प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी र आम नागरिकलाई सहज सुविधा प्रदान गर्दै ‘नेपाल प्रहरी मोबाइल एप’

२०८०-१२-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, विश्‍वमा प्रविधिको विकासँगसगै नेपाल प्रहरीले सम्पादन गर्ने कार्यहरूलाई प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्य रहेको  छ । स्मार्ट फोन र अन्य मोवाइल उपकरणहरूमा सर्वसाधरण जनताको सहज पहुँचसँगै मोवाइल एपको प्रयोग पनि बढ्दै गएको छ । प्रविधीमैत्री परिकल्पना अनुरुप रूपान्तरण हुने क्रममा विभिन्न किसिमका सूचना र सन्देशहरू संकलन तथा सम्प्रेषण गर्न नेपाल प्रहरीले विसं २०७६ असोज २४ गतेबाट ‘नेपाल प्रहरी मोबाइल एप’को सुरुवात गरेको हो । 

जुनसुकै व्याक्तिले गुगल प्लेस्टोर र एप्पल स्टोरबाट उक्त मोबाइल एप डाउनलोड गरी सुविधा प्रयोग गर्न सक्छन । प्रहरी कर्मचारीहरूले यूजरनेम र पासवर्ड राखि लगइन गर्न सक्छन् भने सर्वसाधारणले नाम, थर, मोवाइल नम्बर, इमेल र ठेगाना सहि रूपले भरेर रजिष्ट्रेसन गरी लगइन गर्न सक्छन् । एपको प्रयोगले आम नागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थान सहितको सूचना प्रदान गर्न सक्छन् । प्रहरीलाई पनि सो स्थानमा छिटो छरितो रुपमा सहजै पुगी प्रहरी सेवामा प्रभावकारिता ल्याउन मद्दत पुगेको छ । साथै नेपाल प्रहरी मोबाइल एपद्वारा अडियो, फोटो र भिडियो जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा सहजताका साथै प्रहरी कार्यलाई अझै चुस्त राख्न समेत मद्दत पुगेको छ । 

नेपाल प्रहरीलाई घटनाको छिटोछरितो रिपोर्टिङ गर्न मोवाइल एपले सहयोग पुर्‍याउँछ । नेपाल प्रहरीको Area Of Responsibility (AOR) निकै बृहत् रहेको र जनशक्ति न्यून रहेको अवस्थामा मोबाइल एपको प्रयोग गरी आम नागरिकहरूले प्रहरीसँग सम्बन्धीत सूचना GPS मा आधारित रहेर फोटो, भिडियो, अडियो र टेक्सट सूचनासहित खबर गर्न सकिने प्रावधान रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महाननिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य अनुरुप पाइलट प्रोजेक्टको रुपमा एप सञ्चालन भएको हो । हाल ७७ वटै जिल्लाहरूमा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालबाट तुरून्त प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ । समुदायमा घट्ने अपराधिक कृयाकलाप, विभिन्न घटनाहरू तथा सूचनाहरूलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधिलाई तत्काल नियन्त्रणमा लिनुका साथै समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एपले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।” 

नेपाल प्रहरीको आन्तरिक प्रयोजन अन्तर्गत यस प्रणाली मार्फत ईन्ट्रानेट पोर्टल (Nepol.cd), PMIS profile, Geo-Attendance, Police Calendar, GPS Tracker, Patrolling जस्ता सुविधाहरू छन् । आम नागरिकका लागि विभिन्न सुविधाहरू रहेका छन् । जसमध्ये Report incident बाट आम नागरिकले आकस्मिक रूपमा प्रहरीबाट सहयोग चाहिएमा रिपोर्ट गर्न सक्छन् । Emergency Number बाट आपतकालिन नम्बर प्राप्त गर्न सकिन्छ । FM Station बाट ट्राफिक एफएम सुन्न सकिन्छ । News बाट नेपाल प्रहरीको विभागीय तथा अन्य समाचार पढ्न सकिन्छ । Notice बाट नेपाल प्रहरी सम्बन्धी सम्पूर्ण सूचनाहरूको जानकारी लिन सकिन्छ । Police Station Nearby बाट नजिकका प्रहरी कार्यालयहरू र तिनको फोन नम्बर थाहा पाउन सकिन्छ । E-compliant बाट प्रहरीसँग सम्बन्धित गुनासो र सेवाबारे उजुरी दिन सकिन्छ । Public Eye बाट तुरून्तै रिपोर्ट गर्न सकिन्छ । Police Clearance Report बाट प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी जानकारी लिन सकिन्छ । Panic Mode अन्तर्गत आकस्मिक रुपमा प्रहरीबाट सहयोग चाहिएको खण्डमा उक्त Feature Enable गरे लगत्तै नेपाल प्रहरीले Dashboard मा सो व्यक्तिको सम्पर्क नम्बर तथा स्थान सहितको सूचना प्राप्त भई सम्बन्धित स्थानमा प्रहरी परिचालन गर्न सघाउ पुर्‍याउँदछ ।  

हालसम्म एपका १ लाख ८ हजार ९८ जना प्रयोगकर्ता रहेका छन् । ती मध्ये ५५ हजार २२८ जना सर्वसाधारण र ५२ हजार ९७० जना प्रहरी कर्मचारी रहेका छन् । यस एपमार्फत ९ हजार ३८४ वटा घटनाको खबर प्राप्त भएको छ ।  

यस एपको निर्माण तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दछ । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य भन्नुहुन्छ, “यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्छन् । हाल केही सुविधाहरू थप गरी एप परिमार्जन गर्ने काम भइरहेको छ । छिट्टै यो एपको नयाँ भर्सन सार्वजनिक गर्ने क्रममा रहेकोले नयाँ एन्ड्रोइड डिभाइसहरूमा यो एप अपडेटको अवधि भर गुगल प्लेस्टोरको लिस्टिङमा नदेखिने अवस्था रहेको समेत जानकारी गराउँदछु ।”

मोबाइल एपमा नेपाल प्रहरीका कर्मचारी तथा आम नागरिक दुवैलाई सहज हुने गरी विभिन्न सुविधा रहेका छन् । एप मार्फत आफू पीडित भएको अवस्थामा वा कुनै घटनाको प्रत्यक्षदर्शी भएको बेला प्रहरीलाई स्थान सहितको सूचना तुरून्तै आदानप्रदान गर्ने प्रणाली रहेको  छ । मोबाइल एप सञ्चालनलाई निरन्तरता दिन हरेक प्रहरी कर्मचारी र आम नागरिकहरू एपमा आवद्ध भई सेवाको पहुँच वृद्धि गर्न आवश्यक छ । प्रहरी नायव महाननिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी मोवाइल एपले आम नागरिकलाई सूचनामैत्री बनाइ सुरक्षित समाजको निर्माण गर्न अहम् भूमिका निर्वाह गरेको छ । सवै प्रहरी कर्मचारी तथा आम नागरिकलाई मोवाइल एपको सेवा लिन अनुरोध छ ।” 



सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।