वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०६-०३
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भएका २५ वर्षीय सुमित बस्नेत, भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बैतडी पुर्चौडी नगरपालिका-५ घर भएका ४८ वर्षीय जनक बहादुर कुँवर, काठमाडौं महानगरपालिका-३२ बस्ने कैलाली जानकी गाउँपालिका-६ घर भएकी २४ वर्षीया रञ्जिता कुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सिराहा सुखीपुर नगरपालिका-७ घर भएका ३२ वर्षीय सन्तोष साह, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने चितवन रत्ननगर नगरपालिका-२ घर भएका ३९ वर्षीय सिमा खान र काठमाडौं महानगरपालिका-१४ बस्ने धादिङ थाक्रे गाउँपालिका-१० घर भएका ४० वर्षीय राज कुमार बास्कोटा रहेका छन् ।
पक्राउ मध्ये सुमितले अमेरिका पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट २ करोड ८४ लाख रूपैयाँ, जनक बहादुरले जापान, पोर्चुगल, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट १० लाख ५० हजार रूपैयाँ, रञ्जिता कुमारीले नर्वे पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, सन्तोषले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, सिमाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र राज कुमारले इटाली पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई कीर्तिपुर नगरपालिका-४ बाट, रञ्जिता कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा जनक बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, सिमालाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र राज कुमारलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।