प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट उद्‍घाटन

२०८०-०५-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले “पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण” राखिएको वेवसाइट udb.nepalpolice.gov.np को आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । 

उद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले निर्माण भएको वेवसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताउनुभयो । वेवसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्दै धेरै भन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्‍याई बढी भन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा वेवपेज निर्माण गर्ने कम्पनी योङ्‍गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा.श्रीधर मरासैनीले वेवसाइटको प्रयोगको प्रभावकारिता र विशेषताहरूको बारेमा जानकारी दिनुभएको थियो । 

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी वेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेवपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको २०७८ वैशाख २ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटि सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेवसाइट आजैबाट प्रयोगमा आएको उक्त अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र योङ्‍गमाइन्ड्स क्रियसन प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  


सम्बन्धित समाचार
प्रहरी जवान आधारभूत तालिमका २ हजार ४ सय ११ जना प्रहरी जवान दीक्षित
२०८०-०६-०७

काठमाडौं, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी २ हजार ४ सय ११ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका छन् । ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् ।नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालको दीक्षान्त समारोहमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त गणबाट १ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट १ सय ३ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।  नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त महाविद्यालयबाट १ सय ८९ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको दीक्षान्त समारोहमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८३ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ७७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)को दीक्षान्त समारोहमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट १ सय ९६ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ-आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ कार्यक्रम सम्पन्न
२०८०-०६-०६

काठमाडौं,  “सेवा नै धर्म हो”  भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाई तथा संरक्षण कार्यक्रमको सिलसिलामा शनिबार श्री स्वयम्भू महाचैत्य विहार परिसर, स्वयम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी पराजुली कुँवरको नेतृत्वमा उक्त संघका पदाधिकारीहरू, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरू, प्रहरी वृत्त स्वयम्भू, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्‍मीहरूको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । यसअघि विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाई तथा फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।

हेभी सवारी चालक तालिम सुरू
२०८०-०६-०४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १४ औं समूहको हेभी सवारी चालक तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई.अनुप श्रेष्ठले बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्दै हेभी सवारी साधन चलाउन र सामान्य मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८०-०५-२९

काठमाडौं, नेपाली महिलाहरूको महान चाड हरितालिका तीज २०८० को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला प्रहरी कर्मचारीहरु एवं नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्नुभयो । शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयभित्र कार्यरत महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । 

३० जना प्रहरी कर्मचारीलाई विपद व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८०-०५-२६

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ३१औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक बिकले तालिमले प्रशिक्षार्थीहरूको व्यक्तिगत जीवनशैलीमा सकारात्मक भूमिका खेल्ने तथा कार्यक्षेत्रमा थप उर्जा प्रदान गर्ने चर्चा गर्दै तालिममा हासिल गरेका ज्ञान एवम् सीपलाई प्रकोप तथा विपद्को समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।कार्यक्रममा विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८०-०५-२४

काठमाडौं,  नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  तालिम समापनको अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । प्रहरी उपरीक्षक कर्णले नेपाल प्रहरीमा रहेका परिमार्जित भएर आएका नयाँ प्रविधिका सवारी साधनहरुको बारेमा प्रशिक्षार्थीहरूलाई तालिममा ज्ञान, सीप प्रदान गरिएको बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अन्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत भदौ ४ गतेबाट संचालित १६ कार्यदिन अवधि रहेको उक्त तालिममा जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।