प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चाडपर्व विशेष सुरक्षा योजना बनाई सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

२०८०-०७-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउनुपर्ने बताउनुभएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु तथा चाडपर्व सुरक्षा लगायतका विषयमा निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । 

प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयले चाडपर्व लक्षित बनाइएका सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री बनाउँदै सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो । कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृतिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करी लगायतका गैरकानुनी क्रियाकलापमा हुने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारवाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । बजार अनुगमन लगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ती व्यवस्थापन मिलाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको बेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरूस्त बनाउँदै चलायमान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारी सम्बन्धि निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त ईलाकाहरूमा अझै बढि ध्यान दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । संगठनको आन्तरिक सुदृढिकरण तथा शुद्धिकरणको नीतिलाई मूर्तरूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै लैजानुपर्ने, कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन दिनुहुँदै कानुनको दायरा भन्दा बाहिर जाने प्रहरी कर्मचारीहरूलाई कारवाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न हरेक प्रहरी कार्यालयका प्रमुखहरूले तत्काल आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 



सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा विशेष योग शिविर कार्यक्रम सम्पन्न
२०८३-०६-१९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पतंजली योगपीठ नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय विशेष योग शिविर, २०८३ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योग शिविरको माध्यमबाट प्रहरी कर्मचारीहरूलाई योगको महत्व र योगाभ्यासका बारेमा सचेतना अभिवृद्धि गराई प्रत्यक्ष रूपमा लाभान्वित गराउनु भएकोमा पतंजली योगपीठ प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । स्वस्थ प्रहरी नै सक्षम प्रहरी र सक्षम प्रहरी नै नागरिकको भरोसा योग्य प्रहरी बन्न सक्ने चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले योगलाई दैनिक अभ्यास र संस्कारको रूपमा स्थापित गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रहरीको जीवन आमनागरिकको सुरक्षासँग जोडिएको र यसका लागि आवश्यक पर्ने शान्त मन, धैर्यता, संवेदनशीलता, अनुशासन र शारीरिक तन्दुरूस्तीको विकासमा योगले सहयोगी भूमिका खेल्ने समेत उहाँले बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई पतंजली आयुर्वेद केन्द्र नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । पतंजली योग समिति नेपालका संरक्षक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षाका बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पतंजली योगपीठ नेपालका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

हाइटेराद्वारा नेपाल प्रहरीलाई विभिन्न उपकरणहरू हस्तान्तरण
२०८३-०६-१९

काठमाडौं, हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई Hytera POC P50 pro device २० थान, Body Worn Camera २५ थान, Hytera E-Pack Unit २ थान लगायतका विभिन्न सञ्चार उपकरणहरू हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बिच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक Ning Ma ले उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो ।    कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपद्‍को कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक Ning Ma ले हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो । आगामी दिनमा नेपाल प्रहरीसँग आपसी समन्वय गरिरहने विचार उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक सम्पन्न
२०८३-०६-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक २०८३ सम्पन्न भएको छ । नेपाल प्रहरीको रणनीतिक योजना, २०८३-२०८५ मा परिकल्पना गरिएको ‘Smart Policing, Safer Community’ भन्ने मूल भावनालाई व्यवहारमा उतार्न काठमाडौं उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूबाट भएका प्रहरी प्रशासन, प्रहरी कार्य सञ्चालन, अपराध अनुसन्धान र मानवस्रोत व्यवस्थापनमा आधारित रही प्रभावकारी प्रहरी सेवा प्रवाह, उपलब्धि, विद्यमान चुनौती तथा भावी रणनीतिका सम्बन्धमा गहन विमर्श, अन्तरक्रिया तथा अनुभव आदान प्रदान गर्न यस समीक्षा बैठकको आयोजना गरिएको हो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले मुलुक प्राकृतिक विपद्जन्य परिस्थितिबाट गुज्रिरहेको यस संवेदनशील समयमा बाढीपहिरो तथा विपद् उद्दार कार्यमा कर्तव्य निर्वाह गर्ने क्रममा जीवन गुमाउनु भएका नेपाल प्रहरीका वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूले गर्नुभएको बलिदान, त्याग र साहस सबै प्रहरी कर्मचारीहरूका लागि कार्यक्षेत्रमा प्रेरणाको स्रोत बनिरहने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले बैठकमा उठेका विषयहरूलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, देखिएका कमी-कमजोरीहरूलाई सुधार गरी आगामी दिशा तय गर्ने तथा केन्द्र र प्रदेशबीच एकरूपता कायम गरी वर्तमान सुरक्षा परिवेश र आगामी प्राथमिकता बीच स्पष्ट सम्बन्ध स्थापना गर्ने मञ्चको रूपमा समीक्षा बैठकलाई स्थापित गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले अपराधको प्रवृत्ति बुझेर जोखिममा आधारित प्रहरी परिचालन, प्रमाणमुखी, वैज्ञानिक र समयसापेक्ष अनुसन्धान, प्रविधिको रणनीतिक उपयोग, योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्व तथा नागरिकसँगको विश्वास र साझेदारीलाई प्राथमिकतामा राखी भावी कार्यदिशा तय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आफ्नो जिम्मेवारी क्षेत्रको सामाजिक, धार्मिक, राजनीतिक र आर्थिक परिवेशहरूको मुल्याङ्कन गरी भरपर्दो सूचना संकलनको माध्यमबाट एकीकृत सुरक्षा योजना बनाई सक्रियताका साथ कार्यसम्पादन गर्नुका साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हकमा अझ संवेदनशील भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।    कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानव स्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौतीहरू तथा समाधानका उपायहरू, नेपाल प्रहरी रणनीति योजना कार्यान्वयनको अवस्था र भावी योजना लगायतका विषयहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले आ.व. २०८२/०८३ को कार्यसम्पादन करारको वार्षिक प्रगतिको समीक्षाका साथै कार्यसम्पादन सम्झौता कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूका साथै सुधारका क्षेत्रहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  सो अवसरमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, वैज्ञानिक र प्रभावकारी अनुसन्धान, वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौतीहरू तथा सामना गर्न अपनाइएका उपायहरू र विपद् व्यवस्थापनको विषयहरूमा छलफल भएको थियो । साथै विगतको अनुभव र असल अभ्यासको आदान प्रदान मार्फत प्रहरी सेवामा सुधार गर्दै समग्र संगठनात्मक सुधारका बारेमा समेत वृहत छलफल तथा अन्तरक्रिया भएको थियो ।    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न
२०८३-०६-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा बिहीबार आयोजित एक समारोहबीच विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रका सल्लाहकारहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजलाई प्रशंसापत्र तथा केन्द्रको आन्तरिक सुरक्षा एवम् व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूका सन्देशमूलक फोटोहरू तथा लागूऔषध एवम् समसामयिक विषयवस्तुहरूसँग सम्बन्धित विभिन्न लेख रचनाहरू संकलन गरी केन्द्रद्वारा प्रकाशित साहित्यिक रचना  ‘आसरा दर्पण २०८३ ’ को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आसरा सुधार केन्द्रको गरिमा र प्रतिष्ठा कायम राख्दै आजको दिनसम्म ल्याई पुर्‍याउन अथक परिश्रम गर्नुहुने सुधार केन्द्र परिवार, सल्लाहकार, सहयोगी लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई मानवीय तथा सुधारात्मक दृष्टिकोण आत्मसात् गर्दै उपचार मार्फत उनीहरूमा सकारात्मक परिवर्तन ल्याई समाजमा पुनर्स्थापित गर्न केन्द्रले पुर्‍याउँदै आएको योगदानको उहाँले उच्च प्रशंसा गर्नुभयो । लागूऔषधको उत्पादन, विक्री वितरण, ओसारपसार र सेवन विश्वव्यापी रूपमै एक जटिल समस्याको रूपमा देखिएको र लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समुदायका साथै राष्ट्रको समग्र सामाजिक, आर्थिक र उत्पादनशील क्षेत्रमा समेत गम्भीर असर पुगिरहेको बताउँदै नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम र न्यूनीकरणका क्षेत्रमा निर्मम रूपमा कार्यसम्पादन गर्दै आइरहेको उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले लागूऔषधको प्रयोगमा फसेर सुधार केन्द्र पुग्नुभन्दा लागूऔषध दुर्व्यसनमा फस्न नदिनु नै हाम्रो चासो र चिन्ताको विषय रहेको बताउँदै यसका लागि परिवार, समाज, विद्यालय तथा सकारात्मक परिवर्तन सोच्ने सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा समेत लागूऔषध दुर्व्यसनको बद्लिँदो स्वरूप र यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न यस केन्द्रले उपलब्ध साधनस्रोतको उच्चतम् प्रयोग गर्दै सेवा क्षेत्रको विस्तार, सीपमूलक तथा आयमूलक कार्यक्रम, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू, नवीन तथा वैज्ञानिक उपचार पद्दतिको अवलम्बन गरी आफ्नो सेवालाई व्यवस्थित परिणाममुखी र पुनर्स्थापनामैत्री बनाउँदै दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूलाई समाजको मुलधारमा पुनर्स्थापित गर्ने तर्फ निरन्तर योगदान पुर्‍याउँदै जाओस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभयो ।     समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले केन्द्रका परामर्शदाता तथा कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कार्कीले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरूलाई सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलन गर्ने लक्ष्य राखी केन्द्र स्थापना भएको उल्लेख गर्नुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गरी केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउँदै लैजाने उहाँले बताउनुभयो ।   केन्द्रकी उपाध्यक्ष श्रीमती सुस्मिता केसी अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरूले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन समेत प्रस्तुत गरिएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।

काठमाडौं महानगर प्रहरी बलले निर्वाह गरेको भूमिका सराहनीय - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०५-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण, सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो ।  काठमाडौं महानगर प्रहरी बलको ३४ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभा गृहमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रमा प्रहरी महानिरीक्षक कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाडौं महानगरपालिकाको सुशासन, शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्‍याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले काठमाडौं महानगर प्रहरी बलले तीन दशकभन्दा लामो समयदेखि महानगरपालिकाको नीति, निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपद्को समयमा खोज, उद्दार, राहत वितरणमा लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भएता पनि नागरिक सेवा, सार्वजनिक सुरक्षा, शान्ति, सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित शहर निर्माण गर्नु दुबैको साझा उद्देश्य रहेको बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले स्वच्छ, सुन्दर, सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सडक सुरक्षा, ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन, फुटपाथ व्यवस्थापन, साधन स्रोत व्यवस्थापन, विपद् तथा आपत्कालिन प्रतिकार्य, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण, शहरी क्षेत्रको समग्र शान्ति, सुरक्षा, अपराध नियन्त्रण, Smart City Security, समुदाय-प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट प्रहरी वृत्त गौशालाको पुन:निर्मित कार्यालय भवन उद्‌घाटन
२०८३-०५-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुन:निर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले पूर्ण रूपमा क्षति भएका भवनहरू पुनः निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै यो सद्भाव एवम् साथले प्रहरी र समुदाय बीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढी नागरिकमैत्री, उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संरचनाको पुनर्निर्माण सँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो । भवन पुन:निर्माण सँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार, अनुशासित, पारदर्शी, संवेदनशील, उत्तरदायी हुँदै नागरिक प्रति समर्पित भएर कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुन:निर्माण कार्य समितिका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुन:निर्माण समितिका कोषाध्यक्ष वि.एन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा ई. डा. शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो ।