प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भारी वर्षाको जोखिमलाई ध्यानमा राखी तयारी अवस्थामा नेपाल प्रहरी

२०८३-०६-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, असोज ९ गतेदेखि १२ गते सम्म देशभरका अधिकांश स्थानमा मेघगर्जन सहित भारी वर्षा हुन सक्ने नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनालाई मध्यनजर गरी नेपाल प्रहरीको विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८३ बमोजिम जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले आवश्यक पूर्वतयारी गरेको    छ ।  

यस अवस्थालाई मध्येनजर गरी भारी वर्षाको अवधिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा कमाण्ड पोष्ट स्थापना गरी २४ सै घण्टा सबै सुरक्षा निकायका प्रतिनिधि उपस्थित भई उद्धार, परिचालन र समन्वयको व्यवस्था समेत गरिएको छ । तत्काल परिचालन हुन सक्ने गरी नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू समेत आवश्यक उपकरणहरू सहित तत्काल परिचालित हुनसक्ने गरी १० हजार ८५ जनाको जनशक्ति तयारी अवस्थामा राखिएको छ । 

यस्तै नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट १ प्लाटुन लुम्बिनी प्रदेश र १ प्लाटुन गण्डकी प्रदेशको लागि आवश्यक विपद् उद्धारका उपकरण र ड्रोन सहितको प्रहरी जनशक्ति परिचालन गरिएको छ भने उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र सात वटै प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूमा ५ सय जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, सात वटै प्रदेश प्रहरी गण, उपत्यका प्रहरी विशेष सुरक्षा गण, नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ बाट समेत गरी जम्मा २ हजार १ सय २५ जनाको प्रहरी जनशक्ति आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा परिचालन गर्न सक्नेगरी २४ सै घण्टा स्ट्याण्डबाई अवस्थामा रहेका छन् ।  

सो सन्दर्भमा सम्भावित बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण, जोखिममा रहेका नागरिकको समयमै उद्धार तथा सुरक्षित स्थानान्तरण एवं प्रभावकारी प्रतिकार्यका लागि जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, जनशक्ति तथा उद्धार टोली परिचालन, आवश्यक उद्धार सामग्रीको व्यवस्थापन, जोखिम क्षेत्रको निगरानी, माइकिङ तथा जनचेतनामूलक कार्यक्रम, आवागमन व्यवस्थापन, तटीय क्षेत्रमा गस्ती तथा अन्य सम्बन्धित निकायसँगको समन्वय लगायतका काम कारबाही र विपद् प्रतिकार्यमा गरिनुपर्ने अन्य आवश्यक कार्यहरू गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूलाई निर्देशन समेत दिइएको छ ।  

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘भारी वर्षाको जोखिमलाई ध्यानमा राखी अन्य सुरक्षा निकायहरू तथा स्थानीय तह र विभिन्न संघसंस्थाको समन्वयमा जनधनको क्षति न्यूनीकरणको लागि उद्धार सामग्रीहरू सहित वृहत्त रूपमा प्रहरी परिचालन गरिएको छ । विपद् उद्धार सम्बन्धी तालिम प्राप्त दक्ष प्रहरी कर्मचारीहरू जोखिम युक्त प्रदेशहरू पठाइएको छ भने प्रहरीका विशिष्टकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत तयारी अवस्थामा राखिएको छ ।’  

यस्तै सवारीसाधन तथा पैदलयात्रीहरूको सुरक्षालाई दृष्टिगत गरी जोखिमयुक्त सिद्धिचरण लोकमार्ग-सोलुखुम्बु, टोखा छहरे सडक खण्ड-नुवाकोट, कान्ति राजमार्ग, भैंसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौं जाने सडक-मकवानपुर, बिपी राजमार्ग सबै-सिन्धुली र काभ्रे, पृथ्वी लोकमार्ग-धादिङ, नारायणगढ-मुग्लिन सडक खण्ड-चितवन, राप्ती राजमार्ग-दाङका विभिन्न स्थान, मदन भण्डारी राजमार्ग-रोल्पा लगायतका राजमार्ग एवं सडक खण्डहरूमा अत्यावश्यक बाहेक रात्रीकालीन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ । 

यसैगरी भारी वर्षा हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी भारी वर्षाले बाढी, पहिरो र डुबान निम्त्याउन सक्ने हुँदा विशेष गरी जोखिमयुक्त सडक र नदी आसपासका बस्तीहरूमा थप सावधानी अपनाउन नेपाल प्रहरीले माईकिङ तथा जनचेतनामूलक कार्यक्रम गरी स्थानीयहरूलाई सतर्क समेत गराई सक्रिय रूपमा कार्य गरिरहेको छ । 


सम्बन्धित समाचार
२९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८३-०६-०७

काठमाडौं, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले २९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ४० औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील र सुरक्षित भई तालिममा प्राप्त ज्ञान र सीपको विवेकपूर्ण ढंगले प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी कुल २९ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । सो अवसरमा प्रशिक्षार्थीहरूबाट विपद् उद्दार अभ्यास सम्बन्धी विभिन्न कलाहरू समेत प्रस्तुत गरिएको थियो । 

प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८३-०६-०२

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।   प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

हेभी सवारी चालक तालिम सुरू
२०८३-०५-१७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १७ औं समूहको हेभी सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा  प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान २२ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८३-०५-१६

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हलुका) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित सवारी चालक उन्नत तालिम ३२औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।   तालिम समापनका अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै प्रशिक्षार्थीले तालिमबाट प्राप्त सीपलाई जस्तोसुकै परिस्थितिमा पनि दक्षता र कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक मिन प्रसाद खत्रीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान १९ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०५-१५

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८३ भदौ ६ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १६ र खुलातर्फ १३ जना गरी कुल २९ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८३ भदौ ९ गतेको निर्णयले भदौ १५ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो । साथै उहाँले खुलातर्फका १३ जना  प्रहरी निरीक्षकहरूलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक कार्कीले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिनुका साथै नवप्रवेशी प्रहरी निरीक्षकहरूलाई प्रहरी संगठनमा स्वागत समेत गर्नुभयो । नवनियुक्त प्रहरी निरीक्षकहरूले प्रदर्शन गरेको समर्पण भाव, अथक परिश्रम र मेहनतको प्रतिफल स्वरूप यो सफलता हासिल भएको चर्चा गर्दै आगामी दिनमा विभागीय नीति, निर्देशन र संगठनको मूल्य मान्यता एवम् आदर्शलाई आत्मसात् गरी नागरिकलाई केन्द्रबिन्दुमा राखेर उच्च व्यावसायिकता, इमानदारीता र जिम्मेवारी बोधका साथ संगठनको श्रीवृद्धिमा योगदान पुग्ने गरी जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो परिवेशमा देखा परेका सुरक्षा चुनौती, बहुआयामिक र तीव्र गतिमा परिवर्तनशील रहेको संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध, प्रविधिको दुरूपयोगबाट सिर्जित अपराध लगायतका चुनौतीलाई सम्बोधन गर्न व्यक्तिगत ज्ञान, सिप, व्यावसायिक दक्षता तथा उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै विपद् व्यवस्थापनमा देखा परेका समस्या एवम् चुनौतीहरूको उचित सम्बोधन गर्दै नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बोधका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०५-१०

बागलुङ, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा प्रहरी सदैव केन्द्रीत हुनुपर्ने बताउनुभयो । शून्य सहनशीलताको नीतिलाई आत्मसात् गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो । कुल ९ करोड ७१ लाख ९३ हजार ५ सय १८ रूपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।   उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।