अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०६
- A
- A-
- A+
कैलाली, भजनी नगरपालिका-३ पडरीया बस्ने २८ वर्षीय हरि प्रसाद डगौरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ मनेहरा पुरानो शिविर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१० केरावारी बस्ने २३ वर्षीय सन्दिप चौधरीलाई नियन्त्रित लागूऔषध स्पास्मो २ सय ८८ ट्याब्लेट, नाईट्रोसन १ सय ७० ट्याब्लेट, गाँजा २ सय ४० ग्राम र नगद २४ हजार १ सय ५० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैंचा नगरपालिका-१० त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० ट्याब्लेट र स्पास्पेन ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय समिर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-५ गेटा बस्ने १९ वर्षीय कुशल बिष्टलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली मंगल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ६२ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय उत्तम राई समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय गणेश साह कलवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका-३ सहिद कलेज अगाडि बस्ने २२ वर्षीय अभिजित नेपाललाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट शान्तिचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।