अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०६-२१
- A
- A-
- A+
काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय १६ ग्राम ५ सय मिलिग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-१ घर भएका ३३ वर्षीय सुरेश उप्रेती, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भएका २६ वर्षीय अमित बस्नेत, सिराहा गोलबजार नगरपालिका-१० घर भएका २५ वर्षीय अजय कुमार महत्तो र ३२ वर्षीय सत्रुधन मुखिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सुरेश र अमितलाई अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय मिलिग्राम सहित आइतबार तथा अजय र सत्रुधनलाई अवैध लागूऔषध खैरो हेरोइन २१ ग्राम सहित सोमबार पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तराखण्ड काशीपुर घर भएका २८ वर्षीय MOHAMMAD SARIK र उत्तर प्रदेश लखनउ घर भएका २९ वर्षीय ALAM SHAHBAZ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मलेशियन बाटिक एयरद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी नगरपालिका-९ बस्ने २५ वर्षीय नविन राई र सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय मणिराज गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नविनलाई १ ग्राम १ सय ९० मिलिग्राम र मणिराजलाई ३ ग्राम ३ सय ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी पाथीभरा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने मोरङ बेलबारी नगरपालिका-८ घर भएका २६ वर्षीय आभिषेक चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ताप्लेजुङ, फुङलिङ नगरपालिका-५ हुलाक लाईन बस्ने ४१ वर्षीय रोहित श्रेष्ठलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले रोहितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ काठेपुल बस्ने २७ वर्षीय अर्जुन श्रेष्ठ, सोही उपमहानगरपालिका-७ शान्ती पथ बस्ने ३६ वर्षीय दिपक मगर र सोही उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय बाबुराम बयलकोटी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-४ बिज्ञानटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय सबिन राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले गुरूङचौरीबाट बिज्ञानटोलतर्फ जाँदै गरेको को.३४ प ७९७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।