प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८३-०६-१०

  • A
  • A-
  • A+
Share

तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ चिसापानीस्थित कवरेज ग्यारेजमा काम गर्ने भारत मोतिहारी गाउँ घर भएका ५० वर्षीय लाल वचन शाहको हत्या गरेको अभियोगमा सोही ग्यारेजमा काम गर्ने भारत वेतिया गवाडी घर भएका ३२ वर्षीय जावेद आलमलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

जावेदले मादक पदार्थ सेवन गरी लाल वचनलाई फलामको डण्डि प्रहार गरी घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई आँबुखैरेनी गाउँपालिका-३ भित्री बजारबाट भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । गम्भीर घाइते भएका लाल वचनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने NEEM EDUCATION CONSULTANCY PVT. LTD. का संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय दिप बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  दिप बहादुरले जापान पठाइदिन्छु भन्दै १५ जना पीडितहरूबाट १ करोड १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०६-१४

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-३ बस्ने सर्लाही हरिवन नगरपालिका-११ घर भएका ४७ वर्षीय रामजी ठाकुर र काठमाडौं महानगरपालिका-९ बस्ने चितवन भरतपुर महानगरपालिका-११ घर भएका ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रामजीलाई काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट र जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका सन्तोषलाई ललितपुर महानगरपालिका-३ धोवीघाटबाट पक्राउ गरेको हो । पक्राउ मध्ये रामजीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ भने सन्तोषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-८ घर भएका ४५ वर्षीय खर्वा तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ घर भएका ३१ वर्षीय हरि तिमिल्सिना भन्ने ईश्वर खतिवडा रहेका छन् । पक्राउ मध्ये खर्वाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र ईश्वरले स्लोभेनिया र माल्दिभ्स पठाइदिन्छु भन्दै २५ जना पीडितहरूबाट ८५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खर्वालाई काठमाडौं सिनामंगलबाट शनिबार र ईश्वरलाई काठमाडौं महानगरपालिका-२६ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ घर भएका ६० वर्षीय राजकुमार श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ भीमसेनगोलाबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।

सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित पक्राउ
२०८३-०६-१२

पर्सा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ सय २२ ग्राम ४ सय मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित भारतीय नागरिक ४६ वर्षीय ASLAM SHOKAT  लाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले ईन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ । 

खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०६-१२

पर्सा, खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा धोबिनी गाउँपालिका-५ धोबिनी बस्ने १८ वर्षीय ३ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ६२ वर्षीया लखरजिया देवीको गत असोज ५ गते हत्या भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो  ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले लखरजियाको घरमा चोरी गर्ने योजना बनाई घरभित्र प्रवेश गरी दराजभित्र राखिएको पैसा र गरगहनाहरू चोरी गरिरहेको अवस्थामा लखरजियाले देखेपछि उनीहरूले लखरजियाको हत्या गरी घरमा रहेको गरगहना र नगद समेत चोरी गरी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसुर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।