अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०६-०७
- A
- A-
- A+
काठमाडौं, काठमाडौं उपत्यका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बलान बिहुल गाउँपालिका-१ घर भएका २० वर्षीय निकेश यादव, सुरूङ्गा गाउँपालिका-६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, राजविराज नगरपालिका-८ घर भएका २७ वर्षीय चन्दन यादव, छिन्नमस्ता गाउँपालिका-३ घर भएका २५ वर्षीय विक्रम कुमार शर्मा, सिराहा लहान नगरपालिका-१५ घर भएका २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका-१ घर भएका ३७ वर्षीय पवन दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरमा होटल संचालन गरी बस्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ घर भएकी ५२ वर्षीया कुमारी राईलाई अवैध लागूऔषध गाँजा करिब १ किलो र नगद १९ हजार ९ सय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कुमारीको होटल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ चतरालाइन बस्ने २९ वर्षीय सुरेश क्षेत्री र सोही उपमहानगरपालिका-१९ वस्ने २९ वर्षीय रूदिन भुजेल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०५५ प ४६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ राजदेबी टोल बस्ने ३७ वर्षीय सिद्दान्त श्रेष्ठ समेत ६ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम र नगद १६ हजार ४ सय ५५ रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले सिद्दान्तको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट प्रहरीले को.३१ प १८५४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-९ बस्ने ७१ वर्षीय गोपाल मण्डललाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ६४ ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले गोपालको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरी उक्त गाँजा खरिद गर्न आएका बेलबारी नगरपालिका-२ बस्ने २६ वर्षीय रोजन पराजुली समेत ४ जनालाई पक्राउ गरेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५४ ग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छिपहरमाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय रेयाद आलम र जगरनाथपुर गाउँपालिका-६ बस्ने ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ०५ बिएल १६८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३ ग्राम ७ सय ९० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४० जे ०६५७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-४ मुनाल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने ३३ वर्षीय कान्छा लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भोजपुर, पौवादुङमा गाउँपालिका-२ तिवारी भञ्ज्याङ चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र डाइक्लोमाइन १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय पुष्प राज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३८ वर्षीय रोशन श्रेष्ठले संचालन गरेको मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले रोशनको मेडिकल तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल थप २ सय ८० ट्याब्लेट फेला पारी रोशनलाई समेत पक्राउ गरेको छ ।
रूपन्देही, रोहिणी गाउँपालिका-६ पकडीहवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६१ एम्पुल, फेनारगन ५५ एम्पुल र डाइजेपाम ५९ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय निहाल अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।