय रुपेश पटुवा, कास्की पोखरा महानगरपालिका-२७ वागमारा बस्ने २३ वर्षीय सुशिल पोखरेल र ३२ वर्षीय कृष्ण भुसाल रहेका छन् । इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको प्रहरीले ध.१ ज २८४ नम्बरको ट्याक्सीमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ पुरानो बसपार्कको उत्तर गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ बस्ने २७ वर्षीय अर्जुन थारू समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.२ प ४४८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।